arrow

ऋगेन्द्र नेपाली गिरी : सामाजिक अभियन्तादेखि चुनावी मैदानसम्म

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
Rigendra nepali giri.jpg

पोखरा । कास्की क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचनमा होमिएका सामाजिक अभियन्ता ऋगेन्द्र नेपाली गिरी यतिबेला आफैँले देखेका जनताका सामान्य आवश्यकताका एजेण्डा बोकेर घैरदैलो अभियानमा सक्रिय छन् । 

शिरमा गोर्खे क्रस खुकुरी अंकित कालो टोपी लगाएर यतिबेला उनी कास्की निर्वाचन क्षेत्र नं. २ का मतदाता भेटघाटमा दिन रात नभनि खटिएका छन् । शनिबारसम्ममा उनले आफ्नो निर्वाचन क्षेत्रका करिब ७० प्रतिशत मतदाता भेटिसकेका छन् । 

गिरीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग गर्नुपर्ने, गाँजा खेती वैधानिक गर्नुपर्ने आवाज धेरै पहिलेदेखि नै उठाउँदै आएका थिए । साथै उनले युवाहरु विदेश पलायन हुनुबाट रोक्नुपर्ने अभियानसमेत चलाइरहेका थिए । यिनै अभियान र आवाजलाई सडकदेखि सदनसम्म उठाउन र अभियान सार्थक बनाउन चुनावी मैदानमा ओर्लिएको गिरी बताउँछन् । 

कास्की-२ मा गिरीसहित १६ जना प्रतिस्पर्धामा छन् । अधिकांश उम्मेद्वारले राष्ट्रिय राजनीतिका मुद्धा उठाएर चुनावी मैदानमा छन् तर उनले जनतालाई दैनिक जीवनका सामान्य आवश्यकताका विषयलाई आफ्ना मुख्य एजेण्डा बनाएका छन् । 

‘जनतालाई ठूला सपना चाहिएकै छैन । आधारभूत आवश्यकता पूरा भए हुन्छ’, घरदैलोका क्रममा भेटिएका गिरी भन्छन्,‘जनतालाई ठूला सपना बाडेर पूरा नगर्नु भन्दा सामान्य कुरा भनेर पूरा गरिदिनु राम्रो हुन्छ ।’
 
निर्वाचनमा आफ्नो राम्रो माहोल बन्दै गएको र जनताले परिवर्तनका लागि सोच र भोट बदल्नैपर्ने उनको धारणा  छ । ‘युवा र स्वतन्त्र आउँदैमा परिवर्तन भइहाल्ने होइन’, उनी भन्छन्, ‘राजनीति युवासँग जोडेर मात्रै परिवर्तन हुन्छ भन्ने होइन, उत्पादनशील युवासँग जोड्नुपर्छ ।’ तर युवा सधैँ उत्पादनशील हुने विश्वास उनको छ । अबको राजनीतिमा युवाको हस्तक्षेप हुनुपर्नेमा उनको जोड छ ।

‘नेपाल बन्छ, जब नेपालमै बन्छ’ नाराका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका उनका मुख्य एजेण्डा नेपालमै उत्पादित वस्तुको प्रयोग गर्ने र रोजगारीका लागि विदेशिरहेका युवालाई रोक्ने छन् । अहिले जनतालाई सामान्य कुराहरु चाहिएकाले जहाज, पानीजहाज, रेललगायत जनताले नचाहेको बुझाइ उनको छ ।

उम्मेद्वार गिरी भन्छन्, ‘विकासका लागि निःशर्त भौतिक पूर्वाधारको विकास आवश्यक छ, तर त्योभन्दा पहिले जनताले दिनहूँ भोगिरहेका सास्तीको अन्त्य हो । ‘जनताले सामान्य विकास चाहेका छन्, रेल होइन, नगरपालिका आउँदा सहज काम होस्, मन्त्रालयमा अल्झिरहेका फाइलहरु किन अल्झिरहेका छन् भन्ने जानकारी होस् यस्तै सामान्य झन्झटको अन्त्य प्रमुख एजेण्डा हो’, उनले भने ।

अहिलेका राजनीतिक दलका कारण जनताहरु मास फ्रस्टेसनमा गएको भन्दै उसनले पुराना दलबाट परिवर्तनको अपेक्षा गर्न नसकिने स्पष्ट पारे । 

‘भोटका लागि जे पनि भनिदिने र चुनावपछि बिर्सिएर राष्ट्रको सम्पत्ति दोहन गर्ने परिपाटीको विकास भएको भन्दै गिरीले यस्तो गलत संस्कृतिको विरुद्ध आफू चुनावी मैदानमा ओर्लिएको बताए । 

स्थानीय स्रोतसाधनको प्रयोग स्थानीय स्तरमै गर्नुपर्ने उनको भनाइ छ । ‘मैले सामान्य पढलेख गर्नसक्नेदेखि पीएचडी गरेकासम्म सबैले बुझ्ने सरल भाषामा एजेण्डा बनाएको छु’, उनले भने । ती एजेण्डा हेरेर एजेण्डालाई जनताले भोट गरुन् भन्ने आफ्नो चाहना रहेको उनले सुनाए । 

अहिले राजनीतिक पहुँचको आधारमा जंगल, पानी र सार्वजनिक स्थल सबैको दोहन भएको बताउँदै तिनको जनताले नै विवेकपूर्ण तरिकाले प्रयोग गर्नेगरी कानून निर्माण गर्न आवाज उठाउने उनले स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ