arrow

'सेफ जोन' मा सुनिलबहादुर थापा, बाबुको काम चुनावी मुद्दा

स्वतन्त्र उम्मेदवार भारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
Sunil-Bahadur-Thapa-1.jpg

काठमाडौं । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि नौ जना चुनावी मैदानमा छन् । तर, मुख्य तीन उम्मेदवारको प्रतिस्पर्धा भने रोचक बनेको छ । कांग्रेस नेतृत्वको गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेदवार छन् । एमाले नेतृत्वको गठबन्धनबाट राजेन्द्र राई मैदानमा छन् । अघिल्लो निर्वाचनमा राई थापालाई पराजित गर्दै निर्वाचित भएका थिए । त्यसबेला कांग्रेस एक्लै मैदानमा थियो । राईलाई माओवादीको साथ थियो । तर, यस पटक परिस्थिति बेग्लै बनेको छ ।

 थापा पहिलेभन्दा निकै बलियो बनेका छन् । पहिलो त जिल्लामा पहिलेभन्दा कांग्रेसको जनाधार बढेको छ । दोस्रो माओवादी र एकीकृत समाजवादीको साथ । एमालेका राई पहिलेभन्दा कमजोर बनेको अवस्था छ । एमाले विभाजनका कारण पनि राईलाई चुनाव त्यति सहज देखिँदैन । तर, दुवैलाई स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी भारी परेका छन् । नेकपा माओवादी केन्द्रको पोलिट ब्युरो सदस्यसमेत रहेका भण्डारी टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । भण्डारीले कसको धेरै मत काट्छन् भन्ने चासो छ, यतिबेला । उनले आफूले जित्ने दाबीसहित मत मागिरहेका छन् ।

 धनकुटाको अर्को प्रभावी शक्ति हो, जनता समाजवादी पार्टी (जसपा) । तर, जसपाले प्रतिनिधिसभा सदस्यकामा उम्मेदवारी दिएको छैन । जसपाका कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ प्रदेशसभा सदस्यका उम्मेदवार छन् । तर, दुवै प्रदेशमा एमालेले उम्मेदवारी दिएका कारण जसपा र एमाले तालमेल पनि बलियो छैन । नेताहरू जसपाको भूमिकालाई समेत निर्णायक भनिरहेका छन् । 

एकातिर एमालेका राईलाई सत्ता-गठबन्धनको बलियो चुनौती छ । थापालाई माओवादी केन्द्रका कार्यकर्ताको डर छ । गठबन्धन भइसकेपछि त्यसको इमानदारीपूर्वक कार्यान्वयन हुने भन्दै थापा मत मागिरहेका छन् । पटक-पटक घरदैलो गरेर मतदाता रिझाउने प्रयास गरेका छन् । तर, भण्डारीको विद्रोहमा कार्यकर्ताको साथ हुन सक्ने भयले भने उनलाई सताएको छ । गठबन्धनको ८० प्रतिशत मत नै थापाका लागि जित्न पर्याप्त देखिन्छ । त्यसैले अरू भन्दा थापा ‘सेफ जोन’मा छन् । २०७४ सालमा राईले ३७ हजार ३ सय ३३ मत ल्याएका थिए । थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए ।

धनकुटामा सात पालिका छन् । ०७४ मा एमालेले सबै पालिकामा क्लिन स्वीप गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभामा पनि वाम गठबन्धनले जितेको थियो । तर, यस पटक माहोल उल्टिएको छ । एमालेले तीन वटा पालिकामा मात्रै जित्न सकेको छ । गत स्थानीय निर्वाचनमा वडाध्यक्षको मत हेर्दा एमालेले ३६ हजार ३३६ मत पाएको छ ।

 कांग्रेसले २८ हजार १८२, माओवादीले ५ हजार ४५८, जसपाले २ हजार २९३, नेकपा एकीकृत समाजवादीले १ हजार ७२८ र राप्रपाले ३०४ मत ल्याएका थिए । यस पटक सहज जित निकाल्ने नेता थापाले बताए । उनले आफ्ना बाबु सूर्यबहादुर थापाले प्रधानमन्त्री हुँदा गरेको कामलाई चुनावी मुद्दा बनाएका छन् । उनी आफैले पनि जिल्लाको विकासमा ठूलो योगदान गरेका छन् । 

धनकुटामा थापाको पार्टीभन्दा व्यक्तिगत भोट धेरै भएको चिया पसलमा गफ सुन्न सकिन्छ । ‘मैले बुवाले गरेको कामको श्रेय मात्रै खोजेको छैन । मसँग धनकुटालाई समृद्ध बनाउने एजेन्डा छन् । त्यसकालागि केन्द्रीय नेतृत्वमा पहुँच पनि छ,’ थापाले भने, ‘यस पटक राष्ट्रिय रूपमा बनेको गठबन्धन र देशभरिको माहोलका कारण पनि मैले चुनाव जित्छु । धनकुटाको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेकाले जित निश्चित रहेको उनले दाबी गरे । 

एमाले उम्मेदवार राईले पनि आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताए । ‘मैले जनतालाई भगवान् मानेको छु, त्यहीअनुसार काम गरेको छु । मैले उहाँहरूको आशीर्वाद लिएर नै चुनावमा होमिएको छु,’ उनले भने, ‘केन्द्रमा नेताबीच गठबन्धन हुँदैमा यहाँ चुनाव जितिहाल्ने भन्ने हुँदैन ।’ धनकुटामा १ लाख १६ हजार ९९१ जना मतदाता छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ