arrow

प्रचण्डको भ्रमणले सुशील र केपीका पालमा भएका सम्झौता कार्यान्वयनको ढोका खुल्नेछ : विजय जोली

‘चीनको नेपालमा बढ्दो आर्थिक सहयोगबाट भारत सशंकित छैन’

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
bijaya-jolly-news.jpeg
काठमाडौं । भारतीय जनता पार्टीका नेता एवं नेपाल मामिलाका जानकार विजय जोलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले यसअघि भएका द्विपक्षीय सम्झौताहरु कार्यान्वयनको ढोका खोल्ने विश्वास गरेका छन् ।  
 
जोलीले भने,‘यसअघि तत्कालिन प्रधानमन्त्रीद्वय दिवंगत सुशील कोइराला र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जीले भारतसँग गरेका सम्झौताहरु प्रचण्डजीको भारत भ्रमणसँगै कार्यान्वयनको ढोका खुल्नेमा हामी विश्वस्त छौं ।’
 
विहिबार पत्रकारहरुसँगको कुराकानीमा नेता जोलीले प्रधानमनत्री दाहालको  आजबाट सुरु भएको भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई विश्वासमा लैजाने, विगतमा देखिएका सवैखाले तिक्तताहरु हट्ने जिकिर गरे । उनले थपे,‘नेपाल र भारतका जनताबीच सदियौंदेखि आत्मीय सम्बन्ध छ, यो सम्बन्धलाई कसैले पनि विगार्न सक्दैन ।’
 
नेता जोलीले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले हस्तक्षेप गरेको भनेर नेपालमा हल्ला चलेकोप्रति टिप्पणी गर्दै भने,‘नेपालमा देखिएको यस्तो पोलिटिकल प्रयाक्टिस नै गलत छ, यसमा हामीलाई दुःख लागेको छ, भारत नेपालमा सँधै शान्ति, स्थायित्व र समृद्धिको पक्षमा छ ।’
 
उनले नेपालमा राजनीतिक अस्थिरता हावी भएकाले आर्थिक समृद्धि हुन नसकेको उल्लेख गर्दै थपे, ‘नेपालमा छोटो समयमै सरकार परिवर्तन हुने गरेको छ, यसले मुलुकमा अस्थिरता निम्त्याएको छ ।’
 
नेपालको आन्तरिक राजनीतिमा चीनको प्रवेश भएको हल्लाले भारत संशकित बनेको छ अरे नि त ? भन्ने पत्रकारको जिज्ञासमा जोलीले प्रस्ट्याए, ‘नेपाल एक स्वतन्त्र र सार्वभौम सम्पन्न मुलुक हो, उसले मुलुकको हितको लागि के गर्नुपर्छ भन्ने कुरा स्वयम नेपाललाई थाहा छ, कसैले केही भन्दैमा त्यसलाई पत्याई हाल्नुपर्छ भन्ने छैन ।’ उनले नेपालमा चीनको बढ्दो आर्थिक सहयोगबाट भारत प्रभावित तथा पीडित नभएको स्पष्ट पारे ।   
 
उनले पिपुल टु पिपुल फ्रेण्डसिपलाई बढावा दिनको लागि नै आफू नेपाल भ्रमणमा आएको उल्लेख गर्दै आगामी दिनमा उक्त अवधारणालाई अझै परिस्कृत बनाउँदै लैजाने विश्वास व्यक्त गरे । 
 
जोली बुधबार काठमाडौं आएका हुन् । समाजसेवी एवं व्यापारी अजय सुमार्गीको जीवनमा आधारित पुस्तकको विमोचनमा भाग लिन जोली काठमाडौं आएका हुन् । जोली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ