arrow

दार्चुलाबाट ओलीले भने : नेपालले आफ्नो एक इञ्च जमीन पनि मिच्न दिनेवाला छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
kp-sharma-oli-darchulaa.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले आफ्नो एक इञ्च भुभाग पनि कसैलाई मिच्न नदिने बताएका छन् । शुक्रबार नेकपा एमालेको चुनावी आभसभाको शुरुआत गर्न दार्चुला पुगेका एमाले अध्यक्ष ओलीले खलंगामा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो भनेका हुन् ।

चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भनेका छन्, 'राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैन्, एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैन्, मिचिएको भए फिर्ता ल्याउँछ ।'

ओलीले दार्चुलामा महाकाली नदीका कारण तटबन्धको समस्या रहेको बताउँदै एमालेको सरकार बनेपछि एमालेले त्यो समस्या समाधान गर्ने बताएका छन् । यस्तै उनले दार्चुला जस्तो भीर पाखामा यो सभा आयोजना गर्नुले एमालेले शुरु गरेको यो अभियानले नै देश बन्छ भन्ने सन्देश दिन खोजेको बताएका छन् ।

दार्चुलाबाट चुनावी आमसभा आयोजना गर्नुको उद्देश्यलाई संकेत गर्दै ओलीले भनेका छन्, 'दिन कस्तो हुन्छ बिहानले नै बताउँछ ।' यस्तै ओलीले एमालेको सरकारले नक्सामा समेटिएको भूभाग फिर्ता ल्याउने घोषणासमेत गरेका छन् । ओलीले भनेका छन्, 'लिम्पियाधुरा, कालापानी सहितको हाम्रो भूभाग फिर्ता ल्याउछौं ।'

दार्चुलामा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका पूर्व मन्त्री गणेशसिंह ठगुन्नालाई जिताउन आग्रह गर्दै नेपाली कांग्रेसका उम्मेदवार एवं उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका दिलेन्द्रप्रसाद बडूले दार्चुलाका लागि के गर्नु भयो भन्दै प्रश्न गरेका छन् ।

ओलीले भनेका छन्, 'दिलेन्द्र बडूजीले यो सभा देखेपछि काठमाडौंमै बसेपनि हुन्छ । मन्त्री भएर उहाँले गर्नु के भयो, के गर्नु भयो?'

उनले चुनावपछि दार्चुला-धार्चुला जोड्ने पक्की पुल बनाइनेसमेत बताएका छन् । ओलीले मसिंर ४ को चुनावपछि फेरि दार्चुला आउने प्रतिबद्धता व्यक्त गरेका छन् । दार्चुलाको आमसभामा सम्बोधन सकिएसँगै ओली आजै बैतडी र महेन्द्रनगरमा पनि आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ