arrow

किन डराउँदैछन् मोरङका एमाले नेताहरु पर्शुराम बस्नेतसँग ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
parshuram-basnet.jpg
तस्बिर – फाइल ।

विराटनगर । विराटनगरमा डनगिरीबाट उदाएका पर्शुराम बस्नेत सांसद बन्ने योजनासाथ मोरङ क्षेत्र नम्बर ६ (ख) बाट प्रदेशसभातर्फ उम्मेदवार बनेपछि विराटनगरमा फेरि गुण्डाराज मौलाउने हो कि भन्ने त्रास छाउन थालेको स्थानीयको बुझाइ छ । 

एमाले–जसपा तालमेलबाट उम्मेदवार बनाइएका राजेन्दप्रसाद गुप्तालाई समर्थन नगरी एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिकट लिएर जबर्जस्ती उम्मेदवार बनेका बस्नेत यतिबेला प्रदेश नं १ को समृद्धिको लागि आफूलाई भोट हाल्न भन्दै जनताको घरदैलोमा पुगिरहेका छन् । 

तर उनको यो अभियानले विराटनगरको राजनैतिक, औद्योगिक, व्यापारिक, शैक्षिक र सामाजिक क्षेत्र तरंगित बनेको छ । विराटनगर महागनरबासीले प्रश्न गर्न थालेका छन्, ‘के विराटनगरमा फेरि डनगिरी र दादागिरीको राज स्थापित गर्ने हो ?’

पर्शुराम प्रवृत्तिका कारण विराटनगरले एक दशकसम्म बद्नामी मात्र कमाएको विराटनगर ११ का सञ्जय यादव बताउँछन् । उनले भने, ‘धाकधम्की, चन्दा अशुली, अपहरण र पत्रकारमाथि कुटपिट गर्ने उम्मेदवारलाई जिताइयो भने के होला भन्ने आम रुपमा प्रश्न उब्जिएको छ । त्यसैले हामी मतदानमार्फत पर्शुराम प्रवृत्तिलाई सबक सिकाउने तयारी गरिरहेका छौं ।’ 

विराटनगरमा आपराधिक गतिविधिको जग बसाउने कार्यमा पर्शुरामको अह्म भूमिका रहेको देखिन्छ । उनले आद्योगिक र व्यापारिक क्षेत्रलाईसमेत धाकधम्की दिएर असुली धन्दा चलाउने गरेको व्यापारीहरु बताउँछन् । 

बस्नेतलाई एमालेले टिकट दिएसँगै पार्टी कार्यकर्ताहरुको ठूलो पंक्ति रुष्ट बनेको छ । ‘इमान्दार, निष्ठावान नेता कार्यकर्तालाई पाखा लगाउँदै बस्नेत उम्मेदवार बन्न पुग्दा एमालेको सैद्धान्तिक र नैतिक इतिहाससमेत डग्मगाएको छ,’ एमालेका एक जिल्ला नेताले भने । 

पार्टीभित्रबाट खुलेर विरोध गर्ने साहस नभए पनि जनस्तरबाट भने ‘बस्नेतलाई मतदान गर्नु भनेको आपराधिक गतिविधि र गुण्डागर्दीलाई अनुमोदन गर्नु हो’ भन्ने सन्देश गएको ती नेताले बताए । 

पत्रकार कुटपिट घटनामा मुख्य योजनाकार पर्शुराम बस्नेत, संलग्न रोहित कोइराला र मनोजसिंह राईलाई विपक्षी बनाई पत्रकार महासंघ मोरङले प्रहरीमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको थियो । 

पर्शुराम र उनको समूहको संलग्नता पछिल्लो समय मिटर ब्याजदेखि अवैध हुण्डी कारोबारसम्म फैलिएको छ । 

‘अपराधको आफ्नो जालोलाई विस्तार गर्न उनी प्रदेश सभामा निर्वाचित भई  नीतिगत र संरचनागत रुपमा दह्रो बन्न चाहेको देखिन्छ’ एमालेका ती नेताले भने । 

आफूविरुद्ध समाचार बनाएको भन्दै पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गरेको अभियोग लागेका बस्नेतलाई संसदमा पुर्याउनु भनेको ‘संसदीय गरिमाको उपहास’ भएको मोरङका बुद्धिजिवी उन्नत निरौला बताउँछन् । 

उनले भने, ‘पछिल्लो समय विराटनगरको गिर्दो राजनीतिक र औद्योगिक साखलाई पुनःजीवित गर्ने हो भने पर्शुरामलाई हराउनै पर्छ ।’

२०६९ बैशाखमा मोरङ युथफोर्सको अध्यक्ष रहँदा बस्नेतको अपराध चरममा थियो । पत्रकार ढकालमाथि आक्रमण गराएसँगै विराटनगरले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बद्नामी कमाएको थियो । 

त्यसको क्षतिपूर्ति अझै हुन सकेको छैन । तत्कालीन अवस्थामा नेपाल पत्रकार महासंघकाले रिपोर्टले समेत बस्नेतलाई पूर्वाञ्चलकै गुण्डाराजको रुपमा चित्रित गरेको थियो । 

मिटर ब्याजको कालोधन्दा 
पत्रकार आक्रमण घटनामा युथफोर्सका अध्यक्ष महेश बस्नेत र केपी ओलीको दवावमा उनलाई पक्राउ परेको ७२ घण्टा नबित्दै छुटाइएको थियो । 

घटनाका मुख्य दोषीलाई उन्मुक्ति दिएको भन्दै देशैभरिका पत्रकार आन्दोलित भएपछि बस्नेत एक वर्षसम्म फरार रहेका थिए । झण्डै एक वर्षपछि जिल्ला अदालत मोरङमा बस्नेतले आत्मसमर्पण गरेका थिए ।

ढकाललाई अपहरण गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा संलग्न अन्य दुई जनालाई अदालतले कैद सजायको फैसला गरेको थियो । मोरङका मुख्य न्यायाधीश चण्डीप्रसाद ढकालको इजलासले अभियुक्तहरु मनोजसिंह राईलाई पाँच वर्ष र सर्वाेच्चबाट सादा तारेखमा छाडिएका रोहित कोइरालालाई छ महिना कैद सजाय गरेको थियो । 

विराटनगर अदालतले घटनाको योजनाकार भनिएका परशुराम बस्नेतलाई भने सफाई दिएको थियो ।

पछिल्लो समय विराटनगरमा हुने गरेको मिटरब्याजको अपराधमा समेत बस्नेतको संलग्ना देखिएको छ । 

उनले समूह परिचालन गरेर मिटर ब्याजमा पैसा लगानी गर्ने र असुलीको धन्दा संचालन गरिरहेका छन् । 

दुई साताअघि पर्शुरामकै सहयोगीले मिटरब्याजको रकम नदिएको भन्दै विराटनगरका युवालाई घरमा थुनेर कुटपिट गरेका थिए ।

पर्शुरामले कान्छी श्रीमती अञ्जु सिंहलाई कागजातमा गलफ्दी गरेर सम्पत्तीबाट समेत बेदखल गरिदिएका छन् । अहिले उनी अलग्गै बसेकी छिन् । बस्नेत भने जेठी श्रीमतीको साथमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ