arrow

साउदीका पीडित नेपाली माझमा पुगे श्रेष्ठ

logo
महेश श्रेष्ठ,
प्रकाशित २०७३ भदौ ३० बिहिबार
narayankajis.jpeg
साउदी अरब । पूर्व उप प्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साउदी अरबको अनौपचारिक तीन दिने भ्रमणको क्रममा पीडित प्रवासी नेपालीहरुसँग भेटेका छन् । श्रेष्ठले प्रवासी पीडितको समस्याका सम्बन्धमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रम तथा रोजगार मन्त्री र सचिव समक्ष गम्भिरतापूर्वक छलफल गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
 
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ नेपाली जनप्रगतिशील मंच, साउदी अरबको चौथो एकताको महाधिवेशनको निम्तोमा साउदी अरब आएका थिए । गत ११ सेप्टेम्बरका दिन साउदी अरबको रियादमा आएका नेता श्रेष्ठले साउदी बसाईको क्रममा प्रवासी पीडित नेपाली कामदारहरुसंग छुट्टा छुट्टै भेटघाट गर्नुका साथै विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुसंग अन्तरक्रिया समेत गरे ।
 
प्रवासी पीडित कामदारहरुले उनीसंगको भेटमा सम्झौता अनुसारको कम्पनी तलब सुविधा नपाएको, महिनौदेखि तलब नपाएका कारण खानबस्नमा समेत समस्या भएको, सम्झौता अवधि पुगिसक्दा पनि घर फर्कन नपाएको, मालिक र प्रहरीको मिलोमतोमा दुःख दिएको र लेबरकोर्टको फैसला ढिलाई हुँदा खाली हात नेपाल फर्कन बाध्य बनाइएको पीडा सुनाए । उनीहरुले नेपाली राजदुतावासले आफूहरुको समस्यामा वेवास्ता गरेको गुनासो पनि गरे । 
 
भेटघाटकै क्रममा श्रेष्ठले रियादस्थित दुतावासको सेल्टरमा रहेका पीडित महिलाहरुसंग पनि भेटघाट गरेका छन्  । घरेलु र कम्पनीका कामदारका रुपमा आएका ती महिलाहरुले आफूहरुको उद्धार गरेर यथाशिघ्र नेपाल पठाउने व्यवस्था गरिदिन अनुरोध गरेका छन्  । सेल्टरमा कुवैतबाट बेचिएर साउदी ल्याइएका, साउदी मै ल्याईएर दुःख पाएका र कम्पनीको काम भनेर अन्यत्र काम लगाई दुःख दिएका र सो क्रममा भागेर  दुतावास आएकाहरु छन् ।
 
 हाल सेल्टरमा १६ जना महिलाहरु छन् । उनी सबै एकै चोटी सुत्न पनि नसक्ने साँघुरो कोठामा बस्दै आएका छन् । सेल्टरमा रहेका कतिपय महिलाहरु विमारी र बच्चा सहितका छन । साउदी सरकारले एक्जिट भिसा लगाउनका लागि कानुनी प्रक्रियामा ढिलाई गरेका कारण डेढ वर्षदेखि सेल्टरमै बसेका महिलाहरु पनि रहेका छन् ।
 
साउदी बसाईमा श्रेष्ठले वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहेका प्रवासी नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा दुतावासमा आयोजित अन्तरक्रिया कार्यक्रममा महिलाहरुलाई घरेलु कामदारका रुपमा महिलाहरुलाई पठाउन उपयुक्त नलागेको धारणा राख्दै ठूलाठूला पर्खालभित्र बन्द गरेर राखिएका महिलाहरुको पीडा र अपमान असह्य भएको बताए । उनले कम्पनीका कामदारका रुपमा महिलाहरुलाई पठाउन सकिएपनि घरेलु कामदारमा पठाउन नहुने बताए ।
 
अन्तरक्रियामा माओवादी केन्द्रका सरकार संचालन समितिका ईन्चार्ज समेत रहेका श्रेष्ठले नेपालमा पुगेर यथाशिघ्र साउदी अरबमा रहेका नेपालीहरुले भोग्नु परेको समस्या र पीडाका सम्बन्धमा गम्भिरतापूर्वक प्रधानमन्त्री समक्ष कुरा राख्ने बताए । उनले समस्याको निकासका सम्बन्धमा परराष्ट्र मन्त्रालयका मन्त्री र सचिव त्यसैगरी श्रम तथा रोजगार मन्त्रालयका मन्त्री र सचिवसंग समेत छलफल गर्ने प्रतिबद्धता गरे । रियाद स्थित नेपाली दुतावासको अतिथि गृहमा बसेका श्रेष्ठ विभिन्न संस्थाहरुको कार्यक्रममा समेत सहभागि भएर सेप्टेम्बर १४ मा नेपाल फर्केका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ