arrow

चितवनमा कांग्रेसलाई लयमा फर्काउने अभियानमा उमेश श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
umesh-shrestha-congress-election.jpg

चितवन । ‘मेरो चुनावी अजेन्डा जनताको सेवा गर्ने हो, समृद्धि उन्नति प्रगतिका लागि काम गर्ने हो ।’ यो भनाई हो चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका मन्त्री उमेश श्रेष्ठको । नेपाली कांग्रेसको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिएपछि नै चितवनमा चुनावी माहोल सिर्जना भएको हो । अन्य स्थानमा र क्षेत्रमा भन्दा पनि अहिले चितवन २ मा चुनावी माहोल कसिलो र पेचिलो बन्दै गएको छ । 

चितवनमा चुनावी रौनक छाएसँगै उम्मेदवारी मनोनयन गरेदेखि नै यहाँ उम्मेदवारहरूले घरदैलो अभियानलाई तिव्रता दिइरहेका छन् । त्यसमा पनि चितवन–२ मा अझ रौनक बढी देखिन्छ । यहाँबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

यी उम्मेदवारमध्ये यो क्षेत्रमा मुख्य गरी तीन उम्मेदवारहरूको अहिले विशेष चर्चा हुने गरेको छ । चितवन–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ, एमालेका नेता कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेबीच हुने प्रतिस्पर्धाले यहाँको चुनावी माहोल राष्ट्रब्यापी बनाएको छ । 

तर अन्य उम्मेदवारको दाजोमा चितवन –२ मा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठप्रति आकर्षण बढिरहेको छ । ‘आर्थिक प्रगति गर्नुछ । पर्यटन, कृषि क्षेत्रमा विस्तार गर्नुपर्छ । शक्तिखोरको ओद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउने हो, मेरो क्षेत्रमा केरा किसानहरूले धेरै समस्या भोग्दै आएका छन्, उनीहरूको समस्या समाधान गर्नुछ’, श्रेष्ठले संक्षिप्त कुराकानीमा भने ।  

साथ साथै कृषिलाई आधुनिकीकरण गर्न पहल गर्ने पनि उनको योजना रहेको छ । ‘शिक्षा, स्वास्थ्य, रोजगारको विषयमा काम गर्ने योजना छ’, श्रेष्ठले भने । 

उनले यसको अलवा समृद्धि नेपालको लागि उद्योग, व्यवसाय, व्यापारलाई तीन खम्बे नीतिअनुसार सरकारी, निजी र गैरसरकारी संस्था मिलेर देश निर्माणका लागि काम गर्नुपर्ने दायित्व रहेकोसमेत बताए । 

‘विशेष गरेर सरकारी विद्यालयमा आमुल परिवर्तन गर्नुपर्दछ । स्वास्थ्य सेवा विस्तारका लागि काम गर्दछु । तत्लो तहका मानिसहरूको जीवनस्तर उकास्नु नै पहिलो प्राथमिकता रहन्छ’, श्रेष्ठले भने । 

अहिले चितवन २ का उम्मेदवार मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलोमा पुगिरहेका छन् । यी तीन उम्मेदवारमध्ये श्रेष्ठ चितवन–२ मा विकासशील नेताको रुपमा चिनिन थालेका छन् । 

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्रीसमेत रहेका श्रेष्ठ पहिलोपटक प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रेकै कारण सबै ध्यान उनीप्रति खिचिएको छ । 

उनी यसअघि समानुपातिकतर्फबाट सांसद बनिसकेका छन् । दुई पटकसम्म यही क्षेत्रबाट चुनाव जितिसकेका एमालेका तर्फबाट उम्मेदवार बनेका कृष्णभक्त पोखरेल यो पटक ’ह्याट्रिक’ जितको दाउमा रहे पनि जनताले नयाँ अनुहार खोजेका कारण उनका लागि यसपल्ट सहज देखिएको छैन । 

पोखरेलले २०७० र २०७४ को निर्वाचनमा यो क्षेत्रबाट जित हासिल गरेका थिए । काठमाडौं घर भएका रास्वपाका लामिछाने भने २०७६ साउनमा आफ्नै सहकर्मी सालिकराम पुडासैनीको आत्महत्या दुरुत्हान मुद्दामा पक्राउ परेर चितवनमा हिरासतमा बसेका थिए । 

लामिछाने निर्दोष रहेको भन्दै त्यो बेला उनको समर्थनमा दैनिकजसो प्रदर्शनहरू भएका थिए । ९ दिनको हिरासत बसाइपछि रिहा भएका लामिछानेले नारायणी किनारमा ठूलो सभा राखेर धन्यवाद ज्ञापन गरेका थिए । 

त्यसकै बलमा उनी काठमाडौंबाट चुनाव लड्न चितवन झरेपछि जनताको तहमा भन्दा पनि समाजिक सञ्जालमा मात्रै उनको चर्चा बेसी हुने गरेको छ । 

तर उनलाई कम भने आँक्न मिल्दैन । पछिल्लो समय नयाँ अनुहार, नयाँ पुस्ता, नो नट अगेन जस्ता अभियान चलाइँदा रवि लामिछाने पनि विकल्प हुन् । 

उनले केही समयअघिमात्र हतार हतार गरेर पार्टी गठन गरेका थिए । परीक्षणमै रहेकाले उनको पार्टीको स्थिति कस्तो रहने भनेर यसै आँकलन गर्न सकिँदैन । तर माहोल हेर्दा भने उनले पनि सम्मानजनक मत ल्याउनेमा दुई मत नभएको विश्लेषण गर्न सकिन्छ । 

उमेश श्रेष्ठ फर्काउँदै कांग्रेसको लय
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उमेश श्रेष्ठ आफूमात्र हैन सिंगो पार्टीलाई नै चितवनमा लयमा फर्काउने दायित्व बोकेर चितवनमा बसिरहेका छन् । उनीप्रति विश्वास गरेरै पार्टीले चितवन जोगाउने जिम्मा दिएको हो । 

चितवन कांग्रेसको गढका रुपमा चिनिएको भए पनि विस्तारै विस्तारै यसले कांग्रेसको सत् छाड्दै गयो । विभिन्न गठबन्धनका बहानामा कांग्रेसले आफ्नो अस्तित्व दाउमा राख्दै गएपछि एकाएक कांग्रेसको माहोल बिग्रियो । 

त्यही माहोल फर्काएर कांग्रेसलाई लयमा ल्याउने जिम्मा उमेश श्रेष्ठले पाएका छन् । उनी यो क्षेत्रमा उम्मेदवारको रूपमा नयाँ अनुहार भए पनि व्यवसायीक रूपमा भने चिरपरिचित अनुहार भएकाले सहज भएको छ । 

चितवनको  शैक्षिक र होटल क्षेत्रमा श्रेष्ठको ठूलो लगानी रहेको छ । स्वास्थ्य राज्यमन्त्रीसमेत भइसकेका श्रेष्ठले चितवनमा स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेका छन् । 

उनले आफ्नो धन सबै राष्ट्रका नाममा ट्रष्ट निर्माण गरेर सेवा गर्ने विगतमा बताउने गरेका कारण पनि त्यसको सकारात्मक प्रभाव यो निर्वाचनमा पर्न सक्ने बताइएको छ । 

साथै उनको कुदाइ र खटाइका हिसाबले पनि श्रेष्ठले जनताको मन जित्न थालेका छन् ।

उनी शिक्षा, व्यवसाय र बैंकिङ क्षेत्रका विज्ञ हुन् । देश निर्माणका लागि उनको अहम् भूमिका हुने देखेर पनि मतदाता उनीप्रति आकर्षित भएको देखिन्छ । 

कस्तो छ त उमेशको माहोल ? 
शुरुआती चरणमा उमेशको राम्रो माहोल बन्न नसकेको भए पनि विस्तारै विस्तारै माहोल राम्रो भएको चितवनका कांग्रेसीहरु बताउँछन् । यो क्षेत्रमा सबैभन्दा ठूलो समस्या आन्तरिक नै हो । 

कांग्रेस नेताहरुबीच आन्तरिक समस्या निकै नै चर्को हो । तर जब उमेश चितवनमा बस्न थाले तब उनले कांग्रेसभित्रको गुट मिलाउँदै लगेको पाइएको छ । 

गुट मिल्दै गएसँगै सबै तह र तप्का सक्रिय भएर अगाडि बढेको अवस्था छ । अहिले उमेशलाई सबै पक्षले साथ र सहयोग गरिरहेका छन् । 

उमेश पार्टीका लागि विवादरहित अर्थात् निकै नै कम विवादित नेता भएकाले पनि सबै पक्षले सहयोग गर्दै आएको उनी निकटका नेताहरु बताउँछन् । 
 
नेपाली कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनाल पनि उमेश श्रेष्ठको पक्षमा माहोल राम्रो हुँदै गएको बताउँछन् । उनले हाम्राकुरासँग भने, ‘यहाँ उमेशजीको मात्र हैन समग्रमा गठबन्धन नै बलियो भएर लागेको छ । त्यसकारण हामी जित्छौं भन्ने विश्वास छ ।’ 

उनले व्यक्ति भन्दा पनि अहिले गठबन्धनको जित जरुरी भएकाले आफूहरु समग्रमा गठबन्धनका उम्मेदवारलाई जिताउनका लािग भरमग्दूर प्रयास गरिरहेको बताउँछन् । 

उनी त्रिपक्षीय भिडन्त हुने देखिए पनि मुख्य भिडन्त भने एमालेसँग नै हुने बताउँछन् । उनले भने, ‘रवि लामिछाने पनि हुनुहुन्छ । उहाँले केही भोट अवश्य ल्याउनु हुन्छ । तर उहाँसँग भन्दा हाम्रो भिडन्त एमालेसँगै हुने हो ।’ 

पार्टीको आन्तरिक कारणले दुई हजारको हाराहारीमा मत सदुपयोग गर्नुपर्ने जिम्मेवारीमा कांग्रेस छ । विद्रोह गरेका कारण पार्टीले विकास कोइरालालाई कारबाही गरेको थियो । त्योसँगै उनले उक्त संख्यामा मत प्रभावित पार्न सक्ने आँकलन गरिएको छ । 

पार्टी जिल्ला सचिव ध्रुव पोखरेलले कोइरालाको पक्षको मत कांग्रेसलाई आउने बताउँछन् । उनले कोइरालाले पार्टीमा सम्मानसहित कारबाहीको अवधिको क्रियाशील सदस्यताको अवधि नघटाइ आफूलाई पार्टीमा फर्काउनु पर्ने माग राखिरहेका छन् । 

पार्टीले भने कारबाहीको अवधि घट्ने जनाइरहेको छ । यसमै विवाद त । पोखरेलले भने, ‘आन्तरिक विवाद भए पनि उहाँको पक्षको मत गठबन्धनलाई नै आउनेमा ढुक्क छौं । हामी पनि उहाँलाई सम्मानजनक रुपले नै पार्टीमा फर्काउनु पर्छ भनिरहेका छौं ।’

उनले उमेश श्रेष्ठको जित्ने सम्भावना निकै नै बढी रहेको दाबी गरे । उनले भने, ‘माहोल बन्दै गएको छ । उमेश सरको जनताको आशा र भरोसा एकदमै पाइन्छ । कांग्रेसभित्र टिकट पाउने र नपाउनेबीच असन्तुष्टि भए पनि अहिले साम्य भएको छ । उहाँले जित्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।’

सचिव पोखरेलले रवि लामिछानेको प्रचारले केही डिस्टर्ब गरेको बताए । उनले भने, ‘रविको पार्टीले केही डिस्टर्ब गरेको छ । भोट हाम्रा मात्र काटिने हैनन् एमालेलाई पनि डिस्टर्ब भएको छ । त्यसैले यसले हामीलाईमात्र असर नगरेकाले परिणाममा खासै फरक पर्दैन ।’

रवि लामिछानेको पार्टीले आचारसंहिताको ब्यापक उल्लंघन गरेकाले जिल्ला निर्वाचन कार्यालयले पटक पटक पत्र काटेको छ । उनी हालैमात्र राजनीतिमा आएकाले पनि आचारसंहिता र राजनीतिक इमानको बारेमा जानकारी नभएको हुन सक्ने नेताहरु बताउँछन् । यद्यपि उनी पनि जनमतको पर्खाइमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ