arrow

महाकाली नदी नेपालतर्फ फर्काइएपछि सरकारले भारतलाई पत्र पठाउँदै, तत्काललाई काम रोकियो

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७९ मंसिर २० मंगलबार
darchula-mahakali-india-nepal-river-dispute.jpg

काठमाडौं । नेपालतर्फ सिंगै महाकाली नदी आउने गरेर भारतीय पक्षले दार्चुलाको भारतीय सीमा धार्चुलातर्फ बनाइरहेको तटबन्धनको विषयमा सरकारले भारतलाई कुटनीतिक पत्र पठाउने भएको छ ।

सोमबार गृह मन्त्रालयले यस विषयमा भारतसँग छलफलका लागि पहल गर्न कुटनीतिक पत्र पठाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको थियो ।

यस विषयमा गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हाम्राकुरासँग बोल्दै परराष्ट्र मन्त्रालयलाई कुटनीतिक सहजीकरण गरिदिन आग्रह गरेको बताएका छन् ।

उनले भनेका छन्, 'यस विषयमा कुटनीतिक पहल गरेर कानूनी टोलीलाई स्थलगत निरीक्षण गराएर त्यसको समाधान खोज्नुपर्छ, त्यसको लागि (परराष्ट्र मन्त्रालयलाई) कुटनीतिक पहल गर्दिनु भनेका छौं ।' 

यस्तै उनले 'उता (भारत) बाटको जवाफ आएपछि सरकारले स्थलगत निरीक्षणका लागि तयारी गर्ने' बताए ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आज नै भारतलाई कुटनीतिक पत्र पठाइने बताएकी छिन् । उनले भनेकी छन्,'हामीले तयारी गरिरहेका छौं, ढुक्क हुनुहोस् आज (भारतलाई कुटनीति पत्र) जान्छ ।'

भारतको तटबन्धन निर्माण

भारतले यसअघि नै महाकाली नदीले नेपालतर्फ कटान गर्ने किसिमले तटबन्ध निर्माण शुरु गरेको थियो । महाकाली नदी नेपालतर्फ रहेको ठाउँमा भारतले आफ्नोतर्फ बलियो पक्की तटबन्ध निर्माण गरिरहेको छ । भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्ध भन्दा सात देखी १० मिटर नेपालतर्फ आएरबीच नदीमा ग्याविन जालीसमेत लगाएको छ ।

तर यस पटक भारतले भारततर्फ नदी रहेको ठाउँमा नदीलाई नेपालतर्फ लगाएर नयाँ तटबन्ध निमार्ण गर्न थालेपछि विवाद फेरि चर्किएको हो । भारतले नेपालतर्फ नदी लगाएर नयाँ तटबन्धन बनाउन थालेपछि आइतबार नेपालबाट नागरिकहरुले विरोध गरेका थिए । त्यसक्रममा भारतीय पक्षले ढुंगा प्रहार गर्दा चार नेपाली घाइतेसमेत भएका थिए ।

नदी नेपालतर्फ रहेको ठाउँमा आफ्नोतर्फ बलियो तटबन्धन बनाएर भारतीय पक्ष आफ्नोतर्फ नदी भएको ठाउँमा पनि नदी नेपाल तर्फ फर्काएर तटबन्धन बनाउन थालेपछि विवाद चर्किएको हो । यसो हुँदा सोझै महाकाली नदीले दार्चुला सदरमुकाम खलंगामा कटान गर्छ ।

सीडीओको सक्रियता

आइतबार विवाद भएसँगै दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीर्घराज उपाध्यायले तत्काललै भारततर्फ गएर त्यहाँ रहेका भारतीय अधिकारी सब-डिभिजन मजिस्ट्रेट (एसडीएम) सँग कुरा गरेको बताएका छन् । दार्चुलाका सीडीओ उपाध्यायले विवाद भएका कारण तत्काललै सो काम रोक्न आग्रह गरेको र काम रोकिएको बताए ।

हाम्रा कुरासँग बोल्दै उनले भने, 'हामीले साइटमै गएर तपाईहरुले विवाद भएको ठाउँमा नगर्नुहोस्, विवाद नभएको ठाउँमा काम गर्नुहोस् भनेर भनेका थियौं ।'

दार्चुलाको सीमा क्षेत्रको बजार धार्चुला भारतको पिथौरागढ जिल्लामा पर्छ । सोमबार पिथौरागढका अतिरिक्त जिल्ला मजिस्ट्रेट (एडीएम) सँग आफुहरुले छलफल गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

'हिजो (साेमबार) पिथौरागढबाट एडीएम र यहाँबाट एसडीएम आउनुभएको थियो, दुवै आएर हिजो पनि छलफल भएको हो। हामीले अहिले जुन ठाउँमा विवाद छ, त्यो ठाउँमा विवाद अगाडि नबढाउने भनेका छौं,' प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने ।

विवाद भएको ठाउँमा पछि थप छलफल गरेर अथवा कसरी समाधान निकाल्न सकिन्छ त्यसपछि मात्रै काम गर्ने भनेर आग्रह गरेको उनले बताएका छन् ।

अहिले त्यहाँ पछिल्लो पटक विवाद भएको ठाउँको काम आइतबारदेखि नै रोकिएको र तल्लो ठाउँमा भने काम जारी रहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । 

नेपालतर्फ नदीको भएको ठाउँमा पनि बीचमा खाली रहेको उच्चो बगर जस्तो भागलाई खाली गरेर मात्रै काम गर्नका लागि आग्रह गरिएको उनले बताएका छन् । सो बगरलाई पन्छाउने वा हटाउने काम भए खासै गतीलो नभएको उनको भनाइ छ ।

भारत-नेपाल सीमा विवादका मुद्दा निरीह 

सरकारले यो मात्रै हैन भारसँग सीमा क्षेत्रका कयौं विवादका मुद्दाहरु पन्छाउँदै आएको छ । दार्चुलाकै मात्रै पछिल्ला विषयकाे कुरा गर्ने हो भने पनि महाकाली नदीमा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिएपछि डेढ वर्ष पहिले व्याँसका जयसिंह धामी नदीमा बेपत्ता भएका थिए । यो विषय निश्कर्षमा नपुगेरै सेलाएको छ ।

नेपालकै भूमि प्रयोग गरेर भारतले जबरजस्ती अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकसम्म सडक विस्तार गरेको ठूलो मुद्दा मौन नै छ । केही हप्ताअघि मात्रै सडक निर्माणका क्रममा विस्फोट गरेर उछिट्टिएको ढुंगा लागेर नेपालतर्फ बाटोमा हिडिरहेका नौँ वर्षीय पवन महराको ज्यान गएको थियो ।

यसअघि र अहिले पनि नेपालको दार्चुला जिल्लाको सदरमुकाम नै जोखिममा पर्ने गरी एकतर्फी ढंगले भारतले तटबन्धन बनाइरहेको विषय पनि यसरी सुस्तसुस्त भएरै जाने देखिएको छ ।

२०७० सालमा महाकालीमा आएको बाढीले दार्चुला सदरमुकामको भौगोलिक स्वरुप नै फेरेको थियो । अहिले भारतको तटबन्धले सदरमुकामलाई जोखिममा पार्नु भनेको भविष्यमा दार्चुला सदरमुकामको अस्तित्वमाथिको नै खतरा भएको स्थानीय दाबी गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ