arrow

विद्यार्थी संगठनले भारत जान लागेका प्रधानमन्त्रीलाई के भने ? (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
student-news.jpeg
काठमाडौं । भारत भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हित विपरीत कुनै पनि सन्धि सम्झौता नगर्न विद्यार्थी संगठनहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 
 
विपक्षी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले महत्वपूर्ण आठ वटा निर्णय गरेको छ । 
 
प्रधानमन्त्रीको भारत भ्रमण र अहिले बजारमा भइरको नेपाली भाषाको बहसबारे पनि छलफल गरेको छ । यस्तै बैठकले निर्धारित समयमै स्ववियु निर्वाचन गराउन सम्पूर्ण विद्यार्थी संगठनहरुबीच समान धारणा बनाई निर्वाचन गर्न विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराइएको विद्यार्थी नेताहरुले बताएका छन् । 
 
यस्तै बैठकले सर्टिफिकेटका आधारमा क्रण प्राप्त गर्ने ऐतिहासिक उपलब्धिलाई आवश्यक कार्यविधिहरु यथाशिघ्र निर्माण गरी पूर्ण कार्यान्वयनमा लैजान पनि सरकारको ध्यानाकर्षण गराएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । 
 
मेडिकल शिक्षा सर्वसुलभ–गुणस्तरीय बनाउन, नेपाली भाषामा भित्रिएको वर्णविन्यास विवाद अन्त्य गर्न र सामाजिक सञ्जालमा देखा परेका अवाञ्छित गतिविधिहरु तथा साम्प्रदायिकता भड्काउने खालका गतिविधि रोक्न कानूनी कडाई गर्न विद्यार्थीहरुले माग गरेका छन् । 
 
बैठकमा अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, तराई मधेश विद्यार्थी फ्रन्टलगायतका संगठन सहभागि थिए ।   
 
संयुक्त प्रेश बिज्ञप्ति
मितिः २०७३।०५।२७
संयुक्त विद्यार्थी संगठनको वैठक अनेरास्ववियु केन्द्रीय कार्यालय, बागबजारमा अनेरास्ववियुका अध्यक्ष क. नविना लामाको अध्यक्षतामा बस्यो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र तराई मधेश विद्यार्थी फ्रन्टको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिई बैठक प्रारम्भ भयो । बैठकमा प्रधानमन्त्रीको आशन्न भारत भ्रमण लगायत समसामयिक सवालहरु, स्ववियु निर्वाचन, सर्टिफिकेटको आधारमा ऋणको दिने निर्णयको कार्यान्वयन, नेपाली भाषाको नयाँ बर्णविन्यास र त्यसले उत्पन्न समस्या, मेडिकल शिक्षामा संविधान प्रदत्त समावेशी आवधारणा, अन्र्तसंगठन छात्रा सञ्जाल र सामाजिक सञ्जालमा हुने गरेको असभ्य गाली गलौज लगायत विषयहरुमा छलफल भई निम्न निर्णयहरु गरिएको छ । 
 
निर्णय नं. १ :
आसन्न भारत भ्रमणको क्रममा नेपाल र नेपाली जनताको हित विपरित कुनै पनि सन्धि संझौता वा निर्णयहरु नगर्न बैठकले सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । भ्रमणलाई फलदायी र उपलब्धिमुलक बनाउन अनुरोध समेत गरिएको छ । 
 
निर्णय नं. २ :
विद्यार्थी आन्दोलनले विगतमा हासिल गरेका उपलब्धिहरुको कार्यान्वयनमा जोड दिने, नजिकिदै गरेका ठूला चाडपर्वहरुमा सहज आपूर्तिको व्यवस्था मिलाउने, महंगी-कालाबाजारी नियन्त्रणमा परिणाममुखी कदम अगाडी बढाउने, यातायात क्षेत्रमा देखिएका विकृति विसंगतिहरुको अन्त्यका निम्ती ठोस कदम चाल्ने लगायत अन्य समसाययिक जनजिविकाका सवालहरुलाइृ उदृत गर्दै सम्माननीय प्रधानमन्त्री ज्यूलाई ज्ञापन पत्र बुझाउने निर्णय गरिएको छ । 
 
निर्णय नं. ३ :  
निर्धारित मितिमा स्ववियु निर्वाचन गराउन सम्पूर्ण विद्यार्थी संगठनहरु बीच समान धारणा बनाई निर्वाचन सुनिश्चित गर्न विश्वविद्यालय र नेपाल सरकार समक्ष ध्यानाकर्षण गराइएको छ । 
 
निर्णय नं. ४ :
 
सर्टिफिकेटको आधारमा ऋण प्राप्त गर्ने ऐतिहासिक उपलब्धिलाई आवश्यक कार्यविधिहरु यथासिघ्र निर्माण गरी पूर्ण कार्यान्वयनमा लैजान नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ । 
 
निर्णय नं. ५ :
मेडिकल शिक्षा सर्वसुलभ र गुणस्तरिय बनाउन साथै संविधान प्रदत्त समावेशी अवधारणा र सर्व अदालतको आदेशलाई सम्मान गर्दै यसमा देखिएको अन्यौलता अभिलम्ब अन्त्य गरि कार्यान्वयन गर्न नेपाल सरकार सँग अनुरोध गर्ने निर्णय गरिएको छ ।
 
निर्णय नं. ६ :
नेपाली भाषामा भित्रीएको नयाँ वर्णविन्यासको विवादले आम जनमानस र विद्यार्थीहरुमा ठूलो अन्यौलता सिर्जना भएको छ । यसतर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै यस्तो अन्यौलताको यथाशिघ्र अन्त्य गर्न यस बैठकले जोडदार माग गरेको छ ।
 
निर्णय नं. ७ :
सबै विद्यार्थी संगठनहरुमा क्रियाशील छात्रा नेतृत्वको विचमा समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ “अन्तर विद्यार्थी संगठन छात्रा सञ्जाल” गठन गर्ने निर्णय गरिएको छ । 
 
निर्णय नं. ८ :
सामाजिक सञ्जालहरुमा देखा परेको अवाञ्छित गतिविधिहरु (गाली गलौज, अपशब्द र सांप्रदायिकता भडकाउने शब्दहरु) नियन्त्रणका लागि विद्युतिय अपराध सम्बधि कानून क्रियाशील बनाउन बैठकले माग गरेको छ । साथै अनेरास्ववियु अध्यक्ष क.नविना लामा प्रति लक्षित गरेर भईरहेका नकारात्मक गतिविधिहरु प्रति खेद व्यक्त गरिएको छ ।
१. नविना लामा अध्यक्ष (अनेरास्ववियु)
२. नैन सिंह महर, अध्यक्ष (ने. वि. संघ)
३. नरेन्द्र न्यौपाने, अध्यक्ष (अनेरास्ववियु क्रान्तिकारी)
४. कपलेश्वर यादव, अध्यक्ष (म. वि. फो. लोकतान्त्रीक) 
५. घनश्याम मिश्र, अध्यक्ष (अनेरास्ववियु पाँचौ)
६. मनिष मिश्र, अध्यक्ष (त.म.वि. फ्र)
७. पूर्ण सिंह, अध्यक्ष, (अखिल क्रान्तिकारी)
८. निरज लबजु, अध्यक्ष (ने. क्रा. वि. संघ)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ