arrow

सबै चिकित्सकलाई एकसाथ लिएर अघि बढ्छु : नवनिर्वाचित अध्यक्ष श्रेष्ठ

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
muktiram-shrestha.jpeg
काठमाडौँ। नेपाल चिकित्सक सङ्घका नवनिर्वाचित अध्यक्ष डा मुक्तिराम श्रेष्ठले सम्पूर्ण चिकित्सकलाई एकसाथ लिएर स्वास्थ्य पेसा र सम्पूर्ण स्वास्थ्य क्षेत्रको विकासमा अघि बढ्ने बताएका छन्।
 
सोमबार निर्वाचन समितिले राखेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित डा अध्यक्ष श्रेष्ठले चिकित्सा क्षेत्र र पेसाको गरिमालाई अझ बढाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।
 
उनले भने, ‘‘पछिल्लो समय चिकित्सा क्षेत्रमा विकृति बढेको र यसप्रतिको मर्यादा खस्कँदै गएको महसुस हुन थालेको छ। म हाम्रो पेसाप्रतिको खस्कँदो मर्यादालाई सुधार्ने प्रयासमा लाग्नेछु। अन्य विसङ्गति र विकृति हटाउँदै पेसागत हकहितका लागि सङ्घले नेतृत्वदायी भूमिका खेल्नेछ।’’ उनले निर्वाचनमा पराजित भएका सबैलाई मिलाएर हातेमालो गर्दै अघि बढ्ने बताए।
 
सङ्घका वर्तमान अध्यक्ष डा अन्जनीकुमार झाले नयाँ कार्यसमितिले अघिल्लो कार्यासमितिले गर्न नसकेको देशभर कति चिकित्सक छन्, कति विशेषज्ञ चिकित्सक छन् भन्ने तथ्याङक सङ्कलन गर्ने कार्य गर्नुपर्ने बताए। उनले नयाँ कार्यसमितिको काँधमा धेरै जिम्मेवारी आएको भन्दै चिकित्सकीय पेसाको हकहितका साथै डा केसीले उठाएका मुद्दाका विषयमा आफ्नो स्पष्ट धारणा बनाई अघि बढ्नुपर्नेमा जोड दिए।
 
पूर्वअध्यक्ष डा चोपलाल भुसालले पेसागत सङ्गठनमा चिकित्सक सङ्घ सबैभन्दा पुरानो सङ्गठन भएको उल्लेख गर्दै सङ्घले आमनागरिकलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। उनले भने, ‘‘यो गहन जिम्मेवारी हो। मुलुकको स्वास्थ्य शिक्षामा प्रमुख भूमिका निर्वाह गर्न सक्नुपर्छ।’’
 
अर्का पूर्वअध्यक्ष डा केदारनरसिहं केसीले मेडिकल क्षेत्रमा भएको विकृति–विसङ्गतिलाई सही मार्गनिर्देश गर्दै चिकित्सकको भ्रातृ संस्था भएकाले सबैलाई समेटेर लैजानुपर्ने धारणा राखे।
 
पेसागत समूहबाट निर्वाचित कोषाध्यक्ष डा रक्षा श्रेष्ठले चिकित्सक र चिकित्सा पेसाको हकहितका लागि मिलेर काम गर्ने बताए। सङ्घको पद हस्तान्तरण आगामी नोभेम्बर महिनामा धरानमा हुने सङ्घले जनाएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ