काठमाडौं । दलहरुबीचको पटक–पटक छलफल कसरतपछि खोटाङमा स्थानीय तहको संख्या र सीमा टुंगो लागेको छ । राजनीतिक दलहरुबीच सहमति जुटेपछि स्थानीय तहको संख्याको अन्तिम टुंगो लागेको हो । यद्धपि, खोटाङमा १३ र १० वटा गरी दुईवटा स्थानीय तहको खाका प्रस्ताव गरिएको छ ।
सबै राजनीतिक दलहरुको सहमतिमा नै स्थानीय तह संरचना प्राविधिक समितिले केन्द्रमा दुईवटा स्थानीय तहको खाका पठाएको स्थानीय विकास अधिकारी एवं समितिका संयोजक निश्चलराज पाण्डेले जानकारी दिए ।
स्थानीय तह पुनःसंरचना आयोगले खोटाङ जिल्लालाई नौं वटा स्थानीय तह गठनका लागि सिलिङ दिएको थियो । यद्धपि, आयोगले पठाएको स्थानीय तहको संख्या जिल्लाको भूगोल सुहाउँदो नरहेको सबै राजनीतिक दलहरुले जिकिर गरेपछि नयाँ स्थानीय तहको खाका तयार भएको हो ।
सुरुमा १३ वटा स्थानीय तहमा सबै राजनीतिक दलहरुको सर्वसम्मति रहेको र बीचमा पुनः १० वटा स्थानीय तहको कुरा आएपछि त्यसमा पनि सबै राजनीतिक दलहरुले सहमति जनाएका कारण दुईवटा खाका निर्माण हुन गएको एमाले खोटाङका अध्यक्ष बबी चाम्लिङले जानकारी दिए ।
तेह्र वटै स्थानीय तहमा सबैले सहमति जनाएपनि पछि दलहरुबीच थोरै आपसी कुरा नमिल्दा दश वटाको खाका पनि पठाउनु परेको चाम्लिङले बताए । यद्धपि, उनले दुईवटै खाकाप्रति सबै दलहरुको सर्वसम्मति रहेको बताए ।
सुरुको प्रस्तावित १३ वटा स्थानीय तहको खाकामा दुई नगरपालिकासहित ११ गाउँपालिका रहेको छ । यस्तै प्रस्तावित १० वटा स्थानीय तहको दोस्रो खाकामा दुई नगरपलिका सहित ८ गाउँपालिका रहेको छ । दुवै खाकामा दिक्तेल नगरपालिका सहित प्रस्तावित नयाँ नगरपालिका हलेसी नुवाचुङ रहेका छन् ।
प्रस्तावित सबै नगरपालिका र गाउँपालिकाहरुको नाम र केन्द्र समेत तोकेर आयोगमा पेश गरिएको छ । २०६८ सालको जनगणना अनुसार खोटाङ जिल्लाको जनसंख्या २ लाख ६ हजार ३ सय १२ मात्र रहेको छ ।