काठमाडौं। रियो पारा ओलम्पिकमा चीनको स्वर्ण संख्या उकालो लाग्ने क्रम सुस्ताएको छैन । मंगलबार सम्म ५३ स्वर्ण बटुलेको चीनले बुधबार १० वटा स्वर्ण थप गरेको छ ।
योसँगै ६३ स्वर्णसहित चीन पदक तालिकाको शिर्ष स्थानमा यथावत छ । यद्धपी चीनको कुल पदक संख्या भने १ सय ४७ छ । चीनको खातामा ५१ रजत र ३३ काँस्य छ । ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ मा राम्रो गर्न नसके पनि पारा ओलम्पिकमा भने चीनले तहल्का नै मच्चाइरहेको छ।
३४ स्वर्ण हात पारेको बेलायत पदक तालिकाको दोस्रो स्थानमा छ । बेलायतको पनि कुल पदक संख्या ७५ छ । उसको खातामा १८ रजत र २३ काँस्य छ । ओलम्पिक २०१६ मा पनि उत्कृष्ट प्रदर्शन गर्दे बेलायत दोस्रो भएको थियो।
त्यस्तै २७ स्वर्णसहित यूक्रेन तेस्रो स्थानमा छ । ओलम्पिक २०१६ मा भने यूक्रेनले मात्र २ स्वर्ण हात पारेको थियो ।
रियो ओलम्पिक २०१६ को ४६ स्वर्ण हात पार्दे शानदार अन्त्य गरेको अमेरिका पारा ओलम्पिकमा भने सुस्ताएको छ । मात्र २१ स्वर्ण हात पारेको अमेरिका पदक तालिकाको चौंथो स्थानमा छ ।
यस्तै १० स्वर्ण हात पारेको आयोजक ब्राजिल पाँचौं स्थानमा छ । सेप्टेम्बर ७ देखि १८ सम्म चल्ने प्रतियोगितामा २३ खेल अन्तर्गत ५ सय २८ विधालाई समेटिएको छ । प्रतियोगितामा १ सय ६० मुलुकले सहभागिता जनाएकोमा अहिलेसम्म ७८ मुलुकले पदक हात परिसकेका छन् ।