arrow

पाँच कर्मचारीलाई इन्टेग्रिटी आइडल नेपाल सम्मान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
Top 5 Icon's.jpg

काठमाडौं । एकाउन्ट्याविलिटी ल्याब नेपालले प्रशासन क्षेत्रमा काम गर्ने पाँच जना कर्मचारीलाई ‘इन्टेग्रिटी आइडल नेपाल–२०२२’ घोषणा गरेको छ । सेवाग्राहीको कामप्रतिको मूल्याङ्कनका आधारमा पाँच जना कर्मचारीलाई आइडल घोषणा गरिएको ल्याब नेपालले जनाएको छ । 

उत्कृष्ट पाँच जनाभित्र सडक विभागकी इन्जिनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी हबल्दार राजेश साह जयसवाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्की र सीमा प्रशासन कार्यालय नाम्चेकी शाखा अधिकृत सुजनकुमारी बर्देवा रहेका छन् ।

सक्षम, इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएको छ । सम्मान समारोह कार्तिक २४ गते हुने भएको छ ।  

यस्तो छ एकाउन्ट्याविलिटी ल्याबले दिएको पाँच जनाको विवरण– 

१. कल्पना अधिकारी, इन्जिनियर, सडक विभाग, काठमाडौं 
सरकारी सेवामा उनलाई निडर र जोखिम लिनसक्ने कर्मचारी भनेर चिनिन्छ । हालसम्म उनले दाङ, कैलाली, काठमाडौं, पर्वत, पाल्पा लगायतका जिल्लाहरूमा काम गरिसकेकी छिन् । उनी जहाँ गइन् त्यहाँ लामो समयदेखी रोकिएका परियोजनाहरू शुचारु भए । उदाहरणका लागि, उनी कालीगण्डकी करिडोर सडक आयोजना अन्तरगत कार्यवाहक परियोजना प्रबन्धक भएर जँदा मन्द्राङको भीरको बाटो ८–९ वर्षदेखि बन्न सकिरहेको थिएन । विशेषज्ञ नहुँदा जोखिमयुक्त ठाउँको काम अगाडी बढ्न सकेको थिएन । स्थानीयहरूले बाटोको लागि आफ्नो जग्गा दिए, तरसडक बन्ने कुरा त परको कुरा, पानीको मुहान सुकेर कुलो बन्द भयो । कल्पना अधिकारी त्यहाँ गइसकेपछि अवस्थाको अध्ययन गरिन् । योजना परिमार्जन गरेर कामलाई अगाडि बढाइन् । 

२. मोहनकृष्ण महर्जन, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं 
मोहन कृष्ण सन् २०५५ देखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कार्यरत छन् । उनी सेवाग्राहीका त प्रिय पात्र हुन नै सहकर्मीका लागि पनि प्रेरणाका स्रोत हुन् । भारत र बंगलादेश लगायत अन्य देशहरूमा प्रमाणित भइसकेको प्रविधि जसले कुनै पनि खाद्य वस्तु अर्गानिक हो कि होईन भनेर छुट्याउछ, सो प्रविधि न्ब्ए लाई नेपालमा कार्यान्वयन गर्नमा मोहन कृष्ण महर्जनको ठुलो भुमिका छ । यो प्रविधिले नेपालमा सकारात्मक नतिजा पनि देखाउन थालिसकेको छ । उनले विभागले गर्ने कामहरू पारदर्शी हुन् र सबैले थाहा पाउन भनेर चौमासिक पत्रकार सम्मेलन पनि गरिरहेका छन् । पत्रकार सम्मेलनमा विभागले प्रस्तुतीकरण गर्ने र पछी सरोकारवाला सँगको अन्तरक्रियामा सवाल जवाफ हुने भएकोले सरोकारवालाहरू सुसूचित हुन पाएकाछन् । यस अभ्यासबाट विभागको परदार्शिता माथि उठ्ने प्रश्नहरू कम भएका छन् ।

३. राजेश साह जयसवाल, प्रहरी हवल्दार, जिल्ला प्रहरी कार्यालय, सर्लाही
राजेश विगत ६ वर्षदेखि मलंगवा अस्पतालमा कार्यरत छन् । सामान्यतया, मानिसहरू प्रहरीसँग कुरा गर्न धक मानिरहेका हुन्छन् तर, उनले सेवाग्राहीलाई गर्ने असल व्यवहारका कारण जिल्लाका प्रहरी इकाई प्रति आम नागरिकको दृष्टिकोण परिवर्तन गरेको छ । कोभिडको सुरुवाती अवस्थामा कर्मचारीहरू बिरामी नजिक जान पनि डराउँथे । राष्ट्रसेवक नै पछाडी हट्यो भने जनता पनि डराउँछन् भनेर उनि अगाडी सर्थे । चिकित्सक नै पछी हटेपछि उनि आफै बिरामीको नजिक गएर समस्या बुझ्थे । कसैको मृत्यु भयो भने पनि पोष्टमार्टम गर्ने ठाउँमा लाश लैजान उनले नै सहयोग गरिदिन्थे । यसले अरु कर्मचारीलाई पनि अग्रपंक्तिमा आएर काम गर्न प्रेरित गर्यो ।

४. रोशनीदेवी कार्की, उपसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडाैं
सानै देखि लैंगिक विभेद विरुद्ध आवाज उठाउने उनको स्वभावले उनलाई सरकारी सेवामा डोहोर्यायो । सरकारी सेवामा आईसकेपछि पनि उनले हरेक क्षेत्र लैंगिक मैत्री हुनुपर्छ भनेर आवाज उठाईन् । महिला खेलाडीलाई सहज होस् भनेर महिला मैत्री कभर्ड हल बनाउ पहल गरिन् । आफ्नै प्रयासमा, आफैले लेखेर र आफैले रेकर्ड गरेर बालविवाह, दाईजो प्रथा, सामाजिक कुरिती विरुद्ध र एकद्वार संकट व्यवस्थापन केन्द्रबाट प्राप्त गर्न सकिने सेवा सम्बन्धित विषयमा सन्देशहरू नेपाली, मैथिली, भोजपुरी र स्थानीय भाषामा प्रसारण गरिन् । ५० भन्दा बढी चेतनामुलक सामाग्री प्रशारण गर्न मन्त्रालयले कुनै खर्च गर्नु परेन । 

५. सुजनकुमारी बर्देवा, शाखा अधिकृत, सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बु
सेवाग्राहीका समस्या सुन्ने र त्यसको समाधानका लागि लागिपर्ने उनको बानिको सबैले प्रशंसा गर्दछन् । उदाहरणका लागि, नाम्चेमा हेलिकप्टर  कम्पनीले आफ्नै मनोमानीमा जथाभावी  हेलिकप्टर उडाउने गर्दथे, जसले गर्दा खच्चर व्यवसाय गर्ने मान्छेको रोजगारी खोसिएको थियो ।  त्यसै कारण उनिहरूले ईलाका प्रशासन कार्यालयमा यही गुनासो लिएर आएका थिए । उनले सबै हेलिकप्टर कम्पनीमा पत्र पठाई बैठकको लागि निमन्त्रणा दिईन । ८ वटा हेलिकप्टर कम्पनीबाट २५ जना छलफलमा आए । त्यहीँ बैठकबाट  कम्पनी र खच्चर व्यवसाय बीच हेलिकप्टरले उद्धार गर्ने र सामानहरु स्याङबोचे एरपोर्ट सम्म मात्र लाग्ने सहमति भयो । नाम्चेवासीले कर्मचारी ६ महिना पनि टिक्दैनन् भन्ने विश्वास गर्दछन्, तर सुजनको कामबाट प्रभावित नाम्चेवासीले ६ महिनामै उनलाई सम्मान गरेका छन् । 

यी आइकन र उनीहरूले गरेका कामलाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट आउँदो एक हप्ताभर प्रस्तुत गर्ने र उनीहरूलाई प्रोत्साहित गर्न वेबसाइटमार्फत सन्देश पनि पठाउन सक्ने ल्याब नेपालले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ