arrow

म्यादीसहित प्रदेश १ मा चुनावमा ३१ हजार बढी सुरक्षाकर्मी परिचालन 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
security-province-1-election-2079.jpg

मोरङ । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा प्रदेश १ मा नेपाल प्रहरी र म्यादी गरी ३१ हजार १ सय २२ जना प्रहरी परिचालन भएका छन् ।  निर्वाचनमा प्रहरी मात्र ११ हजार १ सय ५६ र म्यादी प्रहरी १९ हजार ९ सय ६६ जना परिचालन भएको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । 

नेपाल प्रहरी र म्यादीबाहेक सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन भएका छन् । प्रदेशमा निर्वाचनमा ४ सय ३८ वटा मतदान स्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषण गरिएको छ । 

स्थानीय तहको निर्वाचनमा भन्दा सङ्घ र प्रदेशको निर्वाचनमा मतदानस्थल बढेसँगै संवेदनशील स्थलहरू पनि बढेको जिल्ला सुरक्षा निकायले विश्लेषण गरेको हो ।

जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरणअनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ९९ मतदान केन्द्र र १ हजार ८ सय ९७ मतदानस्थलमध्ये ४ सय ३८ मतदानस्थल अति संवेदनशील वर्गीकरण गरिएको एसपी राईले जानकारी दिए । प्रदेशमा ८ सय २४ मतदानस्थल संवेदनशील र ६ सय ३५ मतदानस्थल सामान्य रहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेशको सबैभन्दा बढी झापामा मतदानस्थल ‘अति संवेदनशील’ रहेको छ । झापापछि मोरङ र सुनसरीको मतदानस्थल सुरक्षा निकायले अति संवेदनशील विश्लेषण गरी त्यहीअनुसार सुरक्षा रणनीति अपनाएको छ । 

तराईका जिल्लाहरू भारतसँग सीमा जोडिएको स्थानीय तहहरूको मतदानस्थलहरू सुरक्षा निकायले अति संवेदनशीलमा राखेर सुरक्षा योजना अगाडि बढाएको हो । ७ सय ६६ मतदान केन्द्र र २ सय ८५ मतदानस्थल रहेको झापामा ९५ मतदानस्थल अति संवेदनशील सूचीमा राखेको छ । यस्तै १ सय ४४ संवेदनशील र ४६ सामान्य रहेको छ ।

झापापछि दोस्रोमा सबैभन्दा बढी निर्वाचन क्षेत्र र स्थानीय तह रहेको मोरङमा ५० वटा मतदानस्थल अति संवेदनशील रहेको छ । ८ सय ३९ वटा मतदान केन्द्र र ३ सय ६ वटा मतदानस्थल रहेको मोरङमा संवेदनशील १ सय ४४ र १ सय १२ वटा सामान्य रहेको छ । 

मोरङको अति संवेदनशील सूचीमा राखेको मतदानस्थलमध्ये विराटनगरको दक्षिणीभेगमा पर्ने ९ वटा मतदानस्थल अति संवेदनशीलमा सुरक्षा निकायले राखेको छ ।

रङ्गेली, धनपालथान, रतुवामाई, सुनवर्षी र केराबारी क्षेत्रको मतदानस्थललाई पनि सुरक्षा निकायले अति संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा योजना अगाडि बढाएको छ । 

५ सय ९१ मतदान केन्द्र र १ सय ६६ मतदानस्थल रहेको सुनसरीमा ५९ अति संवेदनशील, ६५ संवेदनशील र ४२ सामान्य रहेको प्रहरीले जनाएको छ । यस्तै धनकुटा १६, उदयपुर २१, इलाम ३६, पाँचथर ३४, भोजपुर ३३, खोटाङ ४०, ओखलढुङ्गा १३, खोलुखुम्बु ११, सङ्खुवासभा ७ र ताप्लेजुङ २३ मतदानस्थल अति संवेदनशील रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ