काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनतामा भ्रम छर्न सरकारले वार्ताको नाटक गरेकाले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र परिस्थितिबारे भारतका नेताहरुसँग छलफल गर्न आफ्ना चार शीर्ष नेता भारत जान लागेको जनाएको छ ।
मोर्चाले शनिवार विज्ञप्ति जारी गर्दै ‘जनतामा भ्रम छर्न सरकारले वार्ताको नाटक गरे पनि शान्तिपूर्ण आन्दोलनमा दमन गरी सरकारले नै वार्ता भाँड्न खोजिरहेको दाबी गरेको छ । विज्ञप्तिमा वार्ता प्रक्रिया चलिरहेका बेला सर्लाहीको नवलपुरमा मंसिर १७ गते प्रहरीले दमन गरेको र घटनामा एकजनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको उल्लेख गर्दै नवलपुरको विरोध सभामा राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा भएको तोडफोड तथा आगजनीको घटनाप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।
मोर्चाले मानवअधिकारको रक्षा र सम्मानप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको जनाउँदै एम्बुलेन्स सेवा, रेडक्रस, विदेशी कूटनीतिज्ञ, प्रेस, दमकल, शव बाहन, औषधि र मानवअधिकार लगायतका सवारी साधनहरु निर्वाध रुपमा चल्न दिई र आवश्यक परेको खण्डमा सहयोग समेत गरिदिन आव्हान गरेको छ ।