arrow

प्रधानमन्त्री दाहाल दिल्लीमा : विदेशमन्त्री स्वराजले गरिन् स्वागत

कुटनीतिक मर्यादा: वीपीको पालामा अमेरिकाले प्रोटोकल नै फेर्नु पर्‍यो

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
daha-new-delli.jpeg
काठमाडौं । चार दिने राजकीय भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालको विमानस्थलमै भव्य स्वागत भएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिन् । 
 
०६२/६३ को आन्दोलन अघि नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा राज्यमन्त्रीले स्वागत गर्ने गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा तत्कालिन भारतीय समकक्षी मनमोहन सिंहले स्वागत गरेको थिए ।
 
त्यसपछि पनि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा जाँदा राज्यमन्त्रीले स्वागत गर्दा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत जाँदा चिफ अफ प्रोटोकलले स्वागत गरेका थिए ।
 
यद्यपि, अन्य मुलुकका कतिपय शीर्ष नेताले भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री आफैं पनि विमानस्थल पुग्ने गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत भ्रमणमा आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमै स्वागत गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल अघि भारत भ्रमणमा गएका केपी शर्मा ओलीलाई भने विदेशमन्त्रीले नै स्वागत गरी राजकीय सम्मान दिइएको थियो । 
 
विमानस्थलबाट प्रधानमन्त्री दाहाल सोझै भारतीय राष्ट्रपतिको भवन गएका छन् । धानमन्त्रीको स्वागतार्थ विमानस्थलमा दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, भारतको विदेश मन्त्रालयका उच्च अधिकारी तथा नेपाली दूतावासका अधिकृत उपस्थित थिए । 
 
प्रधानमन्त्री दाहालले अपरान्ह नेपाली समुदायसँग नेपाली राजदूतावासमा छलफल गर्ने कार्यक्रम छ । विहिबार साँझ प्रधानमन्त्री दाहाल आफ्नो सम्मानमा आयोजना हुने स्वागत समारोहमा सरिक हुने छन् । प्रतिनिधिमण्डलका अन्य सदस्य पनि दुवै समारोहमा सहभागी हुने कार्यक्रम छ ।
 
दाहाललाई बस्ने प्रबन्ध राष्ट्रपति भवनमै गरिएको छ । भ्रमण अवधिभर दाहाल राजकीय पाहुनाको हैसियतमा राष्ट्रपति भवनमा बस्ने छन् । प्रधानमन्त्री दाहालले शुक्रबारमात्रै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने  कार्यक्रम छ । 
 
द्विपक्षीय सम्बन्ध सुधारलगायत विगतमा नेपाल-भारतबीच भएका सम्झौताको पूर्ण पालनाका विषयमा छलफल गरी प्रधानमन्त्री दाहाल असोज २ गते स्वदेश फर्कने कार्यक्रम छ । ३ गते नेपालमा संविधान जारी भएको पहिलो वर्षगाँठ भव्य रुपमा मनाउने तयारी छ । 
 
त्यो शक्तिशाली कुटनीतिक मर्यादा 
तत्कालिन राजा महेन्द्रले (२०१६/२०१७ का दौरान) अमेरिका भ्रमण गर्दा एक अनौठो किस्सा भयो । जुन समय अमेरिकामा राष्ट्रपति आइजनहावर थिए । उनकै निमन्त्रणामा अमेरिका जाने तयारीमा रहेका राजा महेन्द्र भ्रमण स्वागतको संकटमा परे । 
 
तत्कालिन समयमा राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो– ‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ जतिवेला वीपी कोइराला जननिर्वाचित प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए । वीपी नेपालका २२औं तर जननिर्वाचित पहिलो र शक्तिशाली प्रधानमन्त्री थिए । उनको त्यो परिवर्तकारी कार्यकाल २०१६ जेठ १३ बाट २०१७ पौष १ सम्म रहयो । 
 
ती दुवै नेता अहिले हामी माझ छैनन् । प्रधानमन्त्रीको अनुमति लिई तत्कालिन सभामुख भट्टराईले अमेरिकी दूतावासका कार्यवाहक राजदूत फिक्सलाई हप्काउँदै भनेका थिए– ‘हाम्रो राजालाई स्वागत नगर्ने ? हामीलाई सानो देश भनेर हेपेको हो ?’ राजदूतले स्पष्टीकरण दिंदै भनेका थिए– ‘हाम्रो राष्ट्रपति मुटु रोगी हुनुहुन्छ । कुटनीतिक मर्यादाका कारण विमानस्थलदेखि विमानसम्म चिसोबाट बच्न डाक्टरले दिएको टोपी लगाएर जान मिलेन। त्यस्तो चिसोमा टोपी नलाई जानु झन् घातक हुन्छ । फेरि उमेरका दृष्टिले पनि उहाँ निकै बुढो हुनुहुन्छ । डाक्टरले जतिबेला पनि स्ट्रोक हुनसक्ने भनेका छन् । त्यसैले नजाने भनेको हो ।’ अन्तर्राष्ट्रिय मञ्चमा त्यसबेला नेपालको कुटनीतिक मर्यादा र क्षमता यति शक्तिशाली थियो कि त्यस्ताे गम्भीर विरामी रहेका अमेरिकी राष्ट्रपति आइजनहावर हेलिकोप्टरमा विमानस्थल गएर राजा महेन्द्रको भव्य स्वागत गर्न पुगे । 
 
घटनाको सोही संवेदनशिलतालाई हेरेर अमेरिकी सरकारले तत्काल प्रोटोकल समेत फेरेको थियो । ता की अब उप्रान्त विदेशी पाहुनाको स्वागतमा राष्ट्रपति विमानस्थल नजाने बरु पाहुनालाई हेलिकोप्टरमा ह्वाईट हाउस ल्याएर गार्ड अफ अनर दिने प्रचलन शुरु गरिदियो । नेपाली पाहुनाका कारण ६ दशकअघि फेरिएको त्यो चलन बाराक ओबामा पदमै रहँदापनि कायम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ