arrow

भारतको ईशारामा संविधान संशोधन हुदैछ : अध्यक्ष न्यौपाने

फाष्ट्र ट्रयाक र नौमुरे भारतलाई दिए सशक्त आन्दोलन गर्ने चेतावनी

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
Chure-Bhavar.jpeg
काठमाडौं । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले भारतको इशारामा संविधान संशोधन हुन लागेको आरोप लगाएको छ । कसैलाई खुसी बनाउनकै लागि संविधान संशोधन हुन विडम्बनापूर्ण रहेको सो पार्टीले जनाएको छ ।
 
रिपोर्टर्स क्लव नेपालमा आईतबार पत्रकार सम्मेलन गरेर चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले संविधान संशोधन गरेर मधेसी मोर्चाका अराजनीतिक माग कुनै पनि हालतमा पूरा गरिनु नहुने बताए । ‘कसैलाई खुसी पार्न भारतको इशारामा संविधान संशोधन हुनु दुःखद् हो’, उनले भने, ‘भारत भ्रमण अगाडि नै संविधान संशोधनको प्रस्ताव किन दर्ता गर्नु पर्‍यो ? संशोधनमा जानुअघि विभिन्न दलहरूसँग भएका सहमतिको पनि ध्यान दिनुपर्छ ।’ 
 
 हिन्दी भाषालाई नेपालमा किन महत्वका साथ मधेसी मोर्चाले उठाएको छ ? भन्दै उनले प्रश्न समेत गरे । अध्यक्ष न्यौपानेले भने, ‘हिन्दी भाषालाई राष्ट्रिय भाषा कदापि बनाउनु हुँदैन ।’ उनले भने , ‘हिन्दी भाषा भारतका कतिपय राज्यमा अहिले पनि बोलिँदैन भने नेपालमा किन राष्ट्रिय भाषा बनाउने ?’ अंगीकृत नागरिकलाई उच्च पदमा लैजान नहुने चुरेभावर पार्टीको माग छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘अंगीकृत नागरिकबाहकलाई रैथाने नागरिकसरह अधिकार दिनु हुँदैन, भाषाको नाऊँमा हिन्दीलाई मान्यता दिन सकिँदैन, राष्ट्रिय सभा र राष्ट्रिय सभालाई जनसंख्याका आधारमा बनाउनेजस्ता कथित सहमति नेपाली जनतालाई कुनै पनि हालतमा मान्य छैन ।’
 
‘नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका नाममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग अप्राकृतिक र कथित तीन बुँदे सहमति भएको छ’, अध्यक्ष न्यौपानेले भने, ‘सरकारमा जानका लागि गरिएको उक्त तीन बुँदेले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय अखण्डतामाथि गम्भीर रुपमा प्रहार भएको यस पार्टीको ठहर छ ।’
 
सिंगो तराईलाई दुई प्रदेशमा सीमित गर्ने योजनाको विरोध गरेको चुरेभावर राष्ट्रिय पार्टीले मधेसी मोर्चाले भने जस्तो गरेर संविधान संशोधन हुन नहुने बताए ।  ‘तराईको आन्दोलनका नाममा गम्भीर तथा जघन्य अपराधमा संलग्नलाई हदैसम्मको कारबाही गर्नुपर्दछ भन्ने यस पार्टीको प्रस्ट धारणा छ’, विज्ञप्तिमा भनिएको छ, ‘संविधान र राज्यको कानुन विरुद्ध जाने अधिकार कोही कसैलाई छैन, सहमति र सम्झौताका नाममा गम्भीर अपराध गरेकाहरूलाई कुनै पनि हालतमा छाडेर अपराधलाई मान्यता नदिन आग्रह गर्दछौं । र, त्यस्ता अपराधीहरुको मुद्दा फिर्ता पनि नलिन सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँछौँ ।’
 
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा फास्ट ट्रयाक, नौमुरेजस्ता कुनै पनि खाले राष्ट्रघाती र देशघाती सम्झौता नगर्न चुरेभावर पार्टीले सरकारलाई सचेत गराएको छ । तराईको हुलाकी मार्ग समयमा छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाई छ ।
 
चुरेभावरसँग विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेका अध्यक्ष न्यौपानेले भने, ‘हाम्रा मागलाई बेवास्ता गरेर संविधान संशोधन भएमा त्यसका विरुद्ध सशक्त सडक आन्दोलन गर्ने छौँ । सरकारलाई घुँडा टेकाउन बाध्य बनाउने छौँ ।’पत्रकार सम्मेलनमा चुरेभावर पार्टीका सचिव उमेश पराजुली, कोषाध्यक्ष बिदुरप्रसाद घिमिरे, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ