arrow

सुझाव दिने पूर्व प्रधानमन्त्रीहरुको टोलीमा ओली आएनन् बालुवाटार

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
pm-xPM-bhet.jpeg
काठमाडौं । आफ्नो आसन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गरेका छन् । 
 
सरकारी निवास बालुवाटारमा भएको छलफलमा पूर्व प्रधानमन्त्रीहरुले बदलिँदो अवस्थामा नेपाल–भारत सम्बन्धलाई अझ उचो बनाउन र विगतमा दुई देशबीच भएका विभिन्न सन्धि र सम्झौतालाई कार्यान्वयनमा उतार्न प्रम दाहाललाई सुझाव दिए ।
 
पूर्व प्रधानमन्त्रीहरुले नेपाल–भारतबीचको सम्बन्ध पूरानो र घनिष्ट रहेको भन्दै यो सम्बन्धलाई अझ बलियो बनाउँदै लैजान प्रधानमन्त्री दाहालको भ्रमण सफल रहने विश्वास व्यक्त गरे । 
 
परामर्शमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र राप्रपा नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दाहाललाई सुझाव दिए । 
 
यद्यपि, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनाल भने सहभागि भएनन् । खनाल काठमाडौं बाहिर रहेका र ओलीले आइतबार १३ बुँदे माग सहितको ६ बुँदे ध्यानाकर्षण पत्र बुझाइ सकेकाले फेरि भेट्न आवश्यक नरहेको भन्दै नआएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 
 
पूर्व प्रधानमन्त्री देउवाले भने, ‘मैले नेपाल–भारत सम्बन्धलाई बदलिँदो अवस्थामा अझ उचो बनाउने काम भारत भ्रमणमा गर्न प्रम दाहाललाई सुझाव दिएँ ।’ देउवाले विगतका दुई देशबीच भएका सहमति र सम्झौतालाई अझ प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न खाँचो रहेको बताए ।  
 
पूर्वप्रधानमन्त्री माधव नेपालले आफ्नो दलले दलीय आधारमा दाहाललाई सुझाव दिइसकेको चर्चा गर्दै नेपाली जनताको शिर उचो बनाउने काम भारत भ्रमणका क्रममा गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिनुभएको जानकारी दिए । नेपालले विगतमा नेपाल–भारतबीच सडक, यातायात, ऊर्जा क्षेत्रमा भएका सन्धि सम्झौता कार्यान्वयनमा जोड दिनुपर्छ भने । 
 
नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले आफूले लिखित रुपमा प्रम दाहाललाई दशबुँदे सुझाव दिएको सञ्चारकर्मीलाई जानकारी दिए । साउन १९ गते व्यवस्थापिका–संसद्बाट काँग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित भएका दाहालले भदौ ३० गतेबाट चार दिन भारत भ्रमणमा निस्कँदै छन् । 
 
भ्रमणका क्रममा भारतीय समकक्षी तथा राष्ट्रपतिलगायत भारतीय उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ