arrow

निडर शंकर भण्डारीलाई सहज बन्दै मंसिर ४

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
shankar-bhandari.jpg

तनहुँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्लाका नेताहरुको ‘कुशल व्यवस्थापन’ को एउटा कार्य तनहुँ २ मा नेता शंकर भण्डारीलाई टिकट दिलाउनु भएको बताएका छन् । 
 
तनहुँ १ बाट सिफारिस भएका भण्डारीलाई नेता पौडेलकै पहलमा तनहुँ २ को टिकट सुनिश्चित भएको थियो । तनहुँ २ बाट आकांक्षी रहेका नेता प्रदीप पौडेल काठमाडौं ५ बाट उठ्न तयार हुनु तथा जिल्लाका अर्का नेता गोविन्द भट्टराई समानुपातिक उम्मेदवार बनेपछि तनहुँमा कांग्रेस राजनीतिले लय समातेको छ । 

अघिल्लोपटक यसै क्षेत्रबाट उठेका भण्डारीलाई यसपटक जित निकाल्ने सहज अवसर छ । जिल्लामा गुटगत राजनीतिको प्रभाव नहुनु तथा गठबन्धनको बलियो साथले जितको अवसर उनको अघि छ । 

तनहुँ कांग्रेसका जिल्ला सभापति जितप्रकाश आले गठबन्धनले जिल्लाभर जित निकाल्ने दाबी गर्छन् । ‘अघिल्लोपटक वाम गठबन्धनले गर्दा कांग्रेसले जित्न सकेन । अहिले पार्टीभित्र र गठबन्धनले सजिलो भएको छ’, आलेले भने ।

२०७४ सालको चुनावमा वाम गठबन्धनबाट एमालेका केदार सिग्देलले भण्डारीलाई हराएका थिए । 

सिग्देलले ३२ हजार ९२४ मत ल्याउँदा भण्डारीले २९ हजार ६४५ मत पाएका थिए । 

यसपटक तनहुँ २ मा नेकपा एमालले किरण गुरुङलाई उठाएको छ । उनी अघिल्लोपटक प्रदेशसभातर्फ उठेका थिए ।

गत स्थानीय तहको चुनावको आधारमा कांग्रेस र एमालेको मत हाराहारी जस्तै छ । झिनो अन्तरले एमालेको मत बढी छ । 

एमालेको पक्षमा स्थानीय तहको निर्वाचनमा यस क्षेत्रभरि ३० हजार ९६२ मत खसेको थियो । कांग्रेसले पाएको मत ३० हजार ६०६ छ । यी दुई दलको मतान्तर मात्रै ३५६ छ । 

यसपटक भण्डारीको लागि लाभ 
गठबन्धनका अरु दुई दल पनि छन् । तेस्रो शक्ति रहेको माओवादीले स्थानीय तहमा पाएको मतसमेत भण्डारीको पक्षमा खस्ने भएको छ । माओवादीको पक्षमा ६ हजार ८३६ मत खसेको थियो । 

साथै एकीकृत समाजवादीले एक हजार २५२ मत प्राप्त गरेको थियो । गठबन्धनका तीन दलको मत जोड्दा ३८ हजार ६९४ हुन्छ । 

कुल मत जोड्दा गठबन्धन र एमालेको मतान्तर धेरै हुन्छ । स्थानीय तहकै मतको आधारमा विश्लेषण गर्दा गठबन्धनका दलभन्दा एमालेको मत ७ हजार ७३२ कम हुन्छ । 

भण्डारीका लागि गठबन्धनको मत तान्ने अर्को आधार प्रदेशसभामा एक क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवार पाएको छ । 

माओवादी केन्द्रका राजेन्द्र केशरी न्यौपाने  तनहु २ (क) मा उम्मेदवार बनेका छन् । कांग्रेसका जिल्ला सभापति जित प्रकाश आले (ख) मा उम्मेदवार छन् । 

कांग्रेसकै जिल्ला सभापति आफ्नो क्षेत्रको प्रदेशमा उठ्न तयार हुनु तथा माओवादीले समेत उम्मेदवार पाउँदा गठबन्धनमा तालमेल बलियो बनेको विश्लेषण गरिएको छ ।

यस क्षेत्रमा शुक्ला गण्डकी, भिमाद, घिरिङ, म्याग्दे, रिसिङका सबै वडा यस क्षेत्रमा पर्दछन् । त्यसका अतिरिक्त व्यास नगरपालिकाको ५ र ६ वडा पनि यसै क्षेत्रमा पर्दछन् । 

यीमध्ये कांग्रेसले शुक्ल गण्डकी, रिसिङ र व्यास प्रमुख पदमा जितेको छ । एमालेले भिमाद, घिरिङ र म्याग्दे जितेको छ ।

भण्डारी कांग्रेसको तेस्रोपटक केन्द्रीय सदस्य बनेका छन् । २०३८ सालदेखि नेविसंघको राजनीतिमा उनी प्रवेश गरेका थिए ।

२०४९ सालमा भण्डारी त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका थिए । २०५४ सालमा तरुण दलको केन्द्रीय सदस्य बनेका भण्डारी निडर स्वभावका नेतामा गनिन्छन् । 

आफ्ना कुरालाई पार्टीमा निर्धक्क राख्न सक्ने हुन भण्डारी । कांग्रेसमा फरक मत राख्न पाइने तथा फरक मतलाई सम्मान गर्ने लोकतान्त्रिक चरित्र भएकाले भिन्न दृष्टिकोण राख्दै आएको उनी बताउँछन् । भण्डारीको गृहस्थान तनहुँको फुर्कोटमा पर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ