arrow

महाभारतका अनुसार कस्तो हुन्छ असल छिमेकीको व्यवहार ?

logo
डा‍‍ प्रकाश ढकाल,
प्रकाशित २०७३ भदौ २९ बुधबार
mahabharat.jpeg
काठमाडौं। राज्यको निर्माण हुनका निम्ति छिमेकी आवश्यक हुन्छ। महाभारत शान्तिपर्वमा पनि भिष्मपितामह र युधिष्ठिर बीचको संवादमा मित्रको चर्चा प्रमुख रहेको छ। राजकीय परम्परामा पनि मित्रको भूमिका आदर्श रहेको हुन्छ। महाभारत शान्तिपर्व अनुसार मित्र चार प्रकारका हुन्छन्। (१) सहार्थ (२) भजमान (३) सहज (४) कृत्रिम
 
यहाँ अब उपयुक्त चार प्रकारका मित्रहरू बारे सामान्य चर्चा गरिन्छ।
 
सहार्थ 
जुन राजा वा राज्यको उद्देश्य समान हुन्छ, त्यसलाई सहार्थ मित्र भनिन्छ। डाँका, आतङ्क, प्राकृतिक विपत्ति, महामारी लगायतका समस्या भनेका सबै राज्यका समस्या हुन्। यस्ता समस्याको निवारण गर्न सम्पूर्ण राज्य एवं राजाको एकता वा मित्रता हुनु आवश्यक हुन्छ।
 
आधुनिक समयमा पनि विश्वमा एउटा संयुक्त राष्ट्र संघ नामक मित्रराष्ट्रहरूको समूह स्थापित छ। यसमा शरणार्थी समस्या, आतङ्कवाद, गरिबी, भ्रष्टाचार, लागु औषध जस्ता समस्याहरूलाई सम्पूर्ण राज्यको साझा समस्याको रूपमा लिइएको पाइन्छ। यसको आशय संयुक्त राष्ट्र संघमा आबद्ध सम्पूर्ण राष्ट्रहरू एक आपसका मित्र हुन्। जसले एक अर्कालाई पर्दा सहयोग गर्दछन्। राष्ट्रका सम्पूर्ण उद्देश्यहरू प्रायः एकै हुन्छन्। एउटाले अर्काको अस्तित्व स्वीकार्ने, असंलग्न नीति अवलम्बन गर्ने जस्ता नीति सर्व स्वीकार्य छन्।
 
भजमान
अर्को कुनै राज्यको त्रास एवं भयको कारणले कसैसँग सम्बन्ध स्थापित गरेर शरण पर्दै सुरक्षा चाहने मित्र भजमान हो। अर्को राजाले वा राज्यले अर्को राज्यमा गरेको अन्याय सहन पनि नसक्ने उस उपर आक्रमण गरी परास्त गर्न सक्ने सामथ्र्य पनि नराखी अन्य राजासँगको सम्बन्ध देखाएर आफु सुरक्षित रहन खोज्नु भजमानित प्रवृति हो। मित्रवत् सम्बन्ध राखेर अन्य राजाहरूलाई आफ्नो सम्बन्धको रवाफ देखाएर सुरक्षित रहन खोज्ने प्रवृति व्यापक छ। भजमान शब्दको अर्थ “पितृपितामहक्रमागत” पनि हुन सक्छ। बुवा, हजुरबुवा देखि नै मित्रवत् सम्बन्धमा रहिरहेका भन्ने पनि हुन्छ।
 
छैंठौ शताब्दीमा नेपालको राजनीतिमा भक्तपुरका राजाले अन्य राजाहरूसँग आफ्नोसम्बन्ध देखाउँदै राज गर्नका लागि नेपालकी राजकुमारी भृकुटीको तिब्बती राजा स्रोङचोङगम्पोसँग विवाह गरिदिएका थिए। आफ्नो सम्बन्ध अन्य शक्तिशालीसँग रहेको जनाउ दिएर राज गर्ने परिपाटी अझ पनि विद्यमान छ। विश्वमा भएका प्रजातान्त्रिक एवं गैर–प्रजातान्त्रिक दल तथा तिनै दलका सरकारका आधारमा अन्य राज्यहरूमा सरकार ढल्ने र बन्ने कुरा भएका सुनिन्छन्। तापनि राजकीय इतिहास भजमानी मित्र परम्परामा आबद्धता रहेको कुरा सर्वस्वीकार्य छ।
 
सहज
जसको स्वभाव नै अत्यन्त प्रिय छ। जसले सदैव भलो चाहन्छ। विनास्वार्थ, विना हिच्किचाहट सुद्दृढ मनले सदैव सम्पर्कमा रही सही मार्गनिर्देशन गर्ने सहज मित्र हो। राज्यको नीति अनुसार जसले परापूर्वकालदेखि नै जाइलाग्ने नीतिको अवलम्वन नगरी तटस्थ रहि केवल भलो चिताउने कर्म गर्दछ त्यो सहज नीति हो। यस्ता स्वभाविक हृदयका नीति अवलम्बनकर्ता सहज मित्र हुन्।
 
विश्व राजनीति परम्परामा पनि आक्रमण नगर्ने, कसैको कुभलो नसोच्ने, अनावश्यक राष्ट्रभूमिको अपेक्षा नगर्ने साधुचरित्रका राज्य पाइन्छन्। यिनीहरू आफ्नो राष्ट्रियतामा अत्यन्त चनाखो हुन्छन्। अरुलाई सहयोग गर्दा, सेवा गर्दा, सही सल्लाह दिदा गर्व गर्दछन्, यस्ता हितकारी मित्रहरू हुन्। स्वीजरल्याण्ड, सिङ्गापुर राज्यहरू सहज मित्रहरू हुन्। राजनीतिमा पनि यस्ता व्यक्तिहरू प्रशस्त पाइन्छन्। वर्तमान राजनीतिमा अरुलाई ७५% आक्षेप लगाई आफ्नो २५% गुणलाई आफ्नो राज्य विशेष नीति बनाउने नेतागण प्रशस्त छन्। तर कसैलाई दुःख नदिई, सबैको प्रिय बन्दै आफ्नो नीति सार्वजनिक गर्ने सहज राजनीतिज्ञ मित्र हुन्।
 
कृत्रिम
कुनै लोभ लालचमा मित्र बन्न आएकाहरू कृत्रिम मित्र हुन्। यिनीहरूको बढि विश्वास गर्नु खतरनाक हुन्छ। यिनिहरूलाई बुझ्न, जासुसी गर्न प्रयोग गर्नु अनिवार्य हुन्छ तर राज्यको कोष, सुरक्षा नीति जस्ता कुरामा यिनीहरूलाई सहयोगी नगराउनु उत्तम हुन्छ।
 
उल्लेखित चारप्रकारका मित्रहरूमध्ये भजमान र सहज यि दुई अत्यन्त श्रेष्ठ सम्झिन्छन् भने सहार्थ र कृत्रिम भने श्रेष्ठ बताइन्नन्। सहार्थ मित्र र कृत्रिम मित्रदेखि सदैभरी सशंकित रहनुपर्छ। पूर्ण रूपमा विश्वास गर्नु घातक हुन सक्छ। अझ वास्तवमा भन्नुपर्दा आफ्नो काममा मौका हेरी चारप्रकारका मित्रहरूबाटै सतर्क रहनुपर्छ। राजाले आफ्ना मित्रको रक्षामा कहिल्यै असावधानी देखाउनु हुँदैन। मित्रको सुरक्षार्थ तत्परता देखाउनु राजाको कर्तव्य हो। असावधानी राजालाई सवैले तिरस्कार गर्दछन्। खराब मानिस पनि सुध्रेर असल मित्र बन्न सक्छ, भने असल मित्र पनि बिग्रेर खराव शत्रु बन्न सक्छ।
 
मानिसको चित्त कहिल्यै एकनास हुदैन। आफ्ना (राजाका) प्रमुख कार्यलाई राजा स्वयंले आफ्ना आँखा अगाडि नै पुरा गराउने यथासम्भव प्रयत्न गर्नु पर्दछ। यसले काम गर्ने कर्मचारी, मन्त्री एवं मित्रहरूमा कर्तव्यबोध ज्यादा पर्न जान्छ। जसले गर्दा गरिएको कर्म सुन्दर, राम्रो हुन जान्छ। चाहे जस्तो सुकै मित्र होस् उसको अत्यन्त विश्वास गर्नु पनि धर्म र अर्थको नासको कारण हुन्छ भने सबैलाई अविश्वास गर्नु पनि मृत्युको कारण हुन सक्छ। 
 
नेपाली राजनीतिका शिखर व्यक्तित्व विश्वेश्वर प्रसाद कोइरालाले २०१७ सालको कुपश्चात् आफ्ना राजनैतिक सहयात्री जसले आफ्ना कुरा बाहिर पुर्‍याउँथे उनलाई इङ्गित गरेर भनेका थिए। “म शत्रुहरूबाट बाँच्ने सामथ्र्य छ तर मलाई मित्रहरूदेखि बचाउ।”यसको आशय जति शत्रु खतरनाक हुन्छन् त्यति नै खतरनाक मित्र हुन्छन्। प्रयोग एवं विश्वासमा ल्याउन नसक्नु नै मित्रको ठूलो दुरूपयोग हो।
 
राजा कहिल्यै पनि उन्नतिमा तृप्त हुँदैन, सदैव आफ्ना छिमेकी (मित्र) को निरन्तर उन्नतिको कामना गर्दछ। अवनति भएमा अत्यन्त दुःखी हुन्छ भने त्यो नै उत्तम मित्रको पहिचान हो। जसले आफ्नो राज्य र साथीको राज्यको पीडा र खुशीलाई बराबर ठान्दछ। जसले निरन्तर राज्यको हितका निम्ति मित्रलाई सही सल्लाह दिन्छ भने ऊ एकदम अनन्य मित्र हो। रमाईलो मेलामा, दुःखको बेलामा, अनिकाल पर्दा, शत्रुले धपाउँदा, राजसभा, श्मशानमा भेटिनेलाई आफ्नो मित्र मान्नुपर्दछ। आफ्नो दुःखमा पनि सहभागी बनाउन अपेक्षारत, सुख बाँड्न पनि तम्तयार हुने, तीर्थयात्रा एवं धर्मकर्मका अन्य कार्यक्रमसँगै सहभागी गराउन खोज्ने पनि असल मित्रहरू हुन्।
 
शत्रु मित्रको धेरै प्रकारले विवेचना गरेको पाइन्छ। विद्या, शौर्य, बल, दक्षता, धैर्य यी पाँच मित्र सहजात हुन्। घरद्वार धन, खेत, पत्नी र अन्य उपार्जित सुहृतवर्ग कृत्रिम मित्र हुन्। कृत्रिम (बनाइएका) मित्र टुट्छन् र समयानुसार यस्ता मित्र छाड्न पनि सकिन्छ। जहिले पनि खराब नसोच्ने, गाली गर्दा, अपमान गर्दा पनि अहित नगर्ने व्यक्ति नै असली मित्र हो। विनाकारणले कोही मित्र हुँदैन तथा कुनै शत्रु पनि हुँदैन। भाइ भाइमा पत्नी र पतिको मित्रता पनि त्यसकारण नै हुन्छ। यिनीहरू रिसाए पनि पुनः मित्रता हुन सक्दछ। परन्तु अरुको निम्ति यो सम्भव हुँदैन। मित्रता परीक्षाद्वारा मात्रै गर्नुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ