पोखरा । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन तरुण दलको आगामी असोज ३, ४ र ५ गते पोखरामा हुने चौथो राष्ट्रिय महाधिवेशनका लागि स्थानीय व्यवस्थापन समिति गठन भएको छ । यो संगै आन्तरिक व्यवस्थापन समेत तीब्र पारिएको छ ।
तरुण दल कास्कीको सोमबार बसेको बैठकले जिल्ला अध्यक्ष मनोज गुरुङको संयोजकत्वमा विभिन्न १८ वटा स्थानीय व्यवस्थापन समिति गठन गरेको हो ।
कास्कीमा चारवटा निर्वाचन क्षेत्रअन्तर्गत तरुण दल समिति, पोखरा र लेखनाथका नगर समिति तथा वडा र गाविस गरी ७९ वटा एकाइ समिति छन् ।
बैठकमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र तरुण दलका केन्द्रीय सदस्य ऋषिराम काफ्ले समेत उपस्थित थिए ।
तरुण दलका अध्यक्ष उदय शमशेर राणाका अनुसार ५५ बढी जिल्लाको अधिवेशन सम्पन्न भैसकेको र भदौ मसान्तसम्म सबै जिल्लाको अधिवेशन सकिने बताएका छन् । उनले अघिल्लो अधिवेशनमा ६५ जिल्लाको अधिवेशन सकिएको बेलामा पनि महाधिवेशन भएको स्मरण गर्दै भदौ मसान्तसम्म जति सकिन्छ त्यसैलाई आधार मानेर महाधिवेशनमा जाने समेत सुनाएका छन् ।
निर्वाचन भएका जिल्लामा निर्वाचन गरिने तथा नभएका जिल्लालाई त्यत्तिकै छाडेर महाधिवेशनमा जाने उनको भनाई छ । सङ्गठनभित्र देखिएको विवाद मिलाउन दलले अध्यक्ष राणाको अध्यक्षतामा पाँच सदस्यीय समिति समेत बनाएको छ ।