arrow

बीस वर्षमा पनि नगरवासी सडक र विद्युत विहिन

logo
राजन परियार,
प्रकाशित २०७३ भदौ ३० बिहिबार
sindhuli-rajan-pariyar.jpeg
सिन्धुली। वि.स.२०५३ सालमा स्थापना भएको कमलामाई नगरपालिकाले आफ्नो स्थापनाको १९ वर्ष पुरा गरिसकेको छ । २०६८ सालको जनगणना अनुसार नगरपालिकाको कूल जनसंख्या ३२८३८ रहेको छ भने नगरपालिकाको कूल क्षेत्रफल २०५१२ हेक्टर मध्ये १११९६ हेक्टर वनजंगल, ५४३२ हेक्टर खेतियोग्य भूमि, २५६१ हेक्टर नदी नाला र १३२३ हेक्टर वस्ती तथा बजार क्षेत्रले ओगटेको छ । 
 
बाहिरबाट हेर्दा सवैलाई लाग्छ स्थापनाको १९ वर्ष पार गरिसकेको कमलामाई नगरपालिकाले विकासमा धेरै फड्को मारिसकेको छ । तर विडम्बना कमलामाई नगरपालिका वडा नं.८ का स्थानीयहरु भने राज्यको न्यूनतम सुविधा विद्युत,  खानेपानी र सडक सुविधाबाट नै वञ्चित छन । वडा नं.८ का स्थानीयहरु उज्यालोका लागि टुकी बाल्न र आफ्नो कार्यालयमा आउन घण्टौ हिड्नु पर्ने बाध्यतामा छन् । १९ वर्ष पुराना नगरवासीहरु सडक, विद्युत र व्यवस्थित खानेपानी विहिन जिन्दगी विताईरहेका छन् । 
 
वडा नं.८ का स्थानीयहरुलाई यतिबेला निक्कै पुरानो नगरबासी भएकोमा कुनै खुसी छैन । किनकी उनीहरुले नगरवासीको रुपमा राज्यबाट सेवा सुविधा लिन पाएकै छैनन् । उनीहरुमा खुसीभन्दा पनि कर धेरै तिर्नुपर्ने चिन्ता मात्र छ । कमलामाई नगरपालिका वडा नं.८ का राम थापा भन्छन, ‘हामीलाई कसैले हेरेन, हामी नगरवासी भएर पनि बक्ति मुनीको अधेरो जस्तै भएका छौं ।’ थापाले भने, ‘नगरपालिकाले हाम्रो वडाको विकासका लागी केहि पनि गरेन ।’ नगरपालिका कार्यालय र राजनैतिक दलहरुले वडाको विकासका लागी खासै पहल नगरेका कारण आफुहरुको वडा विकासमा पछि परेको उनको भनाई छ । 
 
त्यस्तै वडा नं.८ कै इन्द्र बहादुर स्याङतान भन्छन, ‘नगरबासी त हौं तर नगरपालिकावासीले पाउनु पर्ने सुविधा अझ सम्म पनि हामीले पाउन सकेका छैनौं ।’ आधारभुत पुर्वाधार विना नगरपालिका घोषणा गर्नु र नगरपालिका घोषणा भएको २१ वर्ष पुग्न लाग्दा पनि आधारभुत सुविधा उपलब्ध गराउन नसक्नु राज्यको गम्भीर कमजोरी भएको स्याङ्गताले बताए । राजनैतिक पार्टीका स्थानीय नेताहरु र जनता एकजुट नहुँदा पनि वडाको विकास प्रभावित भएको उनको भनाई थियो । 
 
अर्का स्थानीय गंगा थापाको आक्रोश पनि उस्तै थियो । उनले भने, ‘विजुली छैन, सडक छैन, व्यवस्थित खानेपानी छैन तरपनि नगरवासी चाँही हौं ।’ नगरपालिकामा घर छ भन्न पनि लाज मर्दो अवस्था भएको उनले बताए । आउँदा दिनमा सडक, विजुली, सिचाई र कृषिमा लगानी गरेर वडाको विकास गरीदिए स्थानीयहरुको जीवनमा परिवर्तन आउने उनको भनाई थियो ।  
 
जनजातीहरुको बाहुल्यता रहेको उक्त वडा नगरपालिका नै भएपनि विकासमा निक्कै पछाडि परेको छ । झण्डै ९६९ जनसंख्या रहेको वडामा अझ सम्म माध्यमिक विद्यालय समेत छैन । नगरपालिका स्थापनाको २० वर्ष पुरा भएपनि नगरपालिकासँग नगरविकासको बारेमा गुरु योजना नै नहुनु र पहुँचको आधारमा योजना वाडफाड हुँदा नगरपालिका क्षेत्रको समुचित विकासमा समस्या भएको छ । 
 
भौगोलीक हिसाबले विकट वडाहरु विकासमा सधै पछि पर्ने गरेका छन । यस्लाई नगरपालिका कार्यालय र राजनैतिक दलहरुले अन्त्य गरेर विकट वडाहरुको विकास र त्यहाँका स्थानीयहरुको श्रोत र साधनको पहुँचमा बृद्धि गराउँदै नगरवासी भएको अनुभुति दिलाउन प्रयास गर्नुपर्ने आवश्यक्ता देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ