arrow

मुलुक परिवर्तनको सुत्रधार कांग्रेस मात्रै हो, कांग्रेसले समीक्षा गर्नै पर्दछ : रामचन्द्र पौडेल

महिलालाई ३३ प्रतिशत आरक्षणको प्रस्तावे सदनमा सवैभन्दा पहिले मैले लिएको थिएँ

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
ramchandra-paudel-news-mahila-sang.jpeg
काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले यो मुलुकमा परिवर्तनको सुत्रधार कांग्रेस मात्रै भएको बताएका छन् । पार्टीको भ्रातृ संगठन नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेता पौडेलले कांग्रेसले नै परिवर्तनको नेतृत्व गरेको छ–भने । 
 
पौडेलले भने, ‘संक्रमणकालको नेतृत्व महिला संजालले गर्नु पर्दछ । महिलालाई ३३ प्रतिशतको कुरा सबै भन्दा पहिले संसदमा मैले उठाएको थिएँ । त्यसबेला माओवादी संसदमा आएको थिएन ।’यस्तै, नेता पौडेलले महिलाले भ्रष्टाचारको संकल्प गरेर सुशासन कायम गर्न अग्रसर हुनु पर्नेमा समेत जोड दिए । 
 
राज्यमा महिलाको उपस्थितिबारे कुरा गर्दै नेता पौडेलले भने, ‘पार्टी देखि सरकार सम्म महिलाले पाएको अधिकार सुरक्षित गर्नुपर्छ । क्याविनेटमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व भइसकेको छैन ।’ त्यो अधिकारका लागि पनि महिला स्वयं जाग्नु पर्दछ । 
 
देशभरका महिला सहभागि र पार्टी नेता कार्यकर्ताको ध्यानाकर्षण गराउँदै पौडेलले अब कांग्रेसले समीक्षा गरेर अघि बढ्नु पर्ने बताए । 
 
नेता पौडेलले भने, ‘फेरि पनि नसच्चिने हो भने भगवानले पनि कांग्रेसको उद्धार गर्न सक्दैन ।’ नेपालको राजनीति अपमानित बन्दै गएकोबारे बारम्बार चिन्ता जनाउँदै आएका नेता पौडेलले नेपालमा राजनीति अपमानित भएको बताए । पौडेलले थपे, ‘नेपालको राजनीतिको घट्दो मानलाई सम्मानित बनाउन सम्मानपूर्ण हैसियत दिन सक्नु पर्छ । त्यसको अगुवाई पनि कांग्रेसले गर्न जरुरी छ ।’ 
 
यस्तै, वर्तमान राज्य पुनःसंरचनाको बहसबारे बोल्दै नेता पौडेलले स्थानीय निकायमा गाउँ–गाउँमा गाउँपालिका र नगर नगरमा नगरपालिका हुनुपर्दछ–भने । यसैसन्दर्भमा नेता पौडेलले कडाईका साथ जिल्लालाई वाइपास गर्ने जुन सोच बनाएको छ त्यसले मुलुकलाई अफ्ठ्यारोमा पार्ने बताए । 
 
नेता पौडेलले मधेस केन्द्रीत दलहरुका मागबारे समेत बोले । उनले भने, ‘मधेस केन्द्रीत दलहरुसंग वार्ता गरेर जनताको हितलाई ध्यानमा राख्नु पर्दछ । यसको अगुवाई पनि कांग्रेसले गर्नुपर्छ ।’ संघीय संरचनाका तीन निर्वाचन मुखैमा रहेकोतर्फ संकेत गर्दै नेता पौडेलले ठूलो पार्टी रहेको कांग्रेस फेरि पनि ठूलो पार्टी बन्नु पर्दछ भन्नेतर्फ सबैको ध्यान खिचे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ