arrow

अग्नि आत्मलापः नमस्कार गरेको छ, हिँडेको छ

logo
शलील सुवेदी,
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
agni-aatmalap.jpg

अभिवादन कमरेड । म अग्नि खरेल । रातभरि निन्द्रा लागेको छैन । दिनभरिको थकाइले पनि होला । चिनेको ठाउँमा हिँड्दा पो गलिँदैन, चिनेका मान्छे हुन्छन्, बाटो, बोटबिरुवा, गल्ली, चोक सबै चिनेका, यस्तो हुँदा जति हिँडे पनि गलिँदैन । हेर्नुस् त कहिले नदेखेको ठाउँ हिड्नु परेको छ अहिले ।
 
मतदातासँग दिनभर गफ त गरिन्छ नि । तर के गर्नु, कुनै फिलिङ नै छैन । नमस्कार गरेको छ, हिँडेको छ, नमस्कार गरेको छ, हिँडेको छ । न मान्छे चिनिन्छ, न ठाउँ, पिटिक्कै आफ्नो लागेको छैन । आज मेचीनगरको वार्ड नं ३ को पानीतेल र १ को विरिङ पुगेको, साह्रै गलियो । धाइसिङ खोलाको पुलको कुरा मैले त्यतै बोलेको होे । सुन्नु पनि भयो होला ।

बालाई मैले त्यत्रो भनेँ, बा हैनन् खासमा मेरा त दाइ हुन् है । तर भक्तपुरे महेशले बा भनेपछि मैले पनि बा भन्न थालेँ । दाई भन्नु र बा भन्नुमा आकाश पातालको फरक । 

तर व्यर्थ भनेँ बा । मैले त्यत्रो बिन्ती बिसाएँ म झापा २ बाट लड्छु भनेर । घर बनाएँ, त्यत्रो खर्च गरेर । सारा पार्टी पंक्ति तयार पारेँ । 

आखिर देवराजलाई जिम्मा दिएर मलाई यता हुत्याइ दिए । हुत्याउन पनि कस्तो ठाउँमा हुत्याए भने रवीन कोइरालाको क्षेत्रमा । 

जसको मैले पार्टी इन्चार्ज खोसेँ, अहिले लाचार भएर हिँड्नु परेको छ भाग खोसेको मान्छेसँग । 

रविनको क्षेत्रमा मलाई नपठाउनु न भनेर ५० पटक भनेँ हुँला । अहँ ! पिटिक्कै माने पो । रविनमा अझै पनि माधव नेपालको सैतान छ रे । पछि जितेर गयो भने उतै टाँसिन्छ रे । यो कुरा चाहिँ मलाई पनि ठीकै लाग्यो ।

मलाई यो पटक यो क्षेत्रमा उम्मेदवार बनाएर दोश्रो पटक कारबाही गरे जस्तो लागेको छ । हेर्नु त, मेरा प्रतिस्पर्धीसँग एअरपोर्टमा बाको फोटो सेसन । कम तनाव भएको छ । त्यसले के म्यासेज दिन्छ ? 

पूर्व प्रधानमन्त्री र भावी प्रधानमन्त्रीसँगै भन्ने म्यासेज जाँदैन ? त्यो फोटो देखेको दिन त रातभर निन्द्रा लागेन ।

हद हुन्छ नि । पहिलो पटक महान्यायाधिवक्ताबाट गलहत्याएकै हुन् संसद विघटनको राम्ररी बचाउ गरिन भनेर । 

टालटुल त गर्न खोजेकै थिएँ नि । पार लागे पो गर्नु । गलत बाटोमा हिँडियो । अनि कहाँबाट जितियोस् त । मलाई हटाएर ल्याएका रमेश बडालले चाँहि के लछार पाटो लगाए त ? सम्झदाँ पनि कन्पारो तातिएर आउँछ । 

अहिले फेरि यता विश्वप्रकाशसँग चुनाव लडाएर कारबाही गरेजस्तो भएको छ । ऊ त पार्टीकै सभापति देउवासँग विद्रोह गरेर महामन्त्री भएको मान्छे हो । यो ठाउँले अहिलेसम्म नचिनेको पो त । 

मान्छे सानो सानो छ । तर मुलुक हाँक्छ यसले । जता जाउँ उसैको चर्चा छ । देश विदेश सबैतिरबाट उसैलाई सुभेच्छा छ । ऊसँग लड्न आएको । उल्टै अभियुक्त जस्तो बनाएर पो हेर्न थाले जनताले मलाई । 

दिक्क लाग्या छ । खासै रमाएर हिँडेका पनि छैनन् मेरा कार्यकता । मैले बोलेको सुन्नु भएकै होला, म अग्नि खरेल भनेको आउँला, जाउँला । रविन कोइराला पनि  आउलान् जालान् तर सूर्य स्थायी हो, पार्टी स्थायी हो । 

मेरो व्यक्तिको रुपमा माहोल नै बनेन क्या । त्यसैले जे गर्छन् सूर्य भगवानले गर्छन् भन्न थालेँ अब ।

राप्रपाले साथ दिन्छ कि भनेको । यहाँको मेयरको उम्मेदवारले नै पार्टी छाड्यो । पुराना कांग्रेसी अरे त्यो । धुलाबारीको के खड्का पनि बागी छन् रे । 

हुन त हाम्रा दुर्गा प्रसाईहरुले ३ नम्वरमा खुलेआम सिटौलालाई समर्थन गरेपछि यहाँ मलाई के देलान् र हलो वालाले ? 

भर छैन । फेरि विश्व र लिङदेन सँगसँगै पढेको । अलिक अस्ति कति खुशी भएर फोटा खिचेको देखेको थिएँ ।

विश्व गाँउ गाउँ पुगेको रहेछ । कोरोनाकालमा दवाइ र डाक्टर लिएर मेची नगरकै दुर्गम ठाउँहरुमा पुगेको रहेछ । 

आगलागी पीडितहरुको घाउमा मलम लगाएको रहेछ । असहायलाई आफैं जग्गा दिएर पनि घर बनाएको रहेछ । उसको योजनामा मेचीनगरमा चक्रपथ त बन्न नै थालेको रहेछ । 

अस्ति सतिघट्टामा आँखा चिम्लेर हेरेँ । यो सब बेलैमा थाहा पाएको भए कान काटे पनि आउने थिइनँ । 

पहिले यही क्षेत्रबाट उठेका राधाकृष्ण खै ? देवी ओझा खै ? भनेर मलाई सोध्छन् यहाँका जनता । के उत्तर दिनु मैले । 

मेरो ताल पनि त्यस्तै हुने हो । जसोतसो कथा बुनेर ठाँटिइरहेको छु । 

धन्न कानून पढिएछ । धन्न सेतोलाई कालो र कालोलाई सेतो बनाउन जानिएछ ।

क्षेत्र ५ मा बा हुन्जेल उनै हुन् । बाको सेखपछि हिक्मत ठिक्क परेर बसेको छ । अब बाले मुख्य मन्त्री बनाउाछन् उसलाई । 

अहिले रविनलाई भनेर भन्देको नि । के को रविन मुख्य मन्त्री बन्नु ?
 
हामीले जिते केपी बा प्रधानमन्त्री, विश्वले जिते देउवा । यो बाहेक के छ र मेरो डिफेन्स गर्ने अस्त्र ? 

पाँच व्र्ष स्थायी सरकार भनौं, पत्याउँदैनन् । एमसीसीको बारेमा भनौं, छोराको बारेमा सारा भेद खुलिसक्यो । 

यो कुरा कतैबाट आउँछ कि जस्तो मनमा चिसो लाग्दै थियो, अहिले छ्याप्छ्रयाप्ती भइहाल्यो ।  

आफ्नो छोरालाई अमेरिकी सेनामा लगाएर एमसीसीको व्रिोध कसरी गरौं । 

हे दैव । नहुने बेला अनेक थोक हुने क्या ।

म यो क्षेत्रमा आएको मात्र थिएँ सिभिल सहकारीका साहुबाट पैसा लिने गरेको भाइरल बनाए विपक्षीले । 

त्यो मैले आफ्ना लागि मात्र लिएको हो र ? पार्टीलाई अझ भनौं बाको गुटको लागि लिएको हैन र ? 

तर पनि कसैले साथ दिएन । बिचरा मोहनकाजीका बुढाबुढीले त बचाउ गरेकै छ नि, के गर्नु उनीहरुले लेखेर मात्र ? 

पार्टी गुटको लागि पैसा उठाउन तीन जना मन्त्रीलाई त जिम्मेवारी नै थियो त्यो बेला । गोकुल, डा. युवराज र भानुभक्त । 

गोकुल ७० करोडमा फसे, भानुभक्त ओम्नीमा डामिए । हो, युवराजले सुपथ पैसा कमाएर बालाई  दिएको, बजेटमा चकलेटलाई कर छुट दिएर । 

पछि अमेरिकी राजदूत गिफ्ट पनि पाए नि । मलाई पनि सिभिल सहकारीको बात लाग्यो । मन्त्री नभई विष्णुले पनि राम्रो माल जम्मा गरे । 

बिचरा महेश बस्नेत अपहरण काण्डमा फसे । खै, कता कता गएछ कुरा पनि, मनमा शान्ति भए पो कुरा पनि चैनका हुन्छन् ।

मलाई ठूलो भरोसा भनेको कांग्रेसभित्र खेल्नु थियो र छ । त्यही आशमा म यहाँ आएको । तर खै ? यहाँका कांग्रेस हाम्रो अफर सुन्नै चाहँदैनन् ।
 
अब यौटा भर भनेको दामको हो । पाँच करोड लिएर अग्नि छिरेको भन्छन् रे कांग्रेसीहरु । 

कसले दिन्छ यिनीहरुलाई सूचना ? नेर नेर पुर्याउँछन् त । 

यो बेलामा मान्छे किन पार्टी प्रवेश गर्छन् ? म आएपछि भएका पार्टी प्रवेश के हुन् त ? 

साँवा ब्याज तिरिदिने अफर अलि अलि लिक भएको जस्तो छ । मतलब छैन मलाई ।

के भूतले खाजा खाने बेलामा यता आइएछ । बरु राजनीति छोडेर वकालत गरेरै बसेकै भए पनि हुन्थ्यो । 

बा गुट पार्टी बनेपछि लोभी मन मानेन । स्थायी कमिटी सदस्य चुट्कीको भरमा बनेँ ।  

सुवास नेम्वाङको प्रगति हेरौं न । हामी जस्तै वकिल, कहाँ पुग्यो । त्यसले पनि लोभ्यायो ।

आ हुने कुरा भएरै छोड्छ । अब एउटा माला चाहिँ बनाएरै राख्ने हो । उसले सिकाएको कुरा उसको क्षेत्रमा आएर नगरे अग्नि भाग्यो भन्लान् ।

उसैलाई माला र अबिर लाइदिने हो । अनि सिधै काठमाडौंको घरमा गएर आरामले सुत्ने हो ।

बिर्तामोड त बस्दिन, त्यो बास्तु नमिलेको घर ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ