काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले भोलिदेखि हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले पछिल्लो एकवर्षदेखि बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार गर्ने विश्वास व्यक्त गरेको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विभागले आफ्ना सुझावहरु अघि सारेको हो । विभागकी प्रमुख हिसिला यमीले प्रधानमन्त्रीको भारत भ्रमणले आधुनिक युगको बदलिएको परिवेश र आवश्यकत्ता अनुरुप द्धिपक्षीय सम्बन्ध अघि बढाउने विश्वास व्यक्त गरिन् ।
यद्धपी उनले प्रधानमन्त्रीले अलिक बढि नै हौसिएर आफ्नो भ्रमणवारे टिप्पणी गरिन् । उनले थपिन्,‘उहाँले जोखिम मिल्छ भन्नुभयो, मेरो केमेष्ट्रिी मिल्छ भन्नुभयो, यो अलिक नै बढि हौसिएको जस्तो भयो ।’ उनले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख प्रगतिशिल पुँजीवादलाई आत्मासात गर्दै अन्र्तराष्ट्रिय सम्बन्ध विस्तार गर्नुपर्ने आजको आवश्यकत्ता रहेको स्पष्ट पारिन् । उनले भनिन्,‘हाम्रो आर्थिक लक्ष्यअनुसार नै हामीले त्यसलाई सघाउ हुनेगरि अन्र्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउनुपर्छ ।’
अन्य पार्टीहरुले अहिलेपनि शीतयुद्धकालिन र राजनीतिक रुपमा अन्र्तराष्ट्रिय सम्बन्ध प्रयोग गरिरहेको उल्लेख गर्दै उनले थपिन्,‘आजको युग भनेको आर्थिक युग हो, अब पनि हामीले शीत युद्धकालिन रुपमा अन्र्तराष्ट्रिय सम्बन्ध अघि बढाउनु हुँदैन, भूमण्डलीकरणको युगमा अन्तरनिहीत सम्बन्ध हुन्छ ।’ अन्धराष्ट्रवादको खोक्रो नारा दिएर अब काम नहुने उनको तर्क थियो । तर प्रगतिशील देशभक्तको अवधारणा लिनुपर्ने उनको भनाई छ ।
उनले नेपालले अब अनुदान लिनेभन्दापनि सफ्ट लोन लिनुपर्ने आफ्नो पार्टीका धारणा राखिन् । यमीले थपिन्,‘आजको युग भनेको आर्थिक विकासका निम्ति भीख माँग्ने युग होईन, तीव्र विकासकालागि हामीले अब कसैसँग अनुदान सहयोग होईन, ऋण सहयोग, पुँजी लगानी र व्यापार सम्बन्धमा जोड दिनुपर्छ ।’
उनले भारत र चीन दुवै आर्थिक महाशक्ति राष्ट्र बन्दै गरेको उल्लेख गर्दै भनिन्,‘चीन र भारतको वीचमा एन्युल्ली सय अर्ब डलरको व्यापार हुन्छ, उनीहरुको वीचमा नेपाल ट्रान्जिट भएर व्यापार भएमा हामीले पनि ठूलो लाभ लिनसक्छौं, त्यसैले त्रिपक्षीय सम्बन्धा लागि सार्थक पहल गरिनुपर्छ ।’
कार्यक्रममा पूर्वराजदुत प्रद्युम्न शाहले कुटनीतिक सम्बन्ध र पूर्व एआईजी नारायणप्रसाद पाण्डेले सुरक्षा दृष्टिकोणबारे आ–आफ्नो धारणा राखेका थिए । शाह र पाण्डे विभागका सल्लाहकार हुन् ।