काठमाडौँ। नेपाली काँग्रेसका भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा ५६ पदका लागि १३३ को उम्मेदवारी दर्ता भएको छ। निर्वाचन समितिले बिहिवार एक बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ता गरेकोमा अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा दुई एवम् खुला, प्रदेश, दलित, जनजाति, मधेसी र मुस्लिम केन्द्रीय सदस्यमा १२६ गरी १३३ को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
सङ्घको विधानअनुसार अध्यक्ष एक, महासचिव एक, कोषाध्यक्ष एक, खुला केन्द्रीय सदस्य २२, सात प्रदेशबाट २१, दलित तीन, जनजाति तीन, मधेसी तीन र मुस्लिम एक पदमा निर्वाचन हुँदैछ। बिहिवार चार बजेदेखि बेलुकी आठ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ८ बजेर १५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको समिति संयोजक यदुनाथ खनालले जानकारी दिए।
दुईवर्षे कार्यकालका लागि हुने निर्वाचनमा मीना पाण्डे र उमा रेग्मीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरे। महासचिवमा किरणकुमारी सरदार, गोमा केसी र धन खतिवडाको उम्मेदवारी परेको छ। उम्मेद्वारी फिर्ता लिने समयमा महासचिवकी उम्मेद्वार किरण सरदारले उम्मेद्वारी फिर्ता लिइ
धना खतिवडालाई समर्थन गर्ने जनाएकी छिन्। त्यस्तै कोषाध्यक्षमा जानकीदेवी सिंह र कुसुमदेवी थापा प्रतिस्पर्धा गर्दै छन् ।
महाधिवेशनमा दुई हजार १६५ प्रतिनिधिले भाग लिएका छन्। दश जना महाधिवेशन प्रतिनिधिले विभिन्न देशबाट प्रतिनिधित्व गरी भाग लिएका छन्। महाधिवेशनमा शुक्रबार बिहान ९:३० बजेदेखि २ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। महाधिवेशनमा प्रान्तीय संरचनाअनुसार ५६ सदस्यका लागि निर्वाचन हुनेछ। विद्युतीय मतदान यन्त्रबाट मतदान हुने भएकाले शुक्रबार बेलुकी नै मत परिणाम सार्वजनिक हुने समितिले जनाएको छ।
यसैबीच महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महिला संघमा उम्मेदवारी दिनेहरुको नामावली सार्वजनिक गरेको छ। पुतलीसडकको एक होटलमा विभिन्न जिल्लाबाट आएका नेताहरुलाई आफ्नो प्रभाव भएको क्षेत्रका महाधिवेशन प्रतिनिधीहरुलाई आफ्नो प्यानलको नामावली बारेमा जानकारी गराउन निर्देशन दिएको छ। पौडेल पक्षले मैदानमा उतारेका उम्मेद्वारहरु माथि तस्विरमा उल्लेखित रहेका छन्।