काठमाडौँ। नेपाल महिला सङ्घको जारी तेस्रो महाधिवेशनको बन्द सत्र सुरु भएको छ। बिहान ११ बजेदेखि भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र लेखा परीक्षण प्रतिवेदनमा छलफल गरी पारित गरिने भएको छ।
निर्वाचन समितिले आज १ बजेदेखि उम्मेदवारी दर्ता सुरु गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता, ३:३० बजेसम्म मनोनयनपत्रमाथि दाबी विरोध, ३:३० बजेदेखि ४ बजेसम्म जाँचबुझ, ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम बनाइएको समिति सदस्य केशव निरौलाले जानकारी दिए।
अपरान्ह ४ बजेदेखि बेलुकी ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ८:१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उनले बताए। दुईवर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि मीना पाण्डे र उमा रेग्मीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे छ।
रेग्मी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूह र पाण्डे वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट प्रतिस्पर्धा गर्ने चर्चा छ। दुई हजार एक ६५ प्रतिनिधिले भाग लिएका महाधिवेशनमा विभिन्न देशबाट दशजनाले प्रतिनिधित्व गरेका छन्।
‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनमा शुक्रबार बिहान ९:३० बजेदेखि २ बजेसम्म मतदानको कार्यक्रम राखिएको छ। महाधिवेशनमा प्रान्तीय संरचना अनुसार ५१ सदस्यका लागि निर्वाचन हुनेछ।
विसं.२००४ साउन २४ गते स्थापना भएको महिला सङ्घको २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो।
स्व मङ्गलादेवी सिंह सङ्घको संस्थापक अध्यक्ष थिन् भने त्यसपछि कान्तासिंह श्रेष्ठ, मीना पाण्डे, उमा रेग्मी, अम्बिका बस्नेत पनि अध्यक्षता ग्रहण गरिसकेका छन्। हाल सो पदमा डा. डीला सङ्ग्रौला छिन्। रासस