काठमाडौं। लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तिको कागजात हराएको भन्नु सरकारको गैरजिम्मेवारीपन भएको विवेकशिल नेपाली दलले जनाएको छ। विवेकशिल नेपाली दलका तर्फबाट संचार विभाग प्रमुख रन्जु दर्शनाले विज्ञप्ती निकाली दलको धारणा सार्वजनिक गरेकी हुन्। दलले निकालेको विज्ञप्ती जस्ताको तस्तैः
लोकमान सिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिटको छानविनको क्रममा सम्मानित सर्वोच्च अदालतले नेपाल सरकारसंग लोकमान सिंह कार्की नियुक्तिको सक्कली फाइल भदौ १२ गते मगाएकोमा त्यसमा कुनै कार्वाही नगरी पुन: भदौ २० गते सर्वोच्च अदालतको ताकेता आउना साथ नेपाल सरकारको तर्फबाट मन्त्रीपरिषदका सचिव महेन्द्र मान गुरुङ्गले भदौ २१ मा पत्राचार गरी भूकम्पका कारण उक्त फाइल हराएको तथा सोही दिन सामान्य प्रशासन मन्त्रालयका उप-सचिव भागवत प्रसाद खनालले पुरानो अभिलेख फेला पर्ने गरी व्यवस्थित रुपमा राखेको नपाइएको हुँदा भेटाउन नसकिएको भनी सम्मानित सर्वोच्च अदालतलाई पठाएको गैर जिम्मेवारपूर्ण अभिव्यक्तिप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदका जस्तो जिम्मेवार निकायले सम्मानित सर्वोच्च अदालतलाई यस्तो अनुत्तरदायी जवाफ दिनुले वर्तमान सरकार देश र जनताप्रति अनुत्तरदायी छ भन्ने प्रष्ट हुन्छ।
राज्यको नियन्त्रण र सन्तुलनको लागि व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकाको व्यवस्था गरिएको तथा तीनै निकायको एक-अर्काप्रतिको सम्मानले नै राज्य मजबुत हुने भएकोले सम्मानित सर्वोच्च अदालतको काममा अविलम्ब सहयोग गर्न नेपाल सरकारलाई आग्रह गर्दछ। साथै, राज्यको महत्वपूर्ण कागजातहरुको अभिलेखीकरणमा समस्या देखिएको भन्ने विषयमा विवेकशील नेपाली दल सो कार्यमा नेपाल सरकारलाई आवश्यक सहयोग प्रदान गर्न सदैव तयार रहेको जानकारी यसै विज्ञप्ति मार्फत् गराउन चाहन्छ ।
रन्जु दर्शना
संचार विभाग प्रमुख