arrow

उदयपुरमा ४ नगरपालिका सहित १० स्थानीय तह रहने

चिलाउनेको वडा न. ४ त्रियुगा नगरपालिकामा गाभियो

logo
विवेक खिम्दुङ्ग,
प्रकाशित २०७३ भदौ २९ बुधबार
udayapur.jpeg
काठमाडौ । उदयपुरमा स्थानीय तहको संख्या र सीमा टुंगो लागेको छ । सुरुमा प्रस्तावित ७ वटा स्थानीय तहप्रति राजनीतिक दलहरुको विमतिका कारण उदयपुरको प्राविधिक समितिले स्थानीय तहको संख्या र सीमा केन्द्रमा सिफारिस गर्न सकेको थिएन ।  
 
प्राविधिक समिति र राजनीतिक दलबीच भएको सहमतिपछि अब उदयपुरमा ४ नगरपालिका र ६ गाउँपालिका रहनेछ । सहमति भएसँगै स्थानीय तहको प्रस्तावित खाका अब केन्द्रमा पठाउँने तयारी भएको समितिका संयोजक पिताम्बर अधिकारीले जानकारी दिए । उनले भने “राजनीतिक दलहरुसँग फाइनल सहमति भइसकेको छ । अब सकेसम्म बुधबार नै नभए बिहीबारसम्ममा प्रस्तावित खाका केन्द्रमा पठाइसक्छौं” । 
 
स्थानीय तह पुनसंरचनासम्वन्धी आयोगले उदयपुरलाई ७ वटा स्थानीय तह बनाउन सुझाव  दिएको थियो । यद्यपि त्यसमा राजनीतिक दलहरुका कारण सहमति हुन सकेको थिएन । ७ वटा स्थानीय तहले पहाडी गाविसहरुलाई समेट्न गाह्रो भएकोले आफुहरुले दशवटा स्थानीय तह हुनुपर्ने अडान राखेको एमाले उदयपुरका अध्यक्ष ईश्वरमणी राउतले जानकारी दिए ।  
 
प्राविधिक समितिमा भएको सहमति अनुसार अब उदयपुरमा बेलाका नगरपालिका, बेल्टार नगरपालिका, त्रियुगा नगरपालिका र कटारी नगरपालिका गरी चारवटा नगरपालिका रहनेछ ।
 
जिल्लाको पूर्वी चारवटा गाविस ठोक्सिला, मैनामैनी, कटुन्जे बवला र तप्पेश्वरीलाई समेटेर बेलाका नगरपालिकाको प्रस्ताव गरिएको छ । यस नगरपालिकाको केन्द्र भने रामपुर रहनेछ । यस्तै बेल्टारलाई केन्द्र बनाएर बसाहा, बेल्टर, चौडण्डी, सिद्धीपुर, हडिया र सुन्दरपुरलाई समेटेर बेल्टार नगरपालिकाको प्रस्ताव गरिएको छ । 
 
जिल्लाको पहिलो नगरपालिका त्रियुगा नगरपालिकामा जोगिदह गाविस र चिलाउने गाविसको वडा न. ४ लाई समावेश गरिएको छ । यस नगरपालिकाको केन्द्र भने हालकै जिल्ला सदरमुकाम गाईघाट रहनेछ ।  
 
जिल्लाको पश्चिममा रहेको कटारी नगरपालिकामा पनि दुई गाविस रिस्कु र सिरिसेलाई समावेश गरिएको छ । नगरपालिकाको केन्द्र कटारी रहनेछ । 
यस्तै आँपटार, खाँबु, रौता, चिलाउने जाल्पा र साउने गाविस मिलाएर एउटा गाँउपालिका बनाउन प्रस्ताव गर्ने सहमति भएको छ । रौतामाई नाम दिइएको सो गाउँपालिकाको केन्द्र चिसापानी नामन्ता रहनेछ । 
 
भुट्टारलाई केन्द्र बनाउँदै लाफाँगाउँ, जाँते, नामेटार, भुट्टार र पोखरी गरी पाँच गाविसलाई समेटेर रसुवा गाँउपालिका बनाउने प्रस्ताव गरिएको छ । यस्तै बाँस्बोट, ताम्लिछा, वाराहा र बलम्तालाई मिसाएर सुनकोशी गाउँपालिकाको प्रस्ताव गरिएको छ । यस गाउँपालिकाको केन्द्र वाराहा हुनेछ । 
 
रुपाटारलाई केन्द्र बनाउँदै थानागाउँ, रुपाटार, ओखले, इनामे र लेखगाउँ गाविसलाई समेटेर ताप्ली गाउँपालिकाको प्रस्ताव गरिएको छ । यस्तै बर्रे, तावाश्री, डुम्रे, पञ्चवती र भलायडाँडा गरी पाँच गाविसलाई समेट्दै उदयपुरगढी गाउँपालिकाको प्रस्ताव गरिएको छ । यस गाउँपालिकाको केन्द्र पनि उदयपुरगढी नै रहनेछ । 
 
यसैगरी, लेखानी, म्याङ्खु, सोरुङ, हर्देनी र लिम्पाटार गरी पाँच गाविसलाई समावेश गरेर महाभारत गाउँपालिकाको प्रस्ताव गरिएको छ । यस गाउँपालिकाको केन्द्र हर्देनी रहनेछ । २०६८ सालको जनगणना अनुसार ३ लाख बढी जनसंख्या रहेको उदयपुरमा तीन निर्वाचन क्षेत्र र तीन नगरपालिका सहित ४१ वटा गाविस रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ