arrow

महिला सङ्घमा ५६ पदमा १३३ को उम्मेदवारी

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
image.jpeg
काठमाडौँ  नेपाली काँग्रेसका भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा ५६ पदका लागि १३३ को उम्मेदवारी दर्ता भएको छ । 
 
निर्वाचन समितिले आज एक बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ता गरेकोमा अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा दुई एवम् खुला, प्रदेश, दलित, जनजाति, मधेसी र मुस्लिम केन्द्रीय सदस्यमा १२६ गरी १३३ को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । 
 
सङ्घको विधानअनुसार अध्यक्ष एक, महासचिव एक, कोषाध्यक्ष एक, खुला केन्द्रीय सदस्य २२, सात प्रदेशबाट २१, दलित तीन, जनजाति तीन, मधेसी तीन र मुस्लिम एक पदमा निर्वाचन हुँदैछ । 
 
आज चार बजेदेखि बेलुकी आठ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ८ बजेर १५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको समिति संयोजक यदुनाथ खनालले राससलाई जानकारी दिए । 
 
दुईवर्षे कार्यकालका लागि हुने निर्वाचनमा मीना पाण्डे र उमा रेग्मीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरे । महासचिवमा किरणकुमारी सरकार, गोमा केसी र धन खतिवडाको उम्मेदवारी परेको छ । त्यस्तै कोषाध्यक्षमा जानकीदेवी सिंह र कुसुमदेवी थापा प्रतिस्पर्धा गर्दै छन् । 
 
महाधिवेशनमा दुई हजार १६५ प्रतिनिधिले भाग लिएका छन् । दश जना महाधिवेशन प्रतिनिधिले विभिन्न देशबाट प्रतिनिधित्व गरी भाग लिएका छन् । 
 
‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनमा शुक्रबार बिहान ९ः३० बजेदेखि २ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ । 
 
महाधिवेशनमा प्रान्तीय संरचनाअनुसार ५६ सदस्यका लागि निर्वाचन हुनेछ । विद्युतीय मतदान यन्त्रबाट मतदान हुने भएकाले शुक्रबार बेलुकी नै मत परिणाम सार्वजनिक हुने समितिले जनाएको छ । 
 
विसं २००४ साउन २४ गते स्थापना भएको सङ्घको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो । 
 
स्व मङ्गलादेवी सिंह सङ्घको संस्थापक अध्यक्ष हुन् भने त्यसपछि कान्तासिंह श्रेष्ठ, मीना पाण्डे, उमा रेग्मी, अम्बिका बस्नेत अध्यक्ष भइससकेका छन् । हाल डीला सङ्ग्रौला सङ्घकी  अध्यक्ष छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ