फ्लसिङ मिडोज। यस वर्षको युएस ओपन टेनिसको उपाधि जर्मनीकी खेलाडी एन्जेलिक केर्बरले जितेकी छिन्। अमेरिकाको न्यूयोर्कस्थित फ्लसिङ मिडोजमा भएको फाइनलमा चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई हराउँदै केर्बरले उपाधि जितेकी हुन्। २८ वर्षीया केर्बरले २४ वर्षीया प्लिस्कोभालाई ६–३, ४–६ र ६–४ ले हराइन्।
योसंगै केर्बरले यो वर्ष दुई वटा ग्राण्डस्लाम जितेकी छिन्। अष्ट्रेलियन ओपन पनि जितेकी केर्बर रियो ओलम्पिककी रजत पदक विजेता हुन्। अब सोमबार हुने विश्व वरियतामासमेत केर्बर पहिलो पटक विश्व नम्बर एक खेलाडी बन्नेछिन्। १८६ हप्तासम्म निरन्तर विश्व नम्बर एक बनेकी सेरेना विलियम्स युएस ओपनको सेमिफाइनलमा प्लिस्कोभासंग पराजित भएसंगै केर्बरले बाजी मारेकी हुन्।