arrow

महङ्गीबाट जनतालाई बचाउने कार्यक्रम ल्याउन दबाब दिन्छु : भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
durgadatta bhandari.jpg

पोखरा । नेकपा (माओवादी केन्द्र) का नेता एवं कास्की क्षेत्र नं. ३ (क) का उम्मेद्वार दुर्गादत्त भण्डारीले मूल्य वृद्धि नियन्त्रण र जनताको जीवन सहज बनाउन सरकारलाई दवाव दिने प्रतिवद्धता जनाएका छन् ।

पोखरा महानगरपालिका वडा नं १ र २ का मतदातासंगको भेटघाटमा भण्डारीले आफू विजयी भएर गएपछि प्रदेश सरकारसँग जनतालाई राहतमूलक कार्यक्रम ल्याउन दवाव दिने स्पष्ट पारे । 

मतदाताले बढ्दो महङ्गीले जीवन कष्टकर बनेका, खाद्यान्नदेखि लत्ताकपडा सबैमा मूल्य वृद्धि भएको गुनासो गरेपछि उम्मेद्वार भण्डारीले भने, ‘साँच्चै महङ्गीले जनताको ढाड सेकेको छ । म पनि सामान्य परिवारको मान्छे भएकाले गहिरो अनुभूति भएको छ । हामी विजयी भएर गइसकेपछि मूल्यवृद्धि रोक्न र जनतालाई महङ्गीबाट राहत दिने कार्यक्रम सरकारबाट ल्याउन लाग्नेछु ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न कारणले जनताको जीवन असहज हुने गरी बढेको मूल्य वृद्धि भएको भन्दै उनले यसले न्यून आय भएका नागरिकलाई हातमुख जोर्नसमेत धौधौ परेको आफूलाई राम्रो अनुभूति भएको स्पष्ट पारे ।

उम्मेदवार भण्डारीले पाँच वर्ष स्थिर सरकार बनाएर विकास र समृद्धिको नेतृत्व गठबन्धनले गर्ने बताए । उनले अबको युग समृद्धिको युग बन्ने उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहमा गठबन्धनको सरकार बन्ने र सो सरकारले समृद्धि सहित सुशासन दिने स्पष्ट पारे । 
भण्डारीले बाग्लुङ बसपार्कको स्तरोन्नति, प्राचीन मौलिक घर तथा मठमन्दिरको संरक्षण लगायतका कामको नेतृत्व आफूले गर्ने बताए । 

उम्मेदवार भण्डारीसहितको गठबन्धनको टोलीले बागबजार, ट्याक्सीचोक, नयाँगल्ली, मिरुवा, विन्ध्यवासिनी लगायतका स्थानमा घरदैलो गर्दै सुशासन र विकासका लागि मत दिएर विजयी गराउन आग्रह गरेको थियो । 



नयाँ