काठमाडौं। ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ मा राम्रो गर्न नसकेको चीनले पारा ओलम्पिकमा भने तहल्का मच्चाइरहेको छ । ब्राजिलको रियो दि जेनेरियोमा सेप्टेम्बर ७ देखि सुरु भएको प्रतियोगितामा चीन २६ स्वर्णसहित पदक तालिकाको शिर्ष स्थानमा छ ।
चीनको कुल पदक संख्या भने ६९ छ । चीनको खातामा २४ रजत र १९ काँस्य छ ।
१५ स्वर्ण हात पारेको बेलायत पदक तालिकाको दोस्रो स्थानमा छ । ओलम्पिक २०१६ मा पनि उत्कृष्ट प्रदर्शन गर्दे बेलायत दोस्रो भएको थियो ।
त्यस्तै १२ स्वर्णसहित यूक्रेन तेस्रो स्थानमा छ । ओलम्पिक २०१६ मा भने यूक्रेनले मात्र २ स्वर्ण हात पारेको थियो ।रियो ओलम्पिक २०१६ को ४६ स्वर्ण हात पार्दे शानदार अन्त्य गरेको अमेरिकालाई पारा ओलम्पिक भने फापेको देखिएन ।
अहिलेसम्मको अवस्थामा अमेरिका मात्र ८ स्वर्णसहित पदक तालिकाको चौंथो स्थानमा घिँस्रिरहेको छ । यस्तै ५ स्वर्ण हात पारेको आयोजक ब्राजिल पाँचौं स्थानमा छ ।
सेप्टेम्बर ७ देखि १८ सम्म चल्ने प्रतियोगितामा २३ खेल अन्तर्गत ५ सय २८ विधालाई समेटिएको छ । यो प्रतियोगितामा १ सय ६० मुलुकहरुको सहभागिता रहेको छ ।