arrow

नाकाबन्दीले जनस्तरको सम्बन्धमा चोटः महामन्त्री सिटौला

logo
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार
krishna-sitoula.jpg.jpeg
भक्तपुर। नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भारतले गरेको नाकाबन्दीले नेपाल र भारत दुई देशबीचको सम्बन्धमा तुषारापात भएको बताउँदै यसले दुइ देशबीचको जनस्तरको सम्बन्धमा पुगेको चोट निको पार्न निकै समय लाग्ने धारणा राख्नु भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) कर्मचारी सङ्घको पाँचौ केन्द्रीय महाधिवेशनको आज उद्घाटन कार्यक्रममा उहाँले मधेस केन्द्रित दलले सीमा नाकामा धर्ना दिनु राष्ट्रवादी सोच नभएको उल्लेख गर्नु भयो ।
 
महामन्त्री सिटौलाले भन्नुभयो, “जनतालाई दुःख दिएर राजनीति गर्नु हुँदैन, आन्दोलनका नाममा मधेस केन्द्रित दलले जनतालाई दुःख दिएर चुकेका छन् ।” नेपालको राजनीतिलाई एकताबद्व गरेर लैजानु अहिलेको राष्ट्रिय चुनौती रहेको औँल्याउँदै महामन्त्री सिटौलाले विभिन्न राजनीतिक धारकाबीचमा देश रहेकाले यी सबैलाई एकताबद्ध गरेर लैजानुपर्ने बताउनुभयो।
 
उहाँले द्रुतगतिमा संविधानको कार्यान्वयन गर्न नसके मुलुकको आर्थिक समृद्धिमा बाधा पुग्ने धारणा राख्नु भयो। त्यस अवसरमा काँग्रेसका नेता तथा सभासद् बद्री पाण्डेले ट्रेड युनियनलाई राजनीतिक दलले दुरुपयोग गर्ने गरेको बताउँदै यसलाई नियमन गरी व्यवस्थित र मर्यादित बनाउनु आवश्यक रहेको बताउनुभयो।
 
सङ्घका अध्यक्ष देवदत्त बडूको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, सिटीइभिटीका सदस्य सचिव रामहरि लामिछाने, नेपाल छापाखाना मजदुर सङ्घका अध्यक्ष सुवर्णजङ्ग सिजापति, कर्मचारी सङ्घका पूर्वअध्यक्ष कमल पण्डित, काँग्रेस भक्तपुरका सभापति गणेशमान चक्रधरलगायतले महाधिवेशनको सफलताको कामना गर्नुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ