arrow

उपचार नपाएर अब कसैले पनि मर्नु पर्दैन : स्वास्थ्य मन्त्री थापा

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
Gagan-thapa.jpeg
भक्तपुर । स्वास्थ्यमन्त्री गगन थापाले आर्थिक अभावका कारण उपचार नपाएर अब कसैले पनि मर्नु नपर्ने बताएका छन् । 
 
शनिबार भक्तपुरको थिमिमा नेपाल स्वास्थ्यकर्मी सङ्घले आयोजना गरेको बिपी कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘बिपीको समाजवाद र नेपालको स्वास्थ्य सेवा विषयक’ विचार गोष्ठीमा बोल्दै मन्त्री थापाले यस्तो धारणा राखे ।  
 
शिक्षण अस्पतालमा उपचार गर्ने रकमको अभाव भएका मृर्गौला पीडितले झ्यालबाट हाम फालेर आत्महत्या गरेको सन्दर्भ कोट्याउँदै मन्त्री थापाले भने, ‘आर्थिक सङ्कटकै कारण कोही पनि नेपालीले उपचार नपाएर मर्नुपर्ने अवस्थाको अब अन्त्य हुनुपर्छ, म त्यसका लागि लाग्छु ।’
 
ठूला र विशिष्टका नाममा राज्यले उपचारका लागि दिँदै आएको अनुदान अब रोक्नुपर्ने औँल्याउँदै उनले अन्यथा आमनागरिकलाई पनि दिनुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । 
 
वीपीको विचारले पनि कोही ठूलो सानो हुँदैन, सबै बराबर हुन्छन्, सबैलाई समानता गर्नुपर्छ भन्ने नै हो भन्दै मन्त्री थापाले यसोभन्दा कोही रिसाउँछ भने पनि त्यसको परवाह आफू नगर्ने जिकिर गरे । 
 
नेपालमै गुणस्तरीय अस्पताल र राम्रा डाक्टर भएको चर्चा गर्दै मन्त्री थापाले भने, ‘नेपालकै अस्पतालले उच्चस्तरीय सेवा दिन सक्षम छन्, नेपालमै सबैले उपचार गराउनुपर्छ, यही उत्कृष्ट चिकित्सकहरु छन्, उनीहरुलाई विश्वास गर्नुपर्छ ।’ 
 
उपचारका लागि राज्यको ढुकुटीबाट अनुदान लिएर बिदेसिने परम्परालाई रोक्नै पर्ने बताउँदै थापाले भने, ‘मैले मेरो परिवारको उपचार गराउन विदेश जाने र राज्यको अनुदान लिने प्रयास गरिन्न, अब ठूलाले पनि नेपालमै उपचार गराउनुपर्छ ।’
 
आगामी दुई÷तीन महिनाभित्रै स्वास्थ्य बिमालाई कानुनको रुपमा पारित गर्न आफू लाग्ने बताउँदै मन्त्री थापाले खटाएका ठाउँमा नजाने चिकित्सक तथा कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने बताए । 
 
नेपालमा मातृ मृत्युदर र बाल मृत्युदर घटाउनमा स्वयम्सेविकाको ठूलो भूमिका रहेको चर्चा गर्दै थापाले उनीहरुको सेवा सुविधा बढाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।  
 
मन्त्री थापाले स्थानीय निकायको निर्वाचन कुनै पनि बहानामा नरोकिने बताउँदै निर्वाचनको तयारीमा लाग्न काँग्रेसका कार्यकर्तालाई निर्देशन दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ