arrow

पाँच दिनदेखि बेपत्ता विद्यार्थी अझै भेटिएनन्

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
students.jpeg
पाँचथर । फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा बसेर पढिरहेका दुईजना विद्यार्थी पाँचदिनदेखि बेपत्ता भएका छन् । 
 
कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई शनिबार राति १२ बजेदेखि बेपत्ता भएका हुन् । 
 
फिदिमका विभिन्न व्यक्तिको मोबाइल चोरेको भन्दै प्रहरीले पृथ्वीलाई विद्यालयबाटै शनिबार दिउँसो नियन्त्रणमा लिएको घटनापछि उनीहरु बेपत्ता भएका हुन् । 
 
अनुसन्धानबाट पृथ्वीले मोबाइल चोरेको पाइएपछि चोरेको मोबाइल प्रहरीमार्फत सम्बन्धितलाई फिर्तासमेत गराइएको थियो । त्यसपछि पृथ्वीलाई रातको १० बजे प्रहरीले विद्यालयलाई जिम्मा दिएको बुझिएको छ । 
 
विद्यालयमा ल्याएपछि आइन्दा त्यसो नगर्न भन्दै सम्झाउने हिसाबले पृथ्वीलाई सामान्य गाली गरेर सुत्न पठाएको प्रिन्सिपल सीता सेलिङले बताइन् । 
 
सुत्न गएका पृथ्वी मिल्ने साथी वसन्तलाई लिएर शनिबार राति १२ बजे होस्टल छोडेर बेपत्ता भएको उहाँले सुनाउनुभयो । दुई बालक बेपत्ता भएपछि अभिभावक र विद्यालय प्रशासनमा तनाव उत्पन्न भएको छ । 
 
अभिभावक, विद्यालय प्रशासन र प्रहरीबाट व्यापक खोजी भइरहे पनि हालसम्म बेपत्ता दुई विद्यार्थी भेटाउन नसकिएको विद्यालयले जनाएको छ ।
 
 च्याङथापु–३ घर भएका पृथ्वी नर्सरीदेखि नै मेची बोर्डिङमा पढ्दै आएका विद्यार्थी हुन् । 
 
पृथ्वीका बुबा जगदीश राईले मोबाइल चोरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गर्दासमेत आफूलाई विद्यालयले जानकारी नगराएको गुुनासो गरे । 
 
आफ्नो एउटा मात्र छोरा बेपत्ता हुनुमा विद्यालयको लापरबाही भएको पनि उनले दुखेसो गरे । पृथ्वीसँगै बेपत्ता भएका वसन्तको घर भने फिदिम–३ लालीखर्क हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ