अहिले भइरहेको समितिका प्रतिवेदनहरूमाथि भएका छेडखानीहरू त्यो त्यस्तै हो
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
684
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय विरोधी भाषण दिएका छन् । संसदीय प्रणालीअनुसार नै तीन पटक प्रधानमन्त्री भएका प्रचण्डले संसदीय व्यवस्थाको विरोध गरेका हुन् ।
सशस्त्र विद्रोही भूमिगत आन्दोलन गरेर शान्ति प्रक्रियामार्फत मूलधारको राजनीतिमा आएपछि भएको संविधान सभाको पहिलो निर्वाचनमा पहिलो दल बनेको माओवादी अहिले जनताका काम गर्नुभन्दा आफ्नो स्वार्थमा लागेर त्यसपछिका चुनावमा तेस्रो दलमा धकेलिएको छ ।
त्यही पार्टीका सदावहार अध्यक्ष एवं नेपाली राजनीतिका जिम्मेवार नेता प्रचण्डले बिहीबार काठमाडौँमा भएको कार्यक्रममा संसदीय प्रणालीको अपमान गरेका हुन् । पछिल्लो समय गणतन्त्र खतरामा परेको चर्चा चलिरहँदा उनले संसदीय व्यवस्थालाई 'खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने' प्रणालीको संज्ञा दिएका छन्। समाजवादी दर्शनको रूपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
अध्यक्ष प्रचण्डले जनवादी क्रान्तिको क्रममा माक्र्सवादको प्रचार गर्दा संसदीय व्यवस्थालाई 'खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम' भनेर खुब प्रचार गरिएको स्मरण गरे। अहिले संसदीय समितिमा भइरहेका गतिविधिहरु त्यस्तै रहेको उनको जिकिर थियो। निजामती विधेयकमा 'कुलिङ पिरियड' बारे बोल्दै उनले देखाउँदा खसीको टाउको देखाइएको तर बेच्दा कुकुरको मासु बेचेको जस्तो रहेको टिप्पणी गरे।
उनले भने, "अहिले तपाईं हामी हेर्यौँ भने संविधानमा निर्दिष्ट गरेका मूलभूत मान्यतालाई इमान्दारिताका साथ प्रयोग गर्ने एउटा विचार, एउटा प्रवृत्ति छ भने अर्को संविधानमा भएका सबै सकारात्मक, प्रगतिशील र लोकप्रिय चिज उल्ट्याउने र त्यसलाई यही प्रतिक्रियावादी अनुकूल बनाउने कसरत वा लडाईं चलिरहेको छ।" उनले थपे, "अहिले जे भइरहेको देखिन्छ, अघि ईश्वरचन्द्रजीले भन्नुभयो नि, अहिले भइरहेको समितिका प्रतिवेदनहरूमाथि भएका छेडखानीहरू त्यो त्यस्तै हो। देखाउँदा खसीको टाउको देखाइएको छ लोकतन्त्र, बेच्दाखेरी कुकुरको मासु बेच्ने गरिएको छ भित्रभित्रै। त्यस्तै चिज चलिराखेकै छ।"
आफू सरकारमा रहँदा प्रत्येक पटक समाजवादतर्फ नै लैजाने प्रयास गरेको दाहालले दाबी गरे। उनले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको दाबी गर्दै नेपाली समाज अब समाजवादी क्रान्तिको चरणमा पुगेको बताए। समाजवादको जग बसाल्न कम्युनिष्टहरूले नै सुरु गर्नुपर्ने उनको भनाइ थियो।