काठमाडौं। नेपाली काँग्रेसका नेता तथा स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो पारिवारिक जीवनमा अनेक अनेक सुझाव आउने गरेको सार्वजनिक रुपमै अभिव्यक्त गरेका छन्। दुई छोरीका पिता थापाले आफूलाई छोराको बारेमा अनेकाअनेक सुझाव र सल्लाह प्राप्त हुने गरेको बताएका हुन्।
नेपाल महिला संघको महाधिवेशनको पूर्व सन्ध्यामा काँग्रेस नेता कृष्ण प्रसाद सिटौला सहितका नेताहरुको उपस्थितिमा काठमाडौं सभागृहमा आयोजित कार्यक्रममा नेता थापाले आफूलाई छोरा पाउनका लागि पारिवारिक नातेदार तथा राजनीतिक कार्यकर्ताहरुले पनि अनेक सुझाव दिएको बताए।
समाज र परिवारमा महिलाको महत्व र उनको शक्तिको बारेमा बोल्दै गरेका थापाले आफू आफ्नी आमा श्रमती र छोरीहरुबाट निकै नै प्रभावित भएको बताए। दाजुभाइहरुमाझ हुर्किएका थापाले आफ्नो जीवनमा महिला शक्तिको प्रभाव रहेको सुनाउन पनि भ्याए।
थापाले आफू संसारमै सबैभन्दा वढी आमासँग प्रभावित भएको बताए। उनले महिलाले पुरुषभन्दा कसरी फरक क्षमतामा काम गर्छन भन्ने कुरा आमा र श्रीमतीबाट जानेको भन्दै उपस्थित सबै महिलाप्रति सम्मान पनि व्यक्त गरे। थापाले पुरुषभन्दा महिला निकै शक्तिशाली भएको आफ्नो अनुभव र तर्क पनि राखे।
पहिलो संविधानसभाको चुनावपछि विवाह गरेका थापाले संविधानसभामै रहँदा छोरी पाए। दोस्रो संविधानसभामा हुँदा उनले दोस्रो सन्तान पनि छोरी नै पाए। दोस्रो सन्तान पनि छोरी नै पाएपछि भने उनलाई धेरैले छोरा पाउन यसो गर्नसु र उसो गर्नु भन्दै सुझाव दिदइएको बताए। यसो गरे छोरा पाइन्छ भन्दै सुझाव दिनेहरु नातेदारहरु र पार्टीकै कार्यकर्ताहरु भएको स्मरण गर्दै थापाले भने, ' नआत्तिनुस यहाँ भाकल गरे छोरा पाइन्छ। यो बाबालाई देखाए उनले छोरा पाउने उपाए बताउँछन भन्दै आफूलाई सुझाव दिनेहरु आए।'
आफ्नो जीवनमा यति धेरै बाबा र भाकल गर्ने ठाउँको बारेमा सुनेको बताउँदै उनले आफू आफ्ना दुई छोरीहरुसँगै खुसी रहेको थापाले बताए। छोरा छोरी दुबै बराबरी हुनुपर्छ भन्नुपर्नेमा संविधान लेख्दै गरेको सभासदलाई यस्तो सुझाव दिदै गर्दा समाज अझै कहाँ रहेछ भनेर आफू निकै घोत्लिएको उनले सुनाए। दुनियाँ धेरै अगाडी पुगिसक्यो तर हाम्रो समाज अझै जहिको त्यहि त छैन। थापाले यस्ता सामाजिक विषयमा महिला संघले समाज रुपान्तरणका लागि नेतृत्व गर्नुपर्ने सुझाव समेत दिए।