काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलकी नेतृ लक्ष्मी खतिवडाले राणाको ज्वाइँ हुँ भन्दैमा सभापति शेरबहादुर देउवाले तरूण दलमा राणाशासन लगाउन नपाउने चेतावनी दिएकी छिन् । देउवाले राणाशासन शैलीले तरूण दलमा तानाशाही पद्दति लागु गर्न खोजेको भन्दै केन्द्रीय सदस्य खतिवडाले त्यही शैलीलाई परिवर्तन नगरे असोज ३ गतेदेखि पोखरामा तय भएको चौथो महाधिवेशन नहुने दावी गरिन् ।
तत्कालीन सभापति सुशील कोइरालाले ६ महिनाभित्र चुनाव गर्नका लागि भन्दै ०६८ साल माघ २१ गते उदयशमशेर राणालाई तदर्थ समितिको अध्यक्ष बनाए पनि ६ महिनाभित्र चुनाव हुन नसकेका अवस्थामा अहिले आएर त्यसलाई नै आधार बनाएर तदर्थ समितिलाई चुनावमा उठ्न नदिइनु राणाशासन नै भएको तदर्थ समितिकी सदस्य खतिवडाको भनाइ छ ।
उनले तथ्य प्रस्तुत गर्दै भनिन्, ‘०६९ बैशाख २ गते हाम्रो नियुक्ति भएको थियो, ०६९ असार ८ गतेमात्र पहिलो बैठक बस्न सकेको थियो, अनि कसरी गर्न सकिन्छ त ६ महिनाभित्र चुनाव ?’
उदयशमशेर जबरालाई सुशील कोइरालाले हजारौं पटक फोन गरेर चुनाव गराउ भन्दासमेत जबराले वास्ता नदिएको भन्दै खतिवडाले तरूण दललाई सीमित नेताले मुठ्ठीमा राखेको आरोप लगाइन् । उनले तरूण दलको सदस्यता लिन पूर्व अध्यक्ष बालकृष्ण खाँडलाई सोध्नुपर्ने अवस्था रहेको भन्दै अरू कसैले चाहँदैमा आफ्ना सदस्य बढाउन नसक्ने तीतो यथार्थ पोखिन् । उनी भन्छिन्, ७० जिल्लामा जम्मा १८ हजार मात्र पूर्णकालीन सदस्य छन्, मैले चाहेर पनि मेरा मान्छेलाई सदस्यता बाँड्न सक्दिन, यो कसरी पार्टी भयो ?’
सदस्यता जति बढाउन सक्यो पार्टी त्यतिबढी सशक्त हुने भए पनि केही नेताका लागि गरिखाने ठाउँ भएकाले यसलाई तोड्न पनि विद्रोह जरूरी रहेको खतिवडाको आक्रोश छ । युवालाई चुनावमा भाग लिन पाउने अधिकारबाट वञ्चित गर्न हुँदैन भन्दै लक्ष्मी खतिवडाले नेविसंघ र महिला संघको उदाहरण दिनुभन्दा प्रतिवन्ध फुकुवा गर्नुपर्नेमा उनको जोड छ । असोज ३ गते जवरजस्ती महाधिवेशन गर्न थाल्ने हो भने धेरैजसो जिल्लाले भागै नलिने खतिवडाको दावी छ ।
नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिक मिलिसकेपछिको पहिलो महाधिवेशन हुँदै गर्दा खतिवडाले यसलाई एकताको महाधिवेशनको संज्ञा दिंदै कसैलाई काखा र कसैलाई पाखा गर्ने अधिकार पार्टी सभापति देउवालाई नभएकोसमेत उनले चेतावनी दिइन् । उनले तरूण दल पूर्णत युवाहरूको बाहुल्यता भएको स्थल भएकाले गर्दा कुनै पनि हालतमा युवाहरूलाई वञ्चित गर्न नपाइने उनले बताइन् ।
खतिवडाले पार्टी सभापति देउवालाई तरूण दललाई सशक्त बनाउन पनि एकताको सन्देश दिने हिसाबले अगाडि बढाउन अग्रह गरेकी छिन् । उनले भनिन्, ‘श्रद्धेय सभापतिले हाम्रा भावना बुझ्नु हुनेछ र चुनावमा उठ्न लगाएको प्रतिवन्ध फुकुवा गर्नुहुनेछ, अब देशमा मुख्य चुनाव हुँदैछन् त्यसका लागि तरूण दललाई पार्टीले विशेष भूमिका दिनेछ, जिम्मेवार बनाउनु हुनेछ भन्ने आशा छ ।’