काठमाडौं। असोज ३देखि ५सम्मका लागि पोखरामा हुने भनिएको नेपाल तरुण दलको महाधिवेशन अब छठ पछि पुग्ने भएको छ। पोखरामा हने भनिएको महाधिवेशन अघी विभिन्न जिल्लाको अधिवेशन अझै हुन बाँकी रहेको तथा विभिन्न जिल्लामा विवाद भएको अवस्थामा महाधिवेशन गर्न नसकिने निष्कर्षमा तरुण दल निर्देशक समिति पुगेको छ। निर्देशक समितिले महाधिवेशनको लागि दशै तिहारको बीचमा प्रस्ताव गरेको थियो।
कार्तिक १० गते तरुण दलको स्थापना दिवसको अवसर पारेर महाधिवेशन गर्ने प्रस्ताव भएपनि त्यस बेलामा महाधिवेशन लम्विए तिहारको मुख्य दिनमा महाधिवेशनस्थलमै रहनुपर्ने अवस्था आउनसक्ने भन्दै मिति तिहारपछि सारिएको हो। लक्ष्मी पुजाको अघिल्लो दिन सकिने गरि महाधिवेशन गर्ने प्रस्ताव गरेपनि एक दिन लम्विने अवस्थामा चाडबाडमा कोहि पनि प्रतिनिधी महाधिवेशनमा नरहने सम्भावना देखाउँदै महाधिवेशन तिहार र छठ पछाडी सार्ने तयारी भएको हो। तिहारपछि लगत्तै तराई मधेशको ठूलो चाड छठ आउने भएकोले छठ पछि महाधिवेशन लैजाने तयारी भएको हो। तर यस बारेमा निर्देशन समितिका सदस्यहरुले थप सल्लाह गरेर बिहिवार टुङगोमा पुग्ने भनेपछि बुधवार रातीसम्म भएको वैठकले भने निर्णय गर्न नसकेको बताइएको छ। तर अब तरुण दलको पोखरामा पूर्व निर्धारित मितिमा महाधिवेशन नहुने पक्का भएको निर्देशन समितिका एक सदस्य उमाकान्त चौधरीले बताए।
चौधरीले बिहिवार एक वजे वैठक बस्ने र सो वैठकले नयाँ मिति तय गर्ने बताए। अहिले ५५ जिल्लाको चुनाव भएको र २० जिल्ला बाँकी रहे्को अवस्थामा पोखरामा असोज ३देखि नै महाधिवेशन गर्न सम्भव नभएको निष्कर्षमा निर्देशक समितिका नेताहरु पुगेका थिए। निर्देशक समितिले यस बारेमा शिर्ष नेताहरुलाई जानकारी गराएपछि नयाँ मिति तय गर्ने तयारी भएको हो।
सभापति शेर बहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलासँग भएको परामर्शपछि नयाँ मिति सार्ने तयारी भएको हो। केन्द्रीय समितिले ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेर निर्देशन दिएको थियो। असोजमा ३ देखि ५ सम्म नगर्दा ६ महिना गुज्रने भएकोले अब तरुण दलको नयाँ मिति तोक्न केन्द्रीय समितिको वैठक नै बस्नुपर्ने चौधरीको भनाई छ। केन्द्रीय समितिले अनुमोदन गरेर नयाँ मितिमा महाधिवेशन गर्न खोलेपछि मात्र नयाँ मितिको अनुमोदन हुनेछ। केन्द्रीय समितिलाई निर्देशक समितिले दिएको मिति अनुसार अनुमोदन हुने उनले बताए। निर्देशन समितिका संयोजक तथा रक्षा मन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा गठित समितिको वैठक रक्षा मन्त्रालयमा भएको थियो।