arrow

नवराज सिलवालको क्षेत्रका एमाले नेता बालमुकुन्द कांग्रेसमा भित्रिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
balmukunda.jpg

काठमाडौं ।  २०७४ सालको स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेबाट विजयी भएका बालमुकुन्द घिमिरे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  एमालेका सङ्घीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क)का उम्मेदवार मधुसूदन पौडेलको बसोबास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे नै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धताहरु बिर्सिएकाले आफूले नेपाली कांग्रेस रोजेको बताएका छन् । ३ वटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसायी पनि हुन् । २ पटक एमालेको जिल्ला सचिवालय सदस्य समेत रहेका घिमिरेलाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै सङ्घीय सांसदका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्सेर राणाले पार्टीले उचित जिम्मेवारी दिने बताएका छन् । घिमिरेले आजैदेखि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने भन्दै गोदावरीमा भएको घरदैलो अभियानमा सक्रिय भएको पनि बताएका छन् । 

२०७४ सालको निर्वाचनमा नवराज सिलवालसँग पराजित भएका उदय शम्सेर राणा अहिले उनैलाई पराजित गर्ने गरि चुनावी मैदानमा रहेका छन् । ५ दलीय गठबन्धनका उम्मेदवार राणाले यस पटक आफूले जित्नेमा ढुक्क रहेको बताउँदै २०७० सालमा निर्वाचित भएपछि सुरु गरेका कामहरू पूरा गर्ने बताउँदै आएका छन् । दक्षिण ललितपुरको विकासका लागि आफ्नो ध्यान केन्द्रित हुने पनि राणाको भनाई रहेको छ ।

‘म संविधान रक्षाका लागि लड्ने मान्छे हो । विगतमा म एमालेमा रहँदासम्म इमानदारिताका साथ काम गरेँ । जब केपी ओलीले संसद विघटन गर्नुभयो, त्यो गैर संवैधानिक कुरा थियो र पार्टी भित्र मैले त्यति बेला पनि यो गैर संवैधानिक छ भनेर कुरा उठाएँ । जतिसुकै विवाद भए पनि संविधान र देशको लागि यो गलत कदम हो भनेको थिएँ । पछिल्लो दिनमा एमालेले पूर्व पञ्चहरूलाई लिएर गठबन्धन बनायो यसमा मेरो असहमति हो । नेपाली कांग्रेसले प्रगतिशील र परिवर्तनकारी शक्ति वाम गठबन्धनले गर्दा यो देश, संविधानको रक्षा र जनताकै परिवर्तनका साथै विकास पनि हुन्छ भन्ने कुराले आकर्षित भएर नेपाली कांग्रेस प्रवेश गरेको हुँ । आजैदेखि गठबन्धनलाई जिताउन लागि सके ।’ कांग्रेस प्रवेश गरेका  घिमिरेले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ