arrow

सामाखुशी फुटसल टिमलाई फुटबल उपाधि

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
samakhushi-futsal.jpeg
काठमाडौं । सामाखुशी फुटसलले कामाद कप सिक्स ए साइड पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
 
काठमाडौं ७, चावहिलले आयोजित गरेको प्रतियोगिताको फाइनलमा सामाखुशीले केएएफसीलाई ५–१ गोल अन्तरले हरायो । विजयी टिमका लागि श्याम नेपाली र नवीन लामाले २–२ तथा दिनेश कार्कीले १ गोल गरे । केएएफसीका मोहन गुरुङले सान्त्वना गोल फर्काए ।
 
उपाधिसंगै सामाखुशीले १ लाख नगद पुरस्कार हात पार्‍यो भने केएएफसीले ५० हजार नगदमा चित्त बुझायो । विजेता र उपविजेताको नगद पुरस्कार कामाद कलेजले प्रायोजन गरेको हो ।
 
प्रतियोगितामा केएएफसीका मोहन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए भने प्रतियोगिताभर १४ गोल गरेका साइपाल एकेडेमीका उनम बुढाथोकी सर्वाधिक गोलकर्ता बने । त्यस्तै सामाखुशीका अनिल लामा उत्कृष्ट गोलरक्षक तथा सामाखुशीकै दिनेश कार्की उत्कृष्ट मिडफिल्डर चुनिए । उत्कृष्ट चारैले समान ५–५ हजार नगद पुरस्कार पाए ।
 
विजेतालाई कामाद कलेजका अध्यक्ष नेत्रबहादुर कार्की, चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ ९ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ५२ टिमले प्रतिस्पर्धा गरेका थिए ।



नयाँ