arrow

देशलाई बलियो बनाउन गठबन्धनको सरकार आवश्यक : दिपक गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
Deepak gurung.jpg

पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङ ‘माइला’ ले देशलाई बलियो बनाउनका लागि गठबन्धनबाट उठेका उम्मेद्वारलाई भोट हाल्न आग्रह गरेका छन् । घरदैलो कार्यक्रममा अन्तर्गत पोखरा-१२ का विभिन्न टोल-टोलमा पुगेका गुरुङ अबको सरकार गठबन्धनको सरकार बन्ने बताए । 

उनले अघिल्लो सरकारले संसद विघटनदेखि जनतालाई दिएको सास्तीको बारेमा मतदाताले मनन गर्नुपर्ने बताए । गुरुङले धेरै मतदाता बुझ्ने हुँदा पहिलेजस्तो पछुत्याउन पर्ने अवस्था नआउने बताए । ‘जनताहरु धेरै बुझ्ने हुनुहुन्छ । अघिल्लो पटक जस्तो गल्ती योपटक दोहोरिँदैन,’ उनले भने, ‘विचार पुर्याएर योग्य मान्छेलाई भोट हाल्न जनताले खोजेका छन् ।’ 

उनले आफू पहिलो पटक उम्मेदवारको रुपमा आएपनि लक्ष्य ठूलो रहेको सुनाए । ‘म युवा हो । एकपटक मलाई विश्वास गर्नुहोस्,’ उनले भने, ‘अर्को पटक आउँदा मेरो हजुरहरुले नै राम्रो कामको तारिफ गर्नुहुनेछ ।’

उनले प्रदेशको नेतृत्व गरेर उम्मेदवार दिइरहँदा युवा र खेलकुदलाई पनि प्राथमकितामा राखेको बताए । उनले जिल्ला, प्रदेशमा हुने विभिन्न अतिरिक्त खेलको प्रबर्द्धन गर्नेदेखि खेलाडीलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउने बताए । 

‘खेल र खेलाडीको भविष्यको सुरक्षाको लागि व्यावसायिक खेलाडीलाई प्रोत्साहन गरि उनीहरुको लागि आवश्यक योजना र कार्यक्रम अगाडि बढाइनेछ,’ उनले भने, ‘दक्ष प्रशिक्षकको व्यवस्था गरि स्वस्थ जीवनका लागि खेलकुद नामक जागरण अभियान सञ्चालन गरिनेछ ।’

यस्तै, पछिल्लो समयमा दैनिक जसो घटिरहने महिला तथा बालबालिका हिंसा सम्बन्धी सचेतनामुलका कार्यक्रम सञ्चालन गर्ने बताए । ‘घरबाटै समानता, आर्थिक क्षेत्रमा महिलाको संलग्नता नारालाई आत्मसाथ गर्दै लंैगिक तथा घरेलु हिंसा र बालहिंसा अन्त्यको लागि अभियान सञ्चालन गरिनेछ,’ उनले भने, ‘बालबालिका र महिलामैत्री संरचना निर्माण गरिनेछ ।’

पोखरा-१२ मा रहेका भूमिहीन सुकुम्बासी बस्तीलाई व्यवस्थित  बसोबासको व्यवस्था गरिने उनले बताए । उनले भूमिहीनहरुको स्रोत, साधन र अवसरमा पहुँच वृद्धिका लागि कार्यक्रम सञ्चालन गरिने बताए । ‘अव्यवस्थित बसोबास भएका तथा छुट भएका जग्गा दर्ताका लागि सम्बन्धित सरोकारवालसँग समन्वय गरेर समस्या समाधान गरिनेछ,’ उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ