arrow

आवेश नियन्त्रण गर्न नसक्दा पाँचथरमा हत्याका घटना वढ्दै

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७३ भदौ ३० बिहिबार
murder.jpg.jpeg
पाँचथर। पाँचथरमा पछिल्लो समय सामान्य विवाद नै हत्याको कारक बन्दै गएको पाइएको छ। चालु आर्थिक वर्ष २०७३/७४ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको एउटा र गत आर्थिक वर्ष २०७२/७३ दर्ता भएका ४ वटा कर्तव्य ज्यानका घटना मध्ये एउटा बाहेक सबै सामान्य विवादको क्रममा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ।
 
पाँचथरमा चालु आर्थिक वर्षमा फिदिम नगरपालिका–२, ओदिनमा १८ वर्षिय मनोज लिम्बूले सोही ठाउँका ४९ वर्षिया देउराज लिम्बूको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। त्यस्तै चालु आर्थिक वर्षमा पाँचथरको रवि २ मा २४ वर्षिय अनिल राईले १८ सुखबीर राईको, चिलिङदेन ६ मा ४३ वर्षिय विरदल नेम्बाङले ५५ वर्षिय सुकमाया नेम्बाङको र पञ्चमी २ मा ४० वर्षिय बम बिक्रम सेवाले आफ्नै श्रीमती ४१ वर्षिया हेम कुमारी लोवाको हत्या गरेका थिए।
 
यी सबै घटना सामान्य विवादकै क्रममा भएको प्रहरी अनुसन्धानले जनाएको छ। गत आर्थिक वर्षको चैतमा यासोक ५ मा एक ९ महिने शिशुको मात्र योजना बनाएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ। त्यहाँ बस्ने वर्ष ४४ का मुख बहादुर लावती र वर्ष ३० का राज कुमारी लावतीले अबैध सम्बन्धबाट शिशु जन्मिए पछि जंगलमा लगि पुरेर हत्या गरेका थिए।
 
उक्त प्रकरण बाहेक अन्य घटनाको प्रकृति हेर्दा हत्याको कारण कुनै ठूलो रिसइबी नदेखिएको र घटना योजनाबद्ध रुपमा पनि नभएको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विजय श्रेष्ठले बताए। उनका अनुसार क्षणिकको आवेशलाई नियन्त्रण गर्न नसक्दा अधिकांश हत्याका घटना घट्ने गरेको छ। मादक पदार्थ सेवन, घरायसी कलह, रातको समयमा मेला–जात्रामा हुने विवाद, लेनदेन जस्ता विषय हत्याका कारक देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।
 
हाल अपराध न्यूनिकरण गर्न पाँचथर प्रहरीले ग्रामीण गस्ती, लामो दुरीको गस्ती र क्रस युनिट गस्तीलाई निरन्तरता दिएको जनाएको छ। त्यस्तै प्रहरीको त्रिवर्षीय रणनीतिक कार्ययोजना अनुरुप मासिक तथा वार्षिक कार्ययोजना बनाई कार्यान्वय गर्ने गरेको छ। त्यस्तै जिल्लामा रातको समयमा कुनै पनि मेला, जात्रा र पर्व आयोजना गर्न बन्द गरिएको छ।
 
घरदैलो अभियान, विभिन्न जनचेतनामुलक कार्यक्रम र प्रहरी मेरो साथी कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ भने फिदिम बजार क्षेत्रमा ३२ वटा सिसि क्यामेरा जडान गरिएको छ। उल्लेखित हत्या प्रकरणका सबै दोषिलाई पक्राउ गरी अदालतको आदेश अनुसार जेल चलान समेत गरिसकिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ