काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई उन्नत राख्न सबै मित्र राष्ट्रसंग राम्रो सम्बन्ध राख्नु पर्ने बताएकी छन् ।
काठमाडौंको भृकुटी मण्डपमा पार्टीको भ्रातृ संगठन महिला संघको तेस्रो महाधिवेशन उद्घाटन सुमारोहमा कोइरालाले भनिन्, ‘हामीले अरु मुलुकसित राम्रो सम्बन्ध राख्नै नपाइने ? एउटै राष्ट्रसंग मात्र सम्बन्ध राख्नु पर्ने हाम्रो के बाध्यता छ ? ।’ दलहरुबीतमा एकता हुन नसक्दा हामी कमजोर र दरिद्र भयौं, पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालाले थपिन्, ‘विदेशीहरुले हाम्रो कमजोरीलाई हेरे ।’
कोइरालाले वीपीको विचारबारे बोल्दै वीपीले कुनै पनि निर्णय गर्दा एक मुठी माटो हातमा लिनु हुन्थ्यो र आफ्नो निर्णय गर्नु हुन्थ्यो–भनिन् । हामीले वीपीले भन्नु भयो भन्छौं तर, व्यवहारमा लागु गर्दैनौं ।
पार्टीभित्रको आन्तरिक किचलोबारे कोइरालाले भनिन्, ‘गाउँ गाउँमा गुटबन्दी भएको छ । यसले पार्टी समाप्त हुन्छ । कांग्रेसको इतिहास समाप्त पार्ने यहाँ धेरै ठूलो खेल भइरहेको छ ।’ मंगलबार मात्रै नेता रामचन्द्र पौडेलको भाषण सुनेकी केन्द्रीय सदस्य कोइरालाले पार्टी नेतृत्वप्रति इंकित गर्दै गुटबन्दी वीपी, गणेशमान, किसुनजीको सपना पूरा नहुने तर्क गरिन् ।