बाजुरा । जिल्ला स्पतालमा उपचार गर्न आउने विरामी रगत अभावले छट्पटिदाँ रक्तदाता खोज्नै पर्दछ । यो बाजुराको स्वास्थ्य उपचारको बाध्यता हो ।
रगत अभावलाई थोरै भए पनि टार्न विरामीहरुलाई नेपाली सेना, नेपाल प्रहरी, पत्रकार स्वास्थ्यकर्मीहरुले रगत दिँदै आएका छन् । यो पनि अब त दैनिकी बनिसक्यो ।
रगत अभाव भएका विरामीहरुका लागि हरेक समय यसरी रक्तदान गर्ने दाता खोजिरहनुपर्ने बाध्यता नै रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डा. मोहन नाथले बताए ।
उनका अनुसार रक्त संचार केन्द्र स्थापनाका लागि आएको बजेटले सामान र भवन निर्माण भएपनि संचालनमा आउन नसक्दा रगत हैन रगत दान गर्ने व्यक्ति खोज्दै हिड्नु परेको डाक्टर नाथ सुनाउँछन् ।
रक्त संचार केन्द्रका लागि निर्वाचन क्षेत्र कोषबाट १५ लाख रुपैँया विनियोजित भएको भएपनि अझै संचालनमा नआएकाले समस्या थपिदै गएको उनले बताए । उनले भने, ‘रक्त संचार केन्द्रका लागि भौतिक सामग्री आएका भए पनि रगत अभाव रहेको छ ।’
५ दिन देखि रगत बग्दै आएकी बडिमालिका नगरपालिका –७ की ३२ वर्षीया धौली ल्वारलाइ रगत अभावले छट्पटारहेकी छन् ।
आफैले स्वास्थ्यकर्मीको सल्लाह विना असुरक्षित गर्भपतन गराएपछि अत्यधिक रक्तश्राव भएकाले उनलाई रगत दिनै पर्ने भएको जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सकहरु बताउँछन् । विरामी भएको ६ दिन पछि उपचार गर्न आएकी ल्वारको शरीरमा रगत नभएकाले उनी थलिएको श्रीमान् देव बहादुर ल्वारले बताए ।
ल्वारले भने, ‘घरमा ६ छोरा छोरी भएपछि पाल्नलाई समस्या हुने भएकाले मष्टा महादेव आयुर्वेदिकबाट औषधी किनेर खाएकी थिई । स्वास्थ्यकर्मीले रगतको कमि भएको सुनेपछि आत्तिदै रगत खोज्न बजार गएँ । केही सिप लागेन ।’ धौलीको शरीरमा ३ प्वाइन्ट मात्र रगत भएकाले उनको ज्यान जोेखिममा रहेको उपचारमा संलग्न चिकित्सक मोहन नाथले बताए ।
उनको ज्यान जोगाउनका लागि शनिबार मात्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष मदनराज जैशी र स्वास्थ्यकर्मी जनक रावलले ‘बी’ नेगेटिभ रगत दिएका छन् । ल्वारलाइ अझै ७ प्वाइन्ट रगत आवश्यक पर्ने भएको छ ।
ल्वारको ‘बी’ नेगेटिभ रगत भएकाले जिल्लामा नपाइने भएकाले उनको ज्यान खतरामा रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । असुरक्षित गर्भपतनका कारण जुन सुकै बेला यस्ता जोखिम मोल्नु पर्ने भएकाले स्वास्थ्य कर्र्मीको सल्लाह बेगर यस्तो गर्न नहुने स्वास्थ्य कार्यालयको भनाई छ । यद्यपि, स्वास्थ्य शिक्षाको कमी र असावधानीले आइपर्ने जोखिम न्यूनिकरणको पर्याप्त उपचार व्यवस्था नहुँदा वर्षेनी कयौं नागरिकले अकालमै मृत्युवरण गर्न पुगेका छन् ।
यता, मष्टा महादेव आयुर्वेकिका मोहन धामीले आफुले औषधि दिन नमान्दा पनि जबरजस्ती दिनुपर्ने भन्दै दबाब दिएको बताए । आफुले दिन नमानेको भएपनि जवरजस्ती गरेर लिएको उनको भनाइ छ । आयुर्वेदिकबाट १३ सयमा एउटा पीस औषधी दिएको धामीले स्वीकार गरेका छन् ।
केन्द्रमा समेत अहिले स्वास्थ्य उपचारको बहस तातेको छ । स्वास्थ्यमन्त्री गगन थापा पूर्व विशिष्टहरुले पाउने उपचार खर्च कटौती गर्ने योजनाका साथ अघि बढेका छन् ।
यद्यपि, बाजुराका नागरिकलाई को मन्त्री भयो भन्नु भन्दा पनि उपचार चाहिएको छ । रक्त संचार केन्द्रमा रगत चाहिएको छ । मन्त्री थापालाई एकपछि अर्को चुनौती थपिँदै गएका छन् ।