- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । मंसिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नं. १ ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् ।
बुधवार घरदैलोका क्रममा गुरुङहरुको आदिम थलोको रुपमा परिचित क्होला सोंथरको संरक्षण र प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरे । निर्वाचित भएपछि उनले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण रहेको क्होला सोंथरलाई विश्व सम्पदा सूची राख्न पहल गर्ने बताए ।
‘क्होला सोंथर हाम्रो पैतृक थलो हो। यसलाई हामीले नै जोगाउनु पर्छ । मलाई जिताउनु भयो भने संसदमा होस् या सरकारमा सम्पूर्ण गुरुङहरुको प्रतिनिधित्व गर्दै यसलाई जोगाउन विशेष पहल गर्ने छु ।’ उनले भने, ‘ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपले मात्र हैन, पर्यटकीय दृष्टिकोणबाट पनि निकै महत्वपूर्ण छ । यसलाई हामीले जोगाएर संसारसामु चिनाउन सक्यौं भने यस क्षेत्रमा पर्यटकको ओइरो लाग्छ ।’
उनले १२ औं शताव्दीसम्मको इतिहास क्होला सोंथरमा फेला परेको भन्दै क्होलाको बारेमा भएको अलिखित इतिहासहरुको खोजी गर्ने र यसलाई लिपिबद्ध गर्ने प्रतिवद्धता जनाए । उनले आफू मादीगाउँपालिकाको प्रमुखको रुपमा काम गर्दा क्होला सोंथरको प्रवर्द्धनमा काम गरेको सुनाए । मादी गाउँपालिका वडा नं २ ताङतिङ हुँदै तमुहरुको सभ्यता संस्कृति जोडिएको त्यस स्थलसम्म पुग्ने १० किलोमिटर मोटरबाटो खनेको जनाए ।
उनले संघीय सांसद खगराज अधिकारीको विशेष पहलमा करिव ७० लाखको बजेटमा पहिलो चरणको ट्रयाक खोलेको र अब बाँकी काम पनि सम्पन्न गर्न एमालेलाई नै जिताउनु पर्ने कुरा बताए ।
उनले क्होला सोंथरसंगै यस क्षेत्रका धार्मिक, र्सास्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु, मठमन्दिर, कोइबु धिं, गुम्बा, मस्जिद, गिर्जाघर, कोट, तिर्थस्थल आदिको संरक्षण र प्रवर्धन गर्ने कुरा जनाए । उनले पोखरा-१३ मा कुँडहरमा एकीकृत मुस्लिम धार्मिक क्षेत्र परियोजना सम्पन्न गर्ने वाचा समेत गरे ।
अर्को प्रसङ्गमा उनले आफ्नो निर्वाचन क्षेत्रको सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार निर्माण, नीति निर्माणमा महत्वपूर्ण काम गर्ने बताए । निर्वाचित भएपछि सबै उमेर समूह, जाति, भूगोल अनि वर्गलाई समेटने योजना आफूसंग भएको सुनाए ।
यस्तै, उनले देशलाई विकासको बाटोमा हिडाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताए । उनले आफूले मादीको अध्यक्ष हुँदा नमुना गाउँपालिकाको रुपमा स्थापित गरेको दाबी गरे र अझै थुप्रै काम गर्न बाँकी रहेको बताए । ‘कसले काम गरेको छ ? कसले गरेको छैन ? त्यो जनताले पहिचान गरेर मत हाल्नु पर्छ’, उनले भने ।
बुधबार उनले पोखरा-१३ र १४ का विभिन्न स्थानहरुका मतदाता माँझ पुगेर सूर्य चिन्हमा मत मागेका छन् । नेकपा एमालेले कास्की-१ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।
नेकपा एमालेले कास्की क्षेत्र नं. १ बाट प्रतिनिधि सभातर्फ जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, प्रदेश ‘क’ तर्फ खगराज अधिकारी र ‘ख’ तर्फ वेदबहादुर गुरुङ श्यामलाई उठाएको छ ।