arrow

गरिब जनताको पक्षमा उभिन्छौं, १० हजार विपन्न परिवारको घर बनाइदिने लक्ष्य छ- बानियाँ

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ मंसिर १ बिहिबार
indra-baniya-2079.jpg

मकवानपुर ।  नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले लोकतान्त्रिक बाम गठबन्धन मुलुकमा विकास र समृद्धिको लागि आवश्यक भएको भन्दै गठबन्धन सधै गरिब निमुखा जनताको पक्षमा उभिने बताएका छन् ।

बुधबार कैलाश गाउँपालिका ६ नम्बर वडाको पकनीमा भएको चुनावी भेलामा बोल्दै बानियाँले जनताको उन्नति रोजगारका साथै उनीहरुको अवस्था सुधार्न लोकतान्त्रिक वाम गठबन्धनको सरकार बन्नु जरुरी रहेको बताए ।

‘लामो संघर्षबाट मुलुकको व्यवस्था बदल्यौं अब जनताको अवस्था बदल्ने बेला आइसकेको छ । अब लोकतान्त्रिक बाम गठबन्धनको नेतृत्वमा बन्ने सरकारले गाउँमुखी, गरिबमुखी, न्यायमुखी भए जनताको स्वास्थ्य, शिक्षा, रोजगारका साथै विकास निर्माणमा लाग्नेछ’, बानियाँले भने ।

नेकपा एमाले मुलुकको वर्तमान व्यवस्थाको विरुद्धमा रहेको भन्दै आगामी निर्वाचनबाट जनताले त्यस्तो शक्तिलाई परास्त गर्नेमा विश्वस्त रहेको बताए । ‘अबको निर्वाचन भनेको ब्यवस्था मास्ने र बचाउने बीचको लडाइँ हो । गरिब र गरिबी घटाउने उद्देश्य बोकेको लोकतान्त्रिक वाम गठबन्धनलाई जनताले अत्याधिक मत दिन्छन् भन्नेमा हामी ढुक्क छौं’, बानियाँले भने ।

एमाले नेतृत्वको प्रदेश सरकार हुँदा विकट गाउँमा विकासलाई बेवास्ता गरिएको भन्दै बानियाँले लोकतान्त्रिक वाम गठबन्धनको सरकार आएपछि १० महिनाकै अवधिमा कैलाशमा करोडौं बजेट हाल्न सफल भएको सुनाए । निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने र बागमती प्रदेशमा ५ वर्षभित्र प्रदेश रिङरोड बनाउनुका साथै १० हजार विपन्न परिवारको घर बनाइदिने मुख्य लक्ष्य लिएको पनि बानियाँले बताए ।

लोकतान्त्रिक वामगठबन्धन चुनाव प्रचारप्रसार समिति कैलाश ६ का संयोजक ठूलोकान्छा लामाको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवापुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभ सदस्य उम्मेदवार विरोध खतिवडा, माओवादी केन्द्र बागमती प्रदेश सदस्य ओमबहादुर घलान, माओवादी केन्द्र बागमती प्रदेश सदस्य सीता पुलामी, नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का सभापति लोक मुक्तान, एकीकृत समाजवादी मकवानपुर २ (ख) का संयोजक टंकबहादुर मुक्तानलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमकैबीच नेकपा एमालेनिकट युवा संघका जिल्ला सदस्य धनराज मुक्तानको नेतृत्वमा २१ जना कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रदेश सभापति बानियाँले नवप्रवेशीलाई सदस्यता दिँदै पार्टीमा स्वागत गरेका थिए । सभामा राष्ट्रिय कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ