arrow

सरकारले उपचार नगरेपछि डा गोविन्द केसी हानिए रोल्पा

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
govinda-kc.jpeg
रोल्पा । कसैलाई थाहै नदिएर डा गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गरेका छन् । झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा केसीले बुधबार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर बिरामीको उपचार थालेका हुन् । 
 
प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा मिलन बज्राचार्यका अनुसार डा केसी बिहान १०ः३० बजे सुलिचौर पुगेका थिए ।
 
 स्वास्थ्य केन्द्र पुग्नुभन्दा दुई घन्टाअघि मात्र डा केसीले इन्चार्जलाई जानकारी दिएका थिए । मङ्गलबार बिहान काठमाडौँबाट हिँडेका उनी बेलुका सदरमुकाम लिवाङ आएका थिए ।
 
 सहयोगीबिना एक्लै आएका उनी बुधबार बिहानै सार्वजनिक बसबाट सुलिचौर हिँडेका थिए । 
 
यसपटक सदरमुकामबाट करिव २१ किलोमिटर पूर्वको सुलिचौरमा उनले उपचार थालेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार डा केसीले बुधबार पहिलो दिनमै ६० भन्दा बढी बिरामीको उपचार गरेका छन् ।
 
 साँझ ५ बजेसम्म ओपिडीमा उनले बिरामी जाँचेका थिए । आफैले बोकेर ल्याएको औषधि बिरामीलाई वितरण गरिएको डा बज्राचार्य बताउँछन् । 
 
सरकारलाई असोज २ गतेसम्मको अल्टिमेटम दिएका डा केसी सुलिचौर आएको थाहा पाएपछि बजार क्षेत्रका बिरामी उपचारमा गएका थिए । 
 
हाडजोर्नीका विशेषज्ञ केसी सुटुक्क आएकाले धेरै बिरामी आएका छैनन् । “रोल्पाली विपन्न बिरामीको उपचारमा सघाउने मनसायले आएको हुँ”, डा। केसीले पत्रकारसँग कुरा गर्दै सरकारले आफ्ना माग पुरा गर्न गम्भीरता नदेखाएकाले संविधान जारी भएकै दिन असोज ३ गतेको अनसनका लागि यहाँबाट आफू बिहीबार बेलुका नै काठमाडौँ फर्कने बताए । 
 
डा केसीले भने, “दुई दिन भएपनि सेवा दिन आएको हुँ ।” विपत्ति परेको बेला मात्र होइन अरुबेला पनि दुर्गम गाउँमा पुगेर बिरामीको उपचार गर्न हौसिने डा केसी दोस्रोपटक आएका हुन् ।
 
 दुई वर्षअघि उनी जिल्ला अस्पताल, रेउघा आएर स्वास्थ्यकर्मीलाई हाडजोर्नीसम्बन्धी आधारभूत ज्ञानको अभिमुखीकरण गरेका थिए । 
 
त्यति बेलापनि बिरामीको उपचार गरेका थिए । शिविर बुधबार र बिहीबार बेलुकीसम्म चल्ने बताइएको छ । 
 
चिकित्सा शिक्षा नीति अलपत्र पारेको र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै सरकारलाई नवौँ सत्याग्रहको अल्टिमेटम दिएका डा केसीले आफ्नो माग पूरा नभए रोल्पाबाट फर्केलगत्तै पुनः अनसन सुरु गर्ने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ