arrow

एक्यापको समस्या समाधानका लागि पहल गर्छु : बराल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
Prakash Baral kaski 3 (1).jpg

पोखरा । नेपाली कांग्रेसका युवा नेता तथा कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले कास्कीको घान्द्रुकबाट शुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अब जनतामा हस्तान्तरण हुनुपर्ने बताएका छन् । 

चुनाव प्रचारप्रसार गर्नेक्रममा सो क्षेत्रमा पुग्दा स्थानीयहरुले एक्याप निकै दुखेसो पोखेपछि उम्मेद्वार बरालले यस्तो बताएका हुन् । विशेषगरी घान्द्रुक, बीरेठाँटी, तोल्का लगायत क्षेत्रका स्थानीयले एक्यापविरुद्ध बोलिदिन बरालसंग आग्रह गरेका थिए ।

जनताले नै हुर्काएका कारण एक्याप उनीहरुले उपभोग गर्न पाउनुपर्ने बरालले स्पष्ट पारे । ‘एक्याप जनताले दुःख गरेर जनावरसंग जुधेर हुर्काएको क्षेत्र हो । यो क्षेत्र अब जनताकै नाममा हुनुपर्छ,’ उनले भने, ‘स्थानीयले उपभोग गर्न नपाए जोगाएको के अर्थ भयो ? एक्यापलाई समुदायमा हस्तान्तरण गरिनुपर्छ । म त्यसको नेतृत्व गर्छु ।’ कास्की २ (ख) का अधिकांश वडाहरुमा एक्याप कार्यरत छ । 

एक्याप भित्रको श्रोत साधन उपभोगका विषयमा दैनिकजसो स्थानीयसँग द्वन्द्व हुने गरेको छ । स्थानीय सरकारले पनि एक्यापको श्रोत आफूले पाउनुपर्नेमा जोड दिंदै आएको छ । 

‘देशमा स्थानीय सरकार आइसक्यो । उसको क्षेत्राधिकार भित्रको श्रोत उसले चलाउन पाउनुपर्छ,’ बराल भन्छन्, ‘एक्याप र स्थानीय सरकार समानान्तर रुपमा चल्दा नागरिकले दुख पाए । यसको निकास निकाल्नै पर्छ ।’

बरालले एक्यापबाट प्राप्त हुने सबै श्रोतमा स्थानीयकै अधिकार स्थापित गर्न आग्रह गरेका छन् । ‘एउटा काठको टुक्रा ल्याउन पाईंदैन । एउटा ढुंगा निकाल्यो भने जरिवाना लाग्छ । जेल जानुपर्छ,’ स्थानीयले भने, ‘यस्तो पीडा लिएर कति दिन चल्छ ? हामीलाई एक्यापबाट छुटकारा चाहियो ।’ 

यसअघि यहाँका स्थानीयहरुले एक्याप कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । तर दुःख नदिने सर्तमा उक्त तालाबन्दी खुला भएको थियो । एक्याप करिब दुई वर्षदेखि विना नवीकरण चलिरहेको छ । यसबारे संघ सरकारले मात्रै निर्णय गर्न पाउँछ । तर कुनै निर्णय नलिँदा एक्यापबारे अन्यौल कायम छ ।

लान्द्रुक, घान्द्रुक, उरी हुँदै किंरुङखोलासम्म घरदैलो

उम्मेद्वार बरालले अन्नपूर्ण गाउँपालिकाका मतदातासंग भेटघाट सकेका छन् । बुधबार बिहानैदेखि अन्नपूर्णको विभिन्न स्थानमा उनले घरदैलो गरे ।

उक्त अवसरमा उनले सडक, खानेपानी, विद्यालय भवन सुधार, स्थानीयको जनजीविका, रोजगारीका विषयमा मतदातासंग भलाकुसारी गरे । 

उक्त अवसरमा उनले आफू जनताको सेवाका लागि नै चुनावमा होमिएको स्पष्ट पारे । बुधबार उनले लान्द्रुक, घान्द्रुक, उरी हुँदै किंरुङखोलासम्म घरदैलो गरेका थिए ।

घरदैलोकाक्रममा मतदाताले विशेषगरि शिक्षा र सडकका विषय उठान गरेको उम्मेद्वार बरालले बताए ।

उनले भने, ‘मतदाताले उठाएका विषय निकै मार्मिक छन् । यी विषय पूरा गर्न ठूलो कुरा हो जस्तो लाग्दैछ । हिम्मतका साथ सोंच बदलेर अघि बढ्ने हो भने असम्भव केही छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ